काठमाडौं,गायक तथा प्रस्तोता राजेश बर्देवा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’को ११औँ संस्करणमा सम्मानित भएका छन्।
कला, संगीत तथा मनोरञ्जन क्षेत्रमा लामो समयदेखि सक्रिय बर्देवाले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई समारोहमा सम्मान गरिएको हो। बर्देवाले हालसम्म दर्जनौँ सांगीतिक एल्बम सार्वजनिक गरिसकेका छन्। गायनसँगै प्रस्तोताका रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका उनी विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत निरन्तर सक्रिय छन्।
राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ती नाडकर तथा वरिष्ठ गायक आनन्द कार्कीको समेत आतिथ्यता रहेको थियो। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।
समारोहमा कला, सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस्ता प्रतियोगिताले नेपाली महिलालाई आफ्नो प्रतिभा प्रदर्शनसँगै नयाँ पहिचान र सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरिएको थियो।
प्रतियोगितामा मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित भए। भ्युयर च्वाइस अवार्ड सिर्जना घिमिरेले जितिन्।
यसैगरी प्रतियोगिताको ‘मिस ब्यूटिफुल नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनेकी छन्। आयोजक दक्ष इन्टरनेशनल प्रालिका अध्यक्ष टेकराज पाण्डेका अनुसार प्रतियोगिताले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ।
समारोहमा विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, सौन्दर्यकर्मी तथा अतिथिहरूको उपस्थिति रहेको थियो। सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएका बर्देवाको सम्मानलाई नेपाली कला क्षेत्रमा उनको सक्रियता