शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

मातृभूमिप्रतिको साझा उत्तरदायित्व : संकटको घडीमा जुर्मुराएको नेपाली डायस्पोरा

शनिबार, भाद्र २० २०८३

— सोमनाथ सापकोटा
१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशले ठूलो धनजनको क्षति ब्यहोर्नुपर्‍यो। यो अकल्पनीय विपद्पछि उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि अहिले स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। संकटको यस घडीमा संसारभरका विभिन्न देशहरूले नेपाललाई सहयोग पठाइरहेका छन् भने नेपालभित्रैबाट पनि विभिन्न संघसंस्था, व्यापारिक प्रतिष्ठान (बिजनेस हाउस) र आम नागरिकले आ-आफ्नो तर्फबाट भरपूर सहयोग गरेका छन्। नेपाल सरकारले पनि यस विपद्बाट देशलाई बाहिर निकाल्न र पीडितहरूको राहत तथा उद्धारका लागि सक्दो प्रयास गरिरहेको छ। यही पीडा र संघर्षको बीचमा, विश्वभर छरिएर रहेका नेपालीहरूले देखाएको सक्रियता विगतभन्दा धेरै भिन्न, व्यवस्थित र परिपक्व देखिएको छ। यसपटक नेपाली डायस्पोरा केवल व्यक्तिगत सहानुभूतिका रूपमा मात्र होइन, संस्थागत र संगठित रूपमा मातृभूमिको काखमा उभिएको छ।
कसैले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा प्रत्यक्ष आर्थिक सहयोग गरे, त कसैले व्यक्तिगत रूपमा बाढीपीडित परिवारसम्म हात पुर्‍याए। विभिन्न नेपाली संघसंस्था, सामाजिक सञ्जाल, व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद्हरूले आ-आफ्ना स्थानीय नेटवर्क परिचालन गर्दै राहत रकम र सामग्री संकलन गरेर नेपाल पठाए। यस विपद्का बेला एनआरएनएले मात्रै ८ करोड रुपैयाँभन्दा बढी राहत कोष संकलन गरिसकेको छ भने विभिन्न किसिमका अत्यावश्यक स्रोतसाधनसहित प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण गर्न सक्रिय रूपमा जुटेको छ। एनआरएनएले विश्वभर फैलिएको आफ्नो सञ्जाललाई सक्रिय बनाउँदै सहयोग जुटाउने, समन्वय गर्ने र त्यसलाई नेपालसम्म पुर्‍याउने कामलाई निकै व्यवस्थित बनाएको देखियो।
यसपटकको संकटमा नेपाली डायस्पोराले केवल आफ्नैतर्फबाट मात्र प्रयास गरेनन्; उनीहरूले आफू आबद्ध अन्तर्राष्ट्रिय व्यावसायिक संस्था (बिजनेस हाउस), स्थानीय समाज, नेपालका अन्तर्राष्ट्रिय शुभचिन्तक तथा विदेशी मित्रहरू (Friends of Nepal) लाई समेत प्रभावकारी रूपमा कन्भिन्स (विश्वस्त) गरे। यसको सुखद परिणामस्वरूप, अपेक्षा गरिएभन्दा निकै ठूलो परिमाणमा सहयोग जुट्न सफल भयो। विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडिया (NVIDIA) मा कार्यरत नेपाली कर्मचारीहरूको पहल र त्यससँग जोडिएको वृहद सहयोग यसको एक ज्वलन्त उदाहरण हो।
एनभिडियाकी सिनियर फाइनान्सियल एनालिस्ट आरती न्यौपाने र सोही कम्पनीका एसिया प्यासिफिक भाइस प्रेसिडेन्ट अशोक पाण्डेको पहलमा एनभिडियामा कार्यरत ५० भन्दा बढी नेपालीको टोलीले नेपाललाई सहयोग गर्ने प्रस्ताव अघि बढायो। प्रक्रियागत अन्योलका बीच एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् उद्यमी हिक्मत थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गरी कम्पनीलाई पूर्ण रूपमा विश्वस्त पारे। त्यसपछि कम्पनीका सीईओ जेन्सन हुआङले तत्कालै १ करोड अमेरिकी डलरको सहयोग स्वीकृत गरे। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको हिमालयन बैंक खातामा जम्मा भइसकेको बैंकका सीईओ अशोक राणाले पुष्टि गरेका छन्। एनभिडियामा देखिएको यो सफल सहकार्य जस्तै अहिले विश्वका अन्य मुलुकहरूमा पनि नेपालीहरूले आफू आबद्ध विभिन्न प्रतिष्ठित कम्पनी र बिजनेस हाउसहरूसँग सहकार्य गर्दै नेपालका लागि ठूलो धनराशि जुटाउने अभूतपूर्व प्रयासहरू गरिरहेका छन्।
नेपालको इतिहासमा डायस्पोराले यसरी संस्थागत र ठूलो मात्रामा अन्तर्राष्ट्रिय स्रोत र कर्पोरेट फण्ड भित्र्याएको सम्भवतः यो पहिलो पटक हो। यसले डायस्पोरा अब सास्तीमा साथ दिने भावावेशमा मात्र सीमित नरहेको प्रष्ट पारेको छ। विदेशमा व्यावसायिक सफलता हासिल गरेका अन्य धेरै नेपाली उद्यमीहरूले पनि व्यक्तिगत तथा संस्थागत रूपमा ठूलो धनराशि विपद् प्रभावित क्षेत्रमा पठाएका छन्। यी सबै घटनाले यो प्रमाणित गरेका छन् कि नेपाली डायस्पोरा वैचारिक र संस्थागत रूपमा अत्यधिक परिपक्व भइसकेको छ र यो मातृप्रति पूर्ण रूपमा जिम्मेवार र स्रोतसम्पन्न शक्ति बनिसकेको छ।

