काठमाडौं(जस)–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ । कर्पोरेसनले संस्थागत तर्फबाट ५० लाख रुपैयाँ र आफ्ना कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरेको हो ।
कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरिन् । कार्यक्रममा अध्यक्ष प्रदिप लाल श्रेष्ठ तथा ञ्चालकहरू नारायण दास मानन्धर, देवेन्द्र भक्त श्रेष्ठ, सुनील श्रेष्ठ र व्यवस्थापनतर्फबाट प्रबन्धक कुमार राजभण्डारी, कानुनी सल्लाहकार उमेश कुमार ओझा, लेखा प्रमुख इन्द्रमान महर्जनलगायत अनुप श्रेष्ठ, मोहन थापा र निर्मल तामाङको उपस्थिति थियो ।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको कर्पोरेसनले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्का समयमा निजी तथा सार्वजनिक क्षेत्रबाट हुने मानवीय सहयोगको महत्त्वलाई समेत उजागर गरेको छ । कर्पोरेसनले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार राहत तथा सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।