शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

नदीले दिएको जीवन, नदीले नै खोसेको संसार (भोटेकोशी बाढीका तीन दिन : रामहरि कार्कीको स्थलगत रिपोर्ट)

शनिबार, भाद्र २० २०८३

बट्टार, नुवाकोट । भदौ १७ गते बुधबार दिउँसो करिब २ बजेको थियो । देवीघाट बजारमा पुग्दा त्यहाँ बजारको पुरानो स्वरूप कतै देखिएन । आँखाअगाडि लेदो, ढुङ्गा, भत्किएका घर र माटोभित्र पुरिएका जीवनका अवशेष मात्र बाँकी थिए । कुनै समय मानिसको भीड, पसल र व्यापारले भरिभराउ रहने देवीघाट बजारलाई नदीले केही घण्टामै चिन्न नसकिने कुरूप बनाइ दियो । बजार क्षेत्रमा भेटिएका अन्तर्राष्ट्रिय स्वयंसेवक संस्थाका प्रतिनिधि ऋषि गौतमका अनुसार देवीघाट क्षेत्रमा १३ जना बेपत्ता थिए । सात जनाको शव भेटिएको थियो । नजिकै रहेको ज्येष्ठ नागरिक केन्द्रको दुई तला लेदोले पुरिएको थियो । प्रकृतिको एउटा रौद्र रूपले मानिसले दशकौँ वर्ष लगाएर बनाएको संसार कसरी यति सजिलै मेटाउन सक्छ ? भन्ने त्यो दृश्यले प्रश्न उठाइरहेको छ । भदौ १० गते बिहान यस क्षेत्रमा ठूलो बाढी आउँदैछ भन्ने सूचना आएको थियो । वडा अध्यक्ष लिलानाथ न्यौपानेले स्थानीयलाई जानकारी गराएका थिए । माइकिङ गरिएको थियो । मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । तर धेरैले पत्याएनन् । नदीमा बाढी आउँछ नै भन्ने सामान्य सोच थियो, तर यसपटक नदीले बजार नै बगाउँछ भन्ने कल्पना कसैले गरेको थिएन । स्थानीयहरू घर छाड्न अटेरी भएपछि उनीहरूको ज्यान जोगाउन प्रहरीको सहयोग लिनुप¥यो । भीड नियन्त्रण गर्न बल प्रयोग गर्नुप¥यो । मानिसहरू तितरबितर भए र धेरैजना ज्यान जोगाउन पहाडतिर दौडिए । त्यो दिन मानिसहरूले घर छाडे, तर केही समयपछि नदीले उनीहरूको घर, पसल र संसार नै छाडेन ।

दिउँसो करिब ३ बजे हामी देवीघाटको पुरानो बजारमा रहेको उत्तम थापाको ‘यु.के. कपडा पसल’ पुग्यौँ । यो देवीघाटको पुरानो पसलमध्ये एक थियो । भदौ १० गते आएको बाढीले पसल पूरै पुरिएको थियो । घर क्षतविक्षत थियो । थापा केही स्वयंसेवकसँग मिलेर माटो र लेदो हटाउँदै थिए । सायद उनलाई पसलभित्र केही सामान भेटिन्छ कि भन्ने आशा थियो । तर त्यो खोजी सामानको मात्र थिएन, वर्षौँको मेहनत र जिन्दगीको एउटा हिस्सा खोज्ने प्रयास पनि थियो । उनको अनुमानमा पसलमा मात्रै करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको थियो । देवीघाटका रामजीप्रसाद गजुरेलले त्यो दिन सम्झँदा आफूले मृत्युबाट भागेर ज्यान बचाएको सुनाए । बाढी आउनुभन्दा करिब १५–२० मिनेटअघि मात्रै उनले सूचना पाएका रहेछन् । त्यतिबेला उनी खाना खान बसेका थिए । “हात जुठो थियो,” उनले भने, “श्रीमतीले खाना छोडेर जाऔँ भनिन् । उनी अगाडि दौडिइन्, म पनि पछिपछि लागेँ ।” त्रिशुली उर्लिँदै आइरहेको थियो । उनीहरू डाँडातिर दौडिए र ज्यान जोगाए । तर घरभित्र रहेको सबै कुरा नदीले लग्यो । खाद्यान्न, लत्ताकपडा, सुन, पैसा क्षणभरमै समाप्त भयो । छोराबुहारी विदेशमा थिए, नातिनातिनी विद्यालय गएका थिए । घरमा श्रीमान्÷श्रीमती मात्र थिए । “अहिले शरीरमा लगाएको कपडा बाहेक केही छैन,” उनले भावुक हुँदै भने ।

