कर्जा–लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने
काठमाडौँ(जस)–कुमारी बैंक लिमिटेड वित्तीय क्षेत्रको कार्बन उत्सर्जनसम्बन्धी विश्वव्यापी पहल पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) मा आबद्ध भएको छ । पिसीएफको सदस्य बनेसँगै बैंकले आफ्ना कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने जनाएको छ । त्यसका लागि पिसीएफले विकास गरेका विश्वव्यापी रूपमा मान्य मापदण्ड तथा विधि प्रयोग गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यस पहलले कर्जा तथा लगानीसँग सम्बन्धित जलवायु प्रभाव पहिचान गर्न, जलवायु जोखिम व्यवस्थापन गर्न तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।
पिसीएफमा आबद्ध भएपछि बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता विकास गर्ने र त्यसबाट प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी योजनामा उपयोग गर्ने जनाएको छ । कुमारी बैंकका स्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पिसीएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको बताए । ‘एऋब्ँ मा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा हो । हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझेर जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न यसले सहयोग गर्छ,’ उनले भने ।
पिसीएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो । यसले वित्तीय संस्थालाई कर्जा तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जन मापन र सार्वजनिक गर्न साझा मापदण्ड उपलब्ध गराउँछ । पिसीएफमा आबद्ध वित्तीय संस्थाले वित्तीय क्षेत्रका लागि तयार गरिएको ग्लोबल जिएचजी अकाउन्टिङ एन्ड रिपोर्टिङ स्ट्यान्डर्ड प्रयोग गरी कर्जा तथा लगानीबाट सम्बन्धित उत्सर्जनको मापन तथा खुलासा गर्ने गर्छन् ।
कुमारी बैंकले पिसीएफको सदस्यतासँगै दिगो वित्तका अवसर विस्तार गर्ने, बैंकको सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ । बैंकले नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पु¥याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने पनि जनाएको छ । कुमारी बैंकका अनुसार बैंकका देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९६ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ र १ हजार २ सय ३३ पीओएस टर्मिनल छन् । बैंकले डिजिटल तथा मोबाइल बैंकिङसहित विभिन्न बैंकिङ सेवा दिँदै आएको छ । एऋब्ँ को पहलमा आबद्ध वित्तीय संस्थाको संख्या ७ सयभन्दा बढी पुगेको बैंकले जनाएको छ ।