काठमाडौँ(जस)–नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार ५ प्रतिशत बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबरको रकम छुट्याइएको छ ।
त्यस्तै, १०.८०५ प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरिएको छ । उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ । त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले रु । २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश आर्थिक वर्ष २०८२र८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको र करसमेत समावेश रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा रहेको छ । आर्थिक वर्ष २०८२–०८३ मा बैंकले हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।