२०७२ सालको भूकम्पले पनि गजुरेल परिवारमा ठूलो चोट दिएको थियो । भूकम्पको पीडा भोगेका उनी फेरि बाढीको विनाशसँग जुधिरहेका थिए । “जिन्दगीभर कमाएको सम्पत्ति एकैछिनमा सकियो,” उनले भने, “हामी त एकैछिनमा सुकुम्बासी भयौँ ।” उनको गुनासो राज्यको उपस्थितिप्रति पनि थियो । “संघसंस्थाले सहयोग गरिरहेका छन्, सहयोगी मन भएका मानिसहरू आइरहेका छन् । तर राज्यले हाम्रो दुःख कति बुझ्यो ?” उनी प्रश्न गर्छन् । देवीघाट क्षेत्रमा मात्रै करिब २८५ घरधुरी प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेल पनि विपद्का बेला राज्यको उपस्थिति अपेक्षाअनुसार हुन नसकेको बताउँछन् । उनका अनुसार भदौ १० गतेदेखि नै प्रभावित जनता सरकारको खोजीमा थिए । “जनताले गुहारिरहेका थिए, तर सरकारको उपस्थिति जनताबीचभन्दा सामाजिक सञ्जालमा बढी देखियो,” उनको भनाइ थियो । प्रधानमन्त्री स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगे पनि फर्किँदा हेलिकप्टर प्रयोग गरिएको भन्दै उनले पीडित जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वय पर्याप्त हुन नसकेको गुनासो गरे । उनका अनुसार केन्द्रीय सरकारले आफ्नै संयन्त्र बढी प्रयोग ग¥यो । स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गरेन । विपद्को धेरै व्यवस्थापन निजी क्षेत्र, संघसंस्था र सहयोगी मन भएका मानिसहरूले सम्हाल्नुपरेको उनको अनुभव थियो ।

यसै क्षेत्रमा एक व्यक्तिको मृत शरीर दुई दिनपछि मात्रै राज्य संयन्त्रको नजरमा परेको स्थानीयको भनाइ थियो । विपद्को मैदानमा एउटा शव भेटिन दुई दिन लाग्नु सामान्य घटना होइन । त्यसले उद्धार संयन्त्रको पहुँच, सूचना प्रणाली र राज्यको उपस्थितिमाथि गम्भीर प्रश्न उठाउँछ । रामशरण वस्ती देवीघाट क्षेत्रका खाद्यान्न व्यवसायी हुन् । उनको ठूलो होलसेल पसल थियो । बाढीले चार करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको उनको अनुमान छ । बाहिरबाट हेर्दा उनी सम्पन्न व्यापारी देखिन्थे । तर आज परिस्थिति बदलिएको छ । “पहिले गाडीका गाडी सामान बेच्थेँ,” उनले भने, “आज दुई–चार पोका चाउचाउ माग्नुपर्ने अवस्था आएको छ ।” त्यो वाक्यसँगै उनको स्वर भारी भयो । “भदौ १० गतेअघिको जीवन अहिले सपना जस्तो लाग्छ,” उनी भन्छन् । “अहिले सम्पत्तिको नाममा शरीरमा लगाएको कपडा बाहेक केही छैन ।” बाढीले उनको व्यापार मात्र बगाएको थिएन, जिन्दगीभर बनाएको पहिचान पनि खोसिदिएको थियो । बेलुका करिब ५ बजेको थियो । सशस्त्र प्रहरी बलको कुकुर व्यवस्थापन टोली देवीघाट क्षेत्रमा खोजी कार्यमा जुटेको थियो । टोलीसँग ‘बडी’ र ‘माइक’ नामका कुकुर थिए । अघिल्लो दिन उनीहरूले देवीघाट क्षेत्रमा तीनवटा शव पत्ता लगाउन सहयोग गरेका थिए । त्यस दिन ज्येष्ठ नागरिक केन्द्रमा पाँच जना वृद्धवृद्धा बेपत्ता भएको सूचना आएपछि उनीहरूलाई खोज्न टोली खटिएको थियो । कुकुरहरूले लामो समयसम्म खोजी ग¥यो । तर केही पत्ता लगाउन सकेनन् । लगातार करिब एक घण्टा खोजेपछि उनीहरूलाई आराम दिनुपर्ने रहेछ । त्यहाँ उद्धारकर्मीभन्दा हेर्न आउने मानिसहरूको भीड थियो ।
भदौ १८ गते, बिहीबार बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कर्मचारीसँग भेट भयो । उनीहरूले बाढीपहिरो पीडितको पहिचानका लागि रातो र निलो कार्डको व्यवस्था सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । प्रभावित परिवारको पहिचानपछि राहत र पुनर्निर्माणलाई प्राथमिकतामा राखिने उनीहरूको भनाइ थियो । त्यसपछि हामी ढुङ्गे बजार पुग्यौँ । बाढीपहिरोपछि सामाजिक सञ्जालमा भाइरल बनेको प्याकुरेलजीको घर पनि त्यही क्षेत्रमा थियो । स्थानीयका अनुसार त्यस क्षेत्रमा करिब ११० घर ध्वस्त भएका थिए । यो एउटा महत्वपूर्ण व्यापारिक क्षेत्र पनि थियो । सात जनाको मृत्यु भएको जानकारी स्थानीयले दिएका थिए । चारैतिर घरका भग्नावशेष थिए । लेदोले पुरिएका पसल थिए । मानिसहरू आफ्ना सामान खोजिरहेका थिए । कसैले परिवार खोजिरहेका थिए । अवस्था यति दर्दनाक थियो कि शब्दले वर्णन गर्न कठिन थियो । त्यही समयमा आकाशमा नेपाली सेनाको हेलिकप्टर देखियो । हेलिकप्टरबाट शव ल्याइएको दृश्य हेर्न मानिसहरूको भीड लागेको थियो । उता विभिन्न संघसंस्था, मनकारी व्यक्ति र लायन्सलगायत संस्थाले सामूहिक मेस सञ्चालन गरेका थिए । मानिसलाई खाना खुवाइँदै थियो । विपद्को बेला समाजको सहकार्य निकै बलियो देखिन्थ्यो । धेरै ठाउँमा सरकारभन्दा पहिले संघसंस्था पुगेको अनुभूति हुन्थ्यो ।

हामी त्यसपछि बान्द्रेचौरतिर लाग्यौँ । त्रिशुली नदी वारपार गर्ने पुल बाढीले बगाइसकेको थियो । त्यसको विकल्पमा अस्थायी तुइन सञ्चालन गरेको थियो । दुवैतर्फ नेपाली प्रहरी खटिएका थिए । प्रहरी आफैँले तुइनको डोरी तानेर मानिसलाई नदी वारपार गराइरहेका थिए । एक पटकमा दुई जनासम्म मात्र जान मिल्ने रहेछ । तल त्रिशुली उर्लिरहेको थियो । पानी धमिलो थियो । नदीले आफ्नो शक्ति देखाइरहेको थियो । मानिसहरू बिहानै नाम टिपाउँथे, तर बेलुकासम्म पनि पालो नआउन सक्थ्यो । एउटा नदी पार गर्नु पनि मानिसका लागि दिनभरको सङ्घर्ष बनेको थियो । बेलुकातिर हामी सैन्य ब्यारेक पुग्यौँ । ब्यारेकबाहिर मानिसहरू हराएका आफन्तको सूची हेर्दै थिए । कसैले नाम पढिरहेका थिए । कसैले फोटो हेर्दै थिए । कसैले कतै आफ्नो मान्छे जीवित भेटिन्छ कि भन्ने आशा राखिरहेका थिए । ढुङ्गे, त्रिशुली बजार क्षेत्रका ५२ वर्षीय मोतीलाल तामाङ भदौ १० गतेदेखि बेपत्ता थिए । उनका आफन्त भित्तामा टाँसिएको नामको सूची हेर्दै थिए । सायद उनीहरूलाई कुनै सूचीमा उनको नाम भेटिएला भन्ने डर थियो । र, कतै नाम नदेखिए उनी जीवितै फर्किएलान् भन्ने आशा पनि ।
भदौ १९ गते, शुक्रबार बिहान फेरि सैन्य ब्यारेक पुग्यौँ । त्यहाँ उद्धारका काम भइरहेको थियो । आफन्तजनहरू ब्यारेकबाहिर बसेर आउने हेलिकप्टर र उद्धारकर्मीको गतिविधि हेरिरहेका थिए । त्यही दिन त्रिशुली–३ ए परियोजना क्षेत्रबाट उद्धार गरिएका सञ्जय साहलाई हेलिकप्टरमार्फत ब्यारेकमा ल्याइएको थियो । उनलाई प्राथमिक उपचार गरिएको थियो । केही समय आफन्तसँग टेलिफोनमा कुरा गर्न दिइयो । त्यसपछि थप उपचारका लागि काठमाडौंस्थित सैनिक अस्पताल पठाइयो । त्यही समयमा एक गर्भवती महिलालाई पनि हेलिकप्टरमार्फत काठमाडौं लगियो । माथिका तीन दिनसम्म प्रभावित क्षेत्रमा देखिएका दृश्यहरू बाढीका मात्र दृश्य थिएनन् । ती मानिसको पीडा, उद्धारको सङ्घर्ष, राज्यको क्षमता, कमजोरी र समाजको सहयोगी मनका दृश्य थिए । कतै मानिस आफ्ना प्रियजन खोजिरहेका थिए । कतै माटोभित्र पुरिएको पसल खोजिरहेका थिए । कतै नामको सूचीमा आफन्तको नाम नपरोस् भनेर प्रार्थना गरिरहेका थिए ।

तर यो बजार नदी किनारमा कसरी बस्यो ? यसको इतिहास पनि यो विपद्को कथा बुझ्न आवश्यक छ । त्रिशुली जलविद्युत् आयोजना निर्माणका लागि भारत सरकारसँग २०१६ सालमा सम्झौता भएको थियो । २०१७ सालबाट काम सुरु भयो । २०२३ सालमा आयोजना सम्पन्न भयो । २१ मेगावाट क्षमताको उक्त आयोजना निर्माण हुनुअघि त्रिशुली नदी किनारमा अहिलेको जस्तो बाक्लो बस्ती थिएन । जलविद्युत् आयोजना सुरु भएपछि कामदार र कर्मचारी आए । उनीहरूका खाजाका पसलहरू खुल्ने क्रम बढ्यो । सडक बन्यो । सडकसँगै व्यापार बढ्यो । फाट्टफुट्ट बनेका साना पसलहरू विस्तार हुँदै गए र कालान्तरमा त्रिशुली बजार तथा ढुङ्गे बजारजस्ता ठूला व्यापारिक क्षेत्र बने । स्थानीय बुढापाकाका अनुसार सुरुमा त्यो क्षेत्र धेरैजसो पर्ती जग्गा थियो । २०३५ सालमा नापी सुरु भएर २०३६ सालमा सम्पन्न भयो । लालपुर्जा प्राप्त भयो । सडक पक्की निर्माण भयो । अत्याधुनिक घर बने । बजार फैलियो । तर नदीलाई मानिसले जग्गाको सीमाभित्र बाँड्न सके पनि नदीले आफ्नो पुरानो बाटो बिर्सिएन ।
नदीको पर्याप्त मापदण्ड नहुनु, नदी किनारमा बस्ती र व्यापारिक संरचना विस्तार हुनु तथा सम्भावित जोखिमलाई गम्भीरतापूर्वक नलिनु अहिलेको विनाशका कारणमध्ये प्रमुख देखिन्छन् । बाढी आउनुअघि स्थानीय प्रशासनले सूचना दिएको थियो । तर मानिसहरूले यति ठूलो बाढी आउँछ भन्ने विश्वास गर्न सकेनन् । गत वर्ष पनि भोटेकोशी क्षेत्रमा बाढी आएको थियो । त्यसबाट पाठ सिक्न नसक्नु अर्को गम्भीर भुल रहेको आभास हुन्छ । हिमालका साथै नदीका देशको रूपमा नेपाललाई चिनिन्छ । विश्वमा बाज्रिल पछि जलस्रोतका रूपले दोस्रो धनी राष्ट्र पनि हो । हिमालमा रहेको हिउँ पग्लेर नदी हुँदै बस्तीमा आइपुग्छ । हामी नदीसँगै बाँचेका छौँ । नदीबाट पानी पाएका छौँ । बिजुली पाएका छौँ । खेती गरेका छौँ । व्यापार गरेका छौँ । तर नदीको स्वभाव र जोखिमलाई बेवास्ता गर्दा त्यही नदी कहिलेकाहीँ विनाश बनेर आउँछ । देवीघाट, त्रिशुली र बट्टार क्षेत्रमा मुस्लिम समुदायको पनि लामो इतिहास जोडिएको छ । धेरैलाई थाहा नहुन सक्छ, यहाँ सयौँ घर मुस्लिम समुदायका थिए । मस्जिद र मदरसा पनि थियो । स्थानीयकाअनुसार यस क्षेत्रमा मुस्लिम समुदायको करिब २७० वर्ष पुरानो इतिहास छ । पृथ्वीनारायण शाहको समयदेखि गोरखाबाट आएका समुदायका मानिस यहाँ बसोबास गर्न थालेको विश्वास गरिन्छ । उनीहरू यहाँका रैथाने पनि हुन् । तर भदौ १० गतेको बाढीले त्यो समुदायका घर मात्र होइन, इतिहासका धेरै चिनो पनि मेटाइदिएको छ ।

स्थानीयका लागि यो सामान्य प्रकोप थिएन । यो प्रलय थियो । यद्यपि महाप्रलय भने होइन । उद्धारका लागि राज्यका उपलब्ध संयन्त्र परिचालन भएका छन् । धेरै ठाउँमा प्राविधिक कठिनाइका कारण उद्धार जटिल बनेको देखिन्छ । ४ जनाको जीवित उद्धार गरिएको छ भने बाँकीको पनि आशा जिवित छ । स्थानीय सरकारहरू पनि आफैँ गम्भीर सङ्कट र मानसिक आघातमा छन् । उनीहरूले आफ्नो क्षमता र पहुँचअनुसार काम गरिरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बेलुकासम्म २१ हजार ४०२ जनशक्ति परिचालित, ५ हजार ५ को उद्धार, १ हजार ३४४ शव फेला परेको छ । हाम्रो जीवनकालमा आएको यो ठूलो विपद्मध्ये एक हो । तर नेपालमा यस्ता प्राकृतिक प्रकोप नयाँ होइनन् । त्यसैले विगतमा मानिसहरू बेंसी र नदी किनारमा स्थायी घर बसाउन डराउँथे । धान फल्ने फाँट खेतीका लागि प्रयोग हुन्थे । बस्ती भने डाँडापाखा र सुरक्षित ठाउँमा बसाइन्थ्यो ।

नुवाकोटका त्रिशुली, लिखु र तादी नदीका फाँट पनि कुनै समय खाली थिए । ती उर्वर फाँटमा खेती हुन्थ्यो, बाक्लो बस्ती थिएन । तर सडक र जलविद्युत् आयोजनासँगै जीवनशैली बदलियो । काठमाडौं–त्रिशुली सडक निर्माण हुन थाल्यो । जलविद्युत् आयोजनाका कामदार र कर्मचारीका लागि खोलिएका चिया पसल समयसँगै विशाल बजारमा परिणत भए । २०३५ सालमा नापी भएपछि नदी किनारसम्म जग्गाको स्वामित्व कायम भयो । घर बने । बजार विस्तार भयो । तर अन्ततः नदीले आफ्नो शक्ति देखायो । नदीले दिएको अवसरले बजार बस्यो । नदीकै कारण सडक आयो । व्यापार बढ्यो । मानिसको जीवन सहज भयो । त्रिशुली किनारमा एउटा संसार निर्माण भयो । र, भदौ १० गते विहान त्यही नदी आफ्नो रौद्र रूप लिएर आयो । नदीको भेलले घर बगायो । पसल बगायो । सम्पत्ति बगायो । इतिहासका चिनो बगायो । मानिसका आफन्त बगायो । देवीघाटको लेदोभित्र आज पनि मानिसहरू केही खोजिरहेका छन् । कसैले पसल खोजिरहेका छन् । कसैले बहुमूल्य वस्तु खोजिरहेका छन् । कसैले कागजपत्र खोजिरहेका छन् । कसैले परिवार खोजिरहेका छन् । तर धेरैले खोजिरहेको कुरा माटोभित्र भेटिँदैन । त्यही नदीले आफूले दिएको जीवन र वैभव पनि आफैँसँगै बगाएर लग्यो । (कार्की नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष हुन्)

प्रतिक्रिया
सम्बन्धित समाचार