यसपटकको सहयोगले नेपाली डायस्पोरामा क्षमता, आत्मविश्वास र जिम्मेवारीबोध उच्च तहमा पुगेको देखाएको छ। संकट पर्दा सहयोग गर्ने भावना त नेपालीमा परापूर्वकालदेखि नै थियो, तर अहिले त्यो भावना संस्थागत संरचना, डिजिटल माध्यम, बलियो अन्तर्राष्ट्रिय सञ्जाल, व्यावसायिक क्षमता र परिपक्व नेतृत्वसँग जोडिएको छ। कुनै देशमा रहेका नेपालीले त्यहाँको स्थानीय उद्योग–व्यवसायसँग सहजै समन्वय गर्न सक्छन्। कुनै दक्ष पेसाकर्मीले आफू कार्यरत विश्वस्तरीय कर्पोरेट हाउसमा नेपालका लागि मुखर रूपमा आवाज उठाउन सक्छन्। सामाजिक संस्थाहरूले स्थानीय समुदायबाट जनस्तरको सहयोग जुटाउन सक्छन् भने एनआरएनए जस्ता संस्थाहरूले ती छरिएका प्रयासलाई जोडेर राष्ट्रियस्तरको विशाल सञ्जालमार्फत नेपालसम्म पुर्‍याउन सक्छन्। यस अर्थमा, नेपाली डायस्पोराको शक्ति अब केवल आर्थिक सहयोगमा मात्र सीमित छैन—उसको ग्लोबल नेटवर्क, पहुँच, सीप, विश्वसनीयता र सामूहिक परिचालन क्षमता नै उसको असली तागत हो।

आज विश्वको नक्सामा त्यस्तो कुनै देश खोज्न मुस्किल पर्छ, जहाँ नेपालीहरूको पाइलो नपुगेको होस्। युरोपदेखि अमेरिका, मध्यपूर्वदेखि एसिया, र अफ्रिकादेखि अस्ट्रेलियासम्म नेपाली समुदायले आफ्नो पसिना र सीपले छुट्टै उपस्थिति बनाएको छ। हामी संसारका विभिन्न कुनामा एउटा ‘सानो नेपाल’ निर्माण भइरहेको देखिरहेका छौँ। त्यहाँ नेपाली भाषा छ, संस्कृति छ, चाडपर्व छन्, नेपाली व्यवसाय छन्, सामाजिक संस्थाहरू छन् र सबैभन्दा महत्वपूर्ण कुरा—मुटुमा नेपालसँग जोडिएको गहिरो भावना छ। भौगोलिक रूपमा नेपालबाट हजारौँ कोस टाढा भए पनि उनीहरू भावनात्मक, सामाजिक र आर्थिक रूपमा निरन्तर नेपालसँग जोडिएका छन्। यही विश्वव्यापी उपस्थिति र भावनात्मक एकता नै भोलि नेपालको सबैभन्दा ठूलो ‘सफ्ट पावर’ बन्न सक्छ।

डायस्पोराले आफ्नो दायित्व र कर्तव्य त अभूतपूर्व ढंगले पूरा गरे, तर अब नेपाल सरकारले पनि आफ्नो परम्परागत सोच बदल्ने बेला आएको छ। सिमाना कहिल्यै पनि सम्भावना र अवसरको बाधा बन्नु हुँदैन। विदेश जानु भनेको नेपालबाट सदाका लागि टाढा हुनु मात्र होइन; राम्रो अवसर, उच्च शिक्षा, रोजगारी र व्यवसायका खातिर विदेश पुगेका ती सक्षम नेपालीहरूलाई नेपालको दीर्घकालीन विकास प्रक्रियामा जोड्ने बलियो वातावरण सरकारले बनाउनैपर्छ।
सरकारले विदेशमा रहेका नेपालीलाई केवल ‘रेमिट्यान्स पठाउने नागरिक’ का रूपमा मात्र हेर्ने पुरानो र साँघुरो सोचबाट माथि उठ्नुपर्छ। उनीहरूलाई अब राज्यले ‘ट्रस्टेड पार्टनर’ (विश्वासिलो साझेदार) का रूपमा अँगाल्नुपर्छ। उनीहरूसँग भएको ज्ञान, अत्याधुनिक प्रविधि, सीप, अन्तर्राष्ट्रिय सम्बन्ध, पूँजी र उद्यमशीलतालाई नेपालको सामाजिक–आर्थिक रूपान्तरणमा उपयोग गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ। नेपालमा लगानीका लागि झन्झटमुक्त वातावरण, प्रविधि तथा ज्ञान हस्तान्तरणका सहज अवसर, नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता तथा सुरक्षित र पारदर्शी लगानी प्रणालीको विकास गर्न सके डायस्पोराको यो अपार शक्तिलाई राष्ट्रिय समृद्धिको स्थायी धरोहरमा रूपान्तरण गर्न सकिन्छ।

बाढी र विपद् आउँदा सहयोगका हातहरू बढाउने डायस्पोरालाई संकट टारेपछि बिर्सने प्रवृत्ति अब अन्त्य हुनुपर्छ। आज राहत र उद्धारका लागि परिचालित भएको यो ग्लोबल नेटवर्कलाई भोलिका दिनमा देशको उत्पादन, लगानी, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, आधुनिक प्रविधि भित्र्याउने, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र जलवायु न्याय (Climate Justice) का क्षेत्रमा दीर्घकालीन रूपमा परिचालन गर्नुपर्छ। यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र विश्वभर फैलिएको डायस्पोराबीच आपसी विश्वासमा आधारित एक भरपर्दो साझेदारीको खाँचो छ।
नेपालले पछिल्ला वर्षहरूमा बाढी, पहिरो, हिमताल विस्फोट, अतिवृष्टि तथा अन्य जलवायुजन्य विपद्को गम्भीर असर भोगिरहेको छ। त्यसैले अब हाम्रो प्रयास विपद्पछि राहत, उद्धार र तत्काल सहयोगमा मात्र सीमित हुनुहुँदैन। जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जोखिम र जलवायु न्यायको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अझ गम्भीर, स्पष्ट र सशक्त रूपमा उठाउन आवश्यक छ। यस अभियानमा विश्वभर फैलिएको नेपाली डायस्पोराको भूमिका अत्यन्त महत्वपूर्ण छ। डायस्पोरा केवल विपद्का बेला आर्थिक सहयोग जुटाउने समुदाय होइन; उसँग रहेको पूँजी, ज्ञान, सीप, प्रविधि, उद्यमशीलता, अनुसन्धान, अन्तर्राष्ट्रिय सञ्जाल र नीति–निर्माण तहसम्मको पहुँचलाई नेपालको पुनर्निर्माण र जलवायु अनुकूलनमा रणनीतिक रूपमा परिचालन गर्नुपर्छ। डायस्पोराले प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माण, रोजगारी सिर्जना, हरित लगानी र प्रविधि हस्तान्तरणमा साझेदार बन्न सक्छ। साथै, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार र सम्बन्धित सरकारहरूसमक्ष नेपालको जलवायु क्षति तथा न्यायोचित क्षतिपूर्ति र जलवायु वित्तको मागलाई सशक्त रूपमा उठाउन पनि डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। त्यसैले अब ‘राहतका लागि सहयोग’बाट ‘पुनर्निर्माण र सुरक्षित नेपालको साझेदारी’तर्फ अघि बढ्दै सरकार, निजी क्षेत्र, नागरिक समाज र नेपाली डायस्पोराबीच संस्थागत सहकार्य आवश्यक छ। हाम्रो लक्ष्य विपद्पछि क्षति पुर्दै जाने मात्र होइन, सुरक्षित, सबल, दिगो र जलवायु–उत्थानशील नेपाल निर्माण गर्नु हुनुपर्छ।

यसपटकको विपद्ले हामीलाई एउटा अकाट्य सत्य सिकाइएको छ—नेपालको शक्ति भूगोलको घेराभित्र मात्र सीमित छैन, नेपाल संसारभर फैलिएको छ।
जहाँ नेपाली छन्, त्यहाँ नेपालको सम्भावना छ।
जहाँ नेपालीको सीप छ, त्यहाँ नेपालको क्षमता छ।
जहाँ नेपालीको पूँजी र पहुँच छ, त्यहाँ नेपालको अवसर छ र, जहाँ मातृभूमिप्रतिको अथाह माया छ, त्यहाँ नेपालसँग जोडिएको एउटा मजबुत हात सधैँ खडा छ।
अबको आवश्यकता भनेको ती छरिएका हजारौँ हातहरूलाई एउटै राष्ट्रिय उद्देश्य र समृद्धिको दिशामा जोड्नु हो। डायस्पोरा नेपालको कुनै बोझ होइन, बरु नेपालको भविष्य निर्माण गर्ने बलियो शक्ति हो। सिमानालाई नेपालीको सम्भावनाको साङ्लो बन्न दिनु हुँदैन। विश्वभर फैलिएको यही ग्लोबल नेपाली शक्तिलाई नेपालको भौगोलिक सामथ्र्यसँग जोड्न सकियो भने—संसारभर छरिएका ऊर्जालाई समेटेर एक साँच्चैको ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ।

लेखक परिचय:
सोम नाथ सापकोटा लामो समयदेखि नेपाली डायस्पोरा, गैरआवासीय नेपाली संघ (NRNA) र पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। हाल उनी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ताका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। उनले यसअघि वेल्सका लागि नेपालका सद्भावना राजदूत, डेनमार्क र माल्टाका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि तथा नेपाल सरकारको तर्फबाट वेल्सका पर्यटन प्रवर्द्धकका रूपमा समेत सेवा पुर्‍याइसकेका छन्। नेपाली संस्कृति, सम्पदा र पर्यटनलाई विश्वमा चिनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको स्रोत र सीपलाई मातृभूमिको विकाससँग जोड्ने अभियानमा उनको निरन्तर सक्रियता रहिआएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार