सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३

मलेसिया रोजगारीको ‘२५ मेनपावर’ विवादमा नयाँ मोड, सूचीकृत कम्पनीलाई नै नाम हटाउन आग्रह

सोमबार, भाद्र ८ २०८३

काठमाडौं,मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा सीमित नेपाली मेनपावरलाई मात्रै समेटिएको विषयमा चर्किएको विवाद नयाँ मोडमा पुगेको छ । एफडब्लुसिएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत नेपालका २५ मेनपावर कम्पनीले नै प्रणालीबाट आफ्नो नाम फिर्ता लिने भएका छन् ।
युवा,श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको छलफलमा तत्काल एफडब्लुसिएमएसबाट २५ मेनपावरको नाम हटाउन आग्रह गर्ने सहमति भएको जनाईएको छ । सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोडेर नेपाली श्रमिक पठाउने व्यवस्था आफूहरूकै हितमा समेत नरहेको निष्कर्ष निकाल्दै सूचीकृत मेनपावरहरू सामूहिक रूपमा नाम फिर्ता लिन सहमत भएको बताईएको छ ।
मलेसियाले नेपालमा इजाजत लिएर सञ्चालनमा रहेका करिब ११ सय मेनपावर कम्पनीमध्ये २५ वटा कम्पनीलाई मात्र एफडब्लुसिएमएसमा सूचीकृत गरेपछि वैदेशिक रोजगार क्षेत्रमा सिण्डिकेटको आशंका बढेको थियो । एउटै गन्तव्यमा श्रमिक पठाउने अवसर सीमित कम्पनीमा केन्द्रित गरिएपछि अन्य मेनपावर व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए ।

विवाद बढ्दै गएपछि एफडब्लुसिएमएसमा सूचीकृत २५ म्यानपावरले समेत आफूहरूलाई मात्र सीमित गरेर मलेसिया रोजगारी सञ्चालन गर्ने व्यवस्था दीर्घकालीन रूपमा उचित नहुने निष्कर्ष निकालेका हुन् । त्यसकै आधारमा उनीहरूले प्रणालीबाट आफ्नो नाम फिर्ता लिने सहमति गरेका हुन् ।

मन्त्रालयका अनुसार २५ म्यानपावरले आफूहरू कुनै पनि प्रकारको सिण्डिकेटमा संलग्न नरहेको प्रतिबद्धता जनाउनुपर्नेछ । त्यसका साथै श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी संघ, नेपाली दूतावास र एफडब्लुसिएमएससँग सम्बन्धित निकायसमक्ष समेत आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुपर्ने व्यवस्था गरिएको छ ।

सिण्डिकेटमा संलग्न भएको पाइएमा सम्बन्धित म्यानपावरमाथि कारबाही अघि बढाउने तयारीसमेत मन्त्रालयले गरेको छ । त्यस्तो अवस्थामा वैदेशिक रोजगार व्यवसायी संघबाट कारबाही, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (एलटी) रोक्का तथा आवश्यक छानबिनको दायरामा ल्याउने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मलेसिया रोजगारीमा २५ म्यानपावरलाई मात्र छनोट गरी कामदार पठाउने व्यवस्था कायम रहेमा यसले वैदेशिक रोजगार व्यवसायमा स्वस्थ प्रतिस्पर्धा कमजोर बनाउने र रोजगारीको पहुँच केही कम्पनीमा मात्र सीमित हुने व्यवसायीहरूको भनाइ छ । उनीहरूले मलेसिया रोजगारीमा सबै इजाजतप्राप्त म्यानपावरलाई समान अवसर उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले समेत २५ म्यानपावर छनोटको आधार र मापदण्ड सार्वजनिक गर्न माग गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारिसकेको छ । संघले मलेसिया रोजगारीजस्तो ठूलो श्रम बजारमा केही कम्पनीलाई मात्र अवसर दिने व्यवस्था पारदर्शी र प्रतिस्पर्धात्मक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

यसअघि मलेसियाले एफडब्लुसिएमएसमार्फत नेपालबाट श्रमिक भर्ना गर्ने प्रक्रियामा २५ मेनपावरलाई सूचीकृत गरेपछि नेपाल सरकारसमेत त्यसप्रति असन्तुष्ट देखिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतसँगको छलफलमा श्रम आप्रवासनसँग सम्बन्धित विषय एकतर्फी निर्णयबाट नभई नेपाल र मलेसियाबीचको द्विपक्षीय छलफल र सहमतिबाट टुंग्याउनुपर्ने धारणा राखेका थिए ।

सरकारले मलेसिया रोजगारीको प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जोड दिँदै आएको छ । करिब १२ सय म्यानपावरमध्ये २५ कम्पनीलाई मात्र पहुँच दिने व्यवस्थामाथि प्रश्न उठिरहेका बेला सूचीकृत २५ कम्पनीले नै नाम फिर्ता लिने सहमतिले विवादलाई नयाँ दिशातर्फ मोडेको छ ।

अब एफडब्लुसिएमएसमा २५ मेनपावरलाई मात्र केन्द्रमा राखेर अघि बढाइएको प्रक्रिया कसरी पुनर्संरचना हुन्छ र नेपालबाट मलेसिया जाने श्रमिकको भर्ना प्रक्रिया कस्तो बन्नेछ भन्ने विषय निर्णायक बन्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार