सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३

एनआरएनएको राहत अभियान १२ औँ दिनमा, बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन

सोमबार, भाद्र २२ २०८३

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान अन्तर्गतका गतिविधिहरु आज १२ औँ दिनमा पनि निरन्तर जारी रह्यो ।
रेडक्रसमार्फत राहतका लागि एनआरएनएको ५ लाख सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा एनआरएनए र नेपाल रेडक्रस सोसाइटीबीच बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। छलफलमा प्रभावित क्षेत्रको वास्तविक आवश्यकता मूल्याङ्कन गरी ‘ग्याप’ भएका क्षेत्रमा मात्रै सहयोग केन्द्रित गर्ने तथा नुवाकोटको तुप्चे र रसुवाको टिमुरेलगायतका क्षेत्रमा स्थानीय तह, रेडक्रस तथा स्थानीय साझेदारसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको छ। स्थानीय स्तरमा राहत तथा मानवीय सहयोगका लागि एनआरएनएबाट रु. ५ लाखसम्म सहयोग उपलब्ध गराउने तथा दुई संस्थाबीच समन्वयका लागि एनआरएनएको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट Disaster Management Director श्री सागर श्रेष्ठलाई फोकल पर्सन तोकेर सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ। फोकल पर्सनमार्फत स्थानीय आवश्यकता पहिचान, स्रोत परिचालन तथा राहत र स्वास्थ्यसम्बन्धी गतिविधिमा नियमित समन्वय गरी प्रभावित समुदायमा सहयोग पुर्‍याउने विषयमा दुवै पक्षबीच छलफल भएको छ।
सरकारलाई २० लाख हस्तान्तरण
भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आह्वानमा संकलित रकममध्ये एनसीसी रुसियाले रु. २० लाख सहयोग गरेको छ। उक्त रकम संघको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। भोटेकोशी बाढीपीडितका लागि संघले सरकारलाई हालसम्म रु. १ करोड २० लाख सहयोग हस्तान्तरण गरिसकेको छ। साथै, संघको नेतृत्वमा प्रभावित क्षेत्रमा करिब रु १ करोड बराबरको राहत सामग्रीसमेत वितरण गरिएको छ।
बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रांगणमा दीप प्रज्वलन गरिएको छ।दीप प्रज्वलनमार्फत बाढीमा परी दिवंगत भएकाहरूको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको हो। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको अवस्था यथाशीघ्र पत्ता लागोस् भन्ने कामना गरिएको छ । महिला उपाध्यक्ष राधिका गुरुङ (टीका)को संयोजनमा सम्पन्न कार्यक्रममा अध्यक्ष डा. हेमराज शर्मा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक डा. बद्री केसी, पूर्वअध्यक्ष विनोद कुँवरलगायत संघका पदाधिकारीले विपद्बाट प्रभावित परिवारको पीडामा संघ सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनएको तर्फबाट सक्दो सहयोग र आवश्यक पहल निरन्तर गरिने बताउनुभयो । उहाँहरूले राहत, स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोगमार्फत प्रभावित परिवारलाई तत्काल र दीर्घकालीन रूपमा सहयोग पुर्‍याउन संघले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार