शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

आशाका किरण : दुई दिनमा ४ चमत्कार

बिहीबार दाहसंस्कार, शनिबार जिवितै फेला परिन् श्रेष्ठ

शनिबार, भाद्र २० २०८३

काठमाडौँ । प्रकृति जब कठोर बन्छ, मानिस निकै निरिह देखिन्छ। तर, कहिलेकाहीँ त्यही प्रकृति र समयले यस्ता चमत्कार देखाउँछन्, जसले विज्ञान र सम्भावनाका सबै तर्कहरूलाई फिका बनाइदिन्छ।
भदौ १० गते को विनाशकारी बाढीले रसुवा, नुवाकोटसहितका जिल्लाका हजारौँको खुसी खोसेको थियो। तर, घटनाको ११औँ दिनमा आइपुग्दा एउटा यस्तो सुखद् समाचार सार्वजनिक भएको छ, जसले मृत्युसँग हारिसकेको परिवारमा उत्सव ल्याइदिएको छ।
यो कथा हो ६४ वर्षीया चण्डिका श्रेष्ठको, जसलाई परिवारले मृत ठानेर परम्पराअनुसार अन्तिम संस्कार समेत सुरु गरिसकेको थियो। बाढीले घर बगाएपछि आठ दिनसम्म कुनै पत्तो नलाग्दा परिवारले ‘अब उनी फर्किने सम्भावना छैन’ भन्ने निष्कर्ष निकाल्यो। अन्ततः आश मरेपछि बिहीबार काठमाडौँको सानो भर्‍याङमा कुशको शव बनाएर उनको दाहसंस्कार गरियो र काजकिरिया सुरु भयो। तर, बिहीबार जसको अन्त्येष्टि गरियो, उनै चण्डिका शनिबार ११औँ दिनमा सशस्त्र प्रहरीको टोलीले भग्नावशेषबाट जीवितै उद्धार गरेको हो ।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित चण्डिकाको साढे चार तले घरलाई बाढीले जुरुक्कै उचालेर त्रिशूलीको किनारमा थुपारेको थियो। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले शनिबार खोजी गर्ने क्रममा घरको भग्नावशेष भित्रबाट मानिसको आवाज सुनेको थियो। अत्यन्तै जटिल अवस्थामा रहेकी उनलाई सुरक्षाकर्मीले भग्नावशेष पन्छाएर बाहिर निकाल्दा उनी अर्धअचेत थिइन्। उद्धारलगत्तै उनले टोलीले दिएको पानी पिइन्, जसले उद्धारकर्मीहरूमा थप उत्साह थप्यो। उनलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौँ ल्याई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालको शैय्यामा माइजुलाई भेट्दाको क्षण सुनाउँदै भान्जा सुरेन्द्रलाल श्रेष्ठ भावुक बने। “हामीले ७ दिनसम्म दलदलमा खोज्यौँ, तर कतै फेला नपरेपछि हार खाएर काजकिरिया सुरु गरेका थियौँ,” उनले भने, “आज माइजुलाई जीवितै पाउँदा यो साक्षात् ईश्वरीय उपहार जस्तो लागेको छ।” अस्पताल पुग्नेबित्तिकै चण्डिकाले आफ्नो शरीरमा भएका सुनका चुरा, औँठी र क्लिप निकालेर भान्जाको हातमा थमाएकी थिइन्। सुगर, प्रेसर र मुटुको समेत बिरामी रहेकी उनी ११ दिनसम्म विना खाना र पानी मृत्युसँग जुधेर बाँच्न सफल हुनुलाई चिकित्सकहरूले पनि एउटा दुर्लभ चमत्कार मानेका छन्।
चमत्कारको यो शृङ्खला चण्डिकामा मात्र सीमित रहेन। शनिबार नै रसुवाको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञहरूको टोलीले ११ दिनदेखि सुरुङको अन्धकारमा फसेका उनलाई बाहिर निकाल्न सफल भएको हो।

यसअघि शुक्रबार अर्थात् बाढी आएको १०औँ दिनमा पनि दुई वटा जीवन जोगिएका थिए। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। लगातार दुई दिनमा भएका यी चार चमत्कारिक उद्धारले विपद्को यो घडीमा राष्ट्रिय रूपमै आशाको सञ्चार गराएको छ।
चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले अस्पताल परिसरमा सुनाएको एउटा प्रसङ्ग अझ घतलाग्दो छ। उनका अनुसार चण्डिकाका स–साना नातिहरूले अघिल्लो दिन मात्रै दिनभर भगवान्‌को भजन गाएका थिए। “नातिले फोटो हेर्दै मेरी आमा चाहियो भन्दै जिद्दी गरिरहेको थियो,” रमेशमानले भने, “आज यो अवस्था देख्दा लाग्छ, साच्चै भगवान् हुनुहुँदो रहेछ।”
बेत्रावती बजार क्षेत्रका मात्रै करिब तीन सय जना मानिसहरू अझै सम्पर्कविहीन रहेको स्थानीयको दाबी छ। तर, यी चार जनाको ‘पुनर्जन्म’ ले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र आश मारिसकेका परिवारहरूमा एउटा बलियो विश्वास जगाएको छ— “विपद्को अन्धकारमा पनि जीवनको ज्योति अझै बाँकी हुन सक्छ।” अहिले चारै जनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार