काठमाडौं,मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई सीमित मेनपावरमार्फत अघि बढाउन खोजिएको भनिएको विषयमा सार्वजनिक भएको २५ वटा मेनपावरको सूचीमा आफ्नो नाम समावेश भएपछि डीडी ह्युमन रिसोर्स प्रालिले त्यसप्रति स्पष्टिकरण दिएको छ।
मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) अन्तर्गत मलेसिया जाने नेपाली श्रमिकका लागि सार्वजनिक गरिएको २५ वटा मेनपावरको सूचीमा आफ्नो संस्थाको नाम समावेश भए पनि त्यसमा आफ्नो कुनै संलग्नता नरहेको कम्पनीले जनाएको छ।
कम्पनीका सञ्चालक भीमसेन सापकोटाले वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाउँदै आफ्नो मेनपावर सिण्डिकेटको पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले आफ्नो संस्थाको नामसमेत सूचीमा उल्लेख भएको नामसँग नमिलेको बताएका छन्।
सापकोटाका अनुसार सूचीमा नाम समावेश हुँदैमा आफ्नो कम्पनी कुनै छनोट प्रक्रिया, सहमति वा सिण्डिकेटमा सहभागी भएको अर्थ नलाग्ने बताएका छन्। उनले आफ्नो संस्था कुनै व्यक्ति वा संस्थासँग मिलेमतो गरी प्रतिस्पर्धा सीमित गर्ने, सिण्डिकेट सञ्चालन गर्ने वा गैरकानुनी व्यावसायिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्।
‘हामी प्रचलित कानुन, नियम तथा सम्बन्धित निकायले तोकेका मापदण्डको पूर्ण पालना गर्दै व्यावसायिक कार्य सञ्चालन गर्दै आएका छौं,’ सापकोटाले भनेका छन्, ‘कुनै व्यक्ति वा संस्थासँग मिलेमतो गरी प्रतिस्पर्धा सीमित गर्ने वा सिण्डिकेट सञ्चालन गर्ने कार्यमा हाम्रो कुनै संलग्नता छैन।’
उनले आफू सिण्डिकेटको समर्थनमा नरहेको मात्र नभई आफ्नो मेनपावरले मलेसियाको रोजगारीसम्बन्धी कामसमेत नगर्ने स्पष्ट पारेका छन्। त्यसैले एफडब्लुसीएमएस अन्तर्गत मलेसिया जाने नेपाली श्रमिकका लागि सीमित मेनपावर छनोट गर्ने भनिएको प्रक्रियासँग आफ्नो संस्थालाई जोड्नु गलत हुने उनको भनाइ छ।
सापकोटाले मलेसियाको एफडब्लुसीएमएसको पोर्टलमा ‘डीडी ह्युमन रिसोर्स ग्रुप प्रालि’ समावेश भएको विषयमा समेत आफ्नो संस्थाको ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो कम्पनीको नाम त्यसरी समावेश भएको विषयमा आवश्यक स्पष्टता गराउनसमेत उनले आग्रह गरेका छन्।
मलेसिया रोजगारीमा सीमित मेनपावरलाई मात्र सहभागी गराउने गरी सिण्डिकेट खडा गर्न खोजिएको आरोपबीच सार्वजनिक भएको २५ मेनपावरको सूचीलाई लिएर वैदेशिक रोजगार व्यवसायी क्षेत्रमा विवाद चर्किएको छ। सूचीमा नाम समावेश भएका केही मेनपावरले आफूहरूको सहमति वा सहभागिताबिनै नाम राखिएको भन्दै स्पष्टिकरण दिन थालेका छन्।
यसै क्रममा डीडी ह्युमन रिसोर्सले पनि आफ्नो संस्थाको नाम सूचीमा पर्दैमा आफू कुनै प्रकारको सिण्डिकेट, मिलेमतो वा गैरकानुनी व्यावसायिक गतिविधिमा संलग्न भएको नबुझ्न आग्रह गरेको छ।
सापकोटाले आफ्नो संस्था मलेसियाको रोजगारीसम्बन्धी काममै संलग्न नरहेको अवस्थामा एफडब्लुसीएमएसअन्तर्गत सीमित मेनपावर छनोट गर्ने प्रक्रियासँग आफ्नो कम्पनीलाई जोडेर प्रचार गर्नु तथ्यहीन हुने बताएका छन्।
मलेसियाको रोजगारीमा २५ मेनपावरको सूची सार्वजनिक भएपछि त्यसको वैधानिकता, छनोट प्रक्रिया र सम्बन्धित मेनपावरको वास्तविक संलग्नताबारे प्रश्न उठिरहेका बेला डीडी ह्युमन रिसोर्सको यो स्पष्टिकरण आएको हो।