शनिबार, भाद्र २० २०८३
कााठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक राजनीति र नेपालको आर्थिक समृद्धिका लागि यसको भूमिका सधैं चर्चाको केन्द्रमा रहने गर्दछ । पछिल्लो समय एनआरएनएभित्रको एकता र सामूहिक लगानीका विषयहरूले विशेष प्राथमिकता पाएका छन् । यसै सन्दर्भमा एनआरएनए आइसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनसँग संघको भविष्य, लगानीका नयाँ क्षेत्रहरू र सांगठनिक एकताका विषयमा जनसवाल राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
सरकार र नीतिगत तहमा भएका पछिल्ला निर्णयहरूले एनआरएनएको लगानीलाई कत्तिको सहज बनाएको छ ?
पछिल्लो समय नीतिगत रूपमा धेरै सकारात्मक सुधारहरू भएका छन्, जसले एनआरएनएको अभियानलाई सफल बनाउन ठूलो मद्दत पुग्नेछ । विशेष गरी हालसालै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त स्वीकृति हाम्रा लागि निकै महत्त्वपूर्ण उपलब्धि हो । यसले एनआरएनमार्फत देशमा लगानी भित्र्याउने बाटो मात्र प्रशस्त गरेको छैन, बरु नेपालको अर्थतन्त्रमा एउटा ठूलो र सकारात्मक प्रभाव पार्ने सुनिश्चितता पनि गरेको छ । यो स्वीकृतिले संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई आफ्नो मातृभूमिमा लगानी गर्न थप उत्प्रेरित गर्नेछ । हामी विश्वास गर्छौं कि प्रत्येक गैरआवासीय नेपालीले आफ्नो क्षमताअनुसार, थोरै वा धेरै, नेपालमा लगानी गर्ने वातावरण अब बनेको छ । यो एउटा सामूहिक लगानीको अवधारणा हो, जसले नेपालको समग्र विकासमा कोसेढुङ्गाको काम गर्नेछ भन्ने मेरो दृढ विश्वास छ ।
चर्चामा रहेको १० अर्बको फण्ड कुन–कुन क्षेत्रमा लगानी गर्ने योजना छ ?
१० अर्बको यो फण्ड नेपालका लागि निकै ठूलो र गौरवको योजना हो । यसलाई कुन–कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा हामीले गहन छलफल गरिरहेका छौं । नेपालमा अहिले धेरै क्षेत्रहरू लगानीका लागि सम्भावना बोकेका छन् । विशेष गरी जलविद्युत् (हाइड्रो), कृषि, स्वास्थ्य क्षेत्र र सूचना प्रविधिको क्षेत्र हाम्रा प्राथमिकतामा छन् । अहिलेको डिजिटल युगमा डेटा सेन्टरहरूको ठूलो आवश्यकता छ, त्यसतर्फ पनि हाम्रो ध्यान गएको छ । अर्को एउटा नयाँ र ठूलो प्रोजेक्टको रूपमा हामीले ’क्लिन हाइड्रोजन’ इनर्जीलाई पनि हेरिरहेका छौं । अहिले पनि धेरै साथीहरूले व्यक्तिगत वा सानो समूहमा विभिन्न क्षेत्रमा लगानी गरिरहनुभएको छ । तर, यो १० अर्बको फण्डलाई हामीले अलि बृहत् र राष्ट्रिय गौरवका आयोजनाहरूसँग जोड्न खोजेका छौं । हामी अहिले लगानीका क्षेत्रहरू पहिचान गर्ने (आइडेंटिफाई गर्ने) प्रक्रियामा छौं । मेरो विचारमा, नेपालमा अहिलेसम्म सुरु नभएका तर उच्च सम्भावना भएका नयाँ प्रविधि र ऊर्जाका क्षेत्रहरूमा यस फण्डलाई विशेष फोकस गरेर अगाडि बढ्ने हाम्रो योजना छ ।
लगानी बोर्डमा नयाँ र ऊर्जावान् नेतृत्व आएको छ, यसले एनआरएनको सहकार्यमा कस्तो प्रभाव पार्ला ?
राज्यका निकायहरूसँग हाम्रो सहकार्य निकै महत्त्वपूर्ण हुन्छ । विशेष गरी लगानी बोर्ड जस्तो निकायमा ऊर्जावान् नेतृत्व आउनुले हामीलाई उत्साहित बनाएको छ । लगानी भित्र्याउने कुरामा राज्यको नीतिगत स्पष्टता र सहयोगबिना हामी एक्लैले सोचेजस्तो उपलब्धि हासिल गर्न सक्दैनौं । त्यसैले राज्य र एनआरएनए बिचको नीतिगत सहकार्यलाई अझ मजबुत बनाएर लैजानुपर्ने हुन्छ । नयाँ नेतृत्वसँग हाम्रो सञ्चार र समन्वय राम्रो हुने अपेक्षा छ । यसले लगानीका अवरोधहरू फुकाउन र नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न थप मद्दत पुग्नेछ ।
एनआरएनएभित्र नेतृत्वमा पुग्ने अभिलाषा र वर्तमान सांगठनिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
नेतृत्वमा पुग्ने अभिलाषा हुनु स्वभाविक हो, तर मेरो प्राथमिकता सधैं संस्थाको हित नै रह्यो । विगत ५–६ वर्षदेखि एनआरएनए एक किसिमको सांगठनिक अस्थिरता र साथीहरू बिचको असमझदारीबाट गुज्रिएको थियो । एक समय त संस्था विभाजनको संघारमा समेत पुगेको थियो । तर, १२औँ अधिवेशनपछि हामी सबै एउटै ठाउँमा उभिन सफल भएका छौं । मेरो मुख्य उद्देश्य भनेको संस्थालाई राजनीतीकरणबाट मुक्त राख्नु र यसलाई सबै गैरआवासीय नेपालीहरूको साझा घर बनाउनु हो । म कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर संस्थालाई एकताबद्ध बनाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेको छु । म लामो समयदेखि जापानमा रहेर त्यहाँको नेटवर्क र संस्थागत अनुभवलाई नेपालसँग जोड्ने प्रयास गरिरहेको छु । हामी अहिले विभाजन होइन, एक ढिक्का भएर अगाडि बढ्ने चरणमा छौं । यो संगठनलाई मजबुत बनाउनु नै मेरो मुख्य संकल्प हो ।
सोल्टी सम्मेलनपछि एनआरएनए साच्चै एकताबद्ध भएको हो? यहाँलाई कस्तो महसुस भइरहेको छ ?
: कुनै पनि ठूलो संस्थामा शतप्रतिशत सहमति हुनु कठिन हुन्छ, केही साथीहरूको फरक मत वा असहमति हुनुलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ । तर, सोल्टी सम्मेलनले के पुष्टि गरेको छ भने, हामी सबैमा ’हामी एक हौं’ भन्ने भावना जागृत भएको छ । विगतका वर्षहरूको तुलनामा अहिलेको वातावरण निकै फरक र सकारात्मक छ । धेरै साथीहरूले अब मिलेरै अगाडि बढ्नुपर्छ भन्ने भावना देखाउनुभएको छ । केही सानातिना असहमतिहरूलाई हामी संवादमार्फत मिलाउँदै जानेछौं । समग्रमा, संस्था अहिले एकताको मार्गमा अगाडि बढेको छ ।
तपाईं वरिष्ठ उपाध्यक्षको भूमिकामा हुनुहुन्छ, संस्थाभित्र अब तपाईंको भूमिका के रहन्छ ?
गएको अधिवेशनमा मैले संस्थाको एकताका लागि ठूलो त्याग गरें । संस्था विभाजन नहोस् र सबै साथीहरू एकै ठाउँमा आउन सकून् भनेर मैले अध्यक्षको दाबेदारीबाट एक कदम पछाडि हट्ने निर्णय गरेको थिएँ । मेरो त्यो भूमिकाले संस्थालाई एकताबद्ध बनाउन मद्दत पुग्यो भन्ने मलाई लाग्छ । अहिले म वरिष्ठ उपाध्यक्षको रूपमा साथीहरूको भावनालाई समेट्ने र संस्थालाई युनिफाइड बनाउने काममा केन्द्रित छु । साथीहरूबाट मैले निकै सकारात्मक प्रतिक्रिया पाएको छु । मलाई विश्वास छ, अब आउने १३औँ अधिवेशन अझ बढी प्रभावकारी र उत्साहजनक हुनेछ, जहाँ हामी अझ बलियो एकताका साथ प्रस्तुत हुनेछौं ।
कतिपयले तपाईंले साथीहरूको अपेक्षा अनुसार काम गर्न सक्नुभएन भन्ने गुनासो पनि गर्छन्, यसमा के भन्नुहुन्छ ?
सबै कुरा एकैचोटि परिवर्तन हुँदैन । हामी एउटा कठिन संक्रमणकालबाट गुज्रिएर बल्ल अहिलेको अवस्थामा आइपुगेका छौं । १२औँ अधिवेशनपछि हामीले एउटा आधार तयार गरेका छौं । एकताको भावनालाई जोगाएर राख्नु नै अहिलेको मुख्य चुनौती हो । मेरो प्राथमिकता संस्थालाई एउटा निश्चित विधि र पद्धतिमा हिँडाउनु हो । साथीहरूले जुन आशा र अपेक्षा गर्नुभएको छ, त्यसलाई बिस्तारै तर ठोस रूपमा पूरा गर्दै लैजाने मेरो प्रतिबद्धता छ । अब यो संगठन पहिलेको जस्तो विभाजनको बाटोमा जाँदैन, बरु एकताका साथ अगाडि बढ्छ ।
हालै सम्पन्न एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको उपलब्धि र सहभागितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
चीनमा भएको सम्मेलन अत्यन्तै सफल र भव्य रह्यो । एसिया प्यासिफिक क्षेत्रका विभिन्न देशहरूबाट धेरै साथीहरू उत्साहका साथ सहभागी हुनुभयो । साथै, नेपालका विभिन्न राजनीतिक दलका नेतृत्व र राज्यका उच्च व्यक्तित्वहरूको उपस्थिति हुनु हाम्रा लागि ठूलो कुरा हो । यसले हाम्रो अभियानलाई राज्यले पनि गम्भीरताका साथ लिएको पुष्टि गर्छ । सम्मेलनमा भएका छलफल र निष्कर्षहरूले आगामी दिनमा एनआरएनएको कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
तपाईंलाई धेरैले ’वेटिङ प्रेसिडेन्ट’ को रूपमा पनि हेरेका छन्, आगामी नेतृत्वका लागि तपाईंको तयारी र सोच के छ ?
हामीले संस्थाभित्रका धेरै कमी–कमजोरीहरूलाई नजिकबाट देखेका छौं । अबको हाम्रो मुख्य काम भनेको एनआरएनएको यो विशाल नेटवर्कलाई राष्ट्रको समृद्धिसँग कसरी जोड्ने भन्ने नै हो । यदि हामीले हाम्रा योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्यौं भने मात्र यो संस्थाको सार्थकता झल्कनेछ । नेतृत्वमा पुग्नु मात्र ठूलो कुरा होइन, नेतृत्वमा पुगेर संस्थालाई के दिन सकिन्छ भन्ने मुख्य कुरा हो । विगतमा मैले जुन ’स्याक्रिफाइस’ गरें, त्यो संस्था बचाउनका लागि थियो । निर्वाचन एउटा प्रक्रिया हो र प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, मलाई विश्वास छ कि साथीहरूले मेरो योगदान र संस्थाप्रतिको मेरो समर्पणलाई बुझ्नुभएको छ । म चाहन्छु कि आगामी दिनमा पनि हामी सकेसम्म निर्वाचनभन्दा पनि सर्वसहमतिबाटै अगाडि बढ्न सकौं । साथीभाइहरूको मप्रतिको विश्वास र रेस्पोन्सले मलाई थप जिम्मेवार बनाएको छ । म संस्थालाई एक ढिक्का बनाएर लैजाने आफ्नो संकल्पमा अडिग छु ।
अन्त्यमा, एनआरएनका सदस्यहरूलाई के भन्न चाहनुहुन्छ ?
म सबै गैरआवासीय नेपाली साथीहरूलाई के भन्न चाहन्छु भने, हामी अहिले एक ऐतिहासिक मोडमा छौं । नेपालमा लगानी गर्ने र मातृभूमिको विकासमा सहभागी हुने यो सुनौलो अवसर हो । हामी बिचमा केही मतभेदहरू हुन सक्छन्, तर हाम्रो लक्ष्य एउटै हुनुपर्छ । एनआरएनएलाई साझा र बलियो संस्था बनाउन सबैको साथ र सहयोग आवश्यक छ । हामीले देखाएको यो एकताले नै हामीलाई सफलताको उचाइमा पु¥याउनेछ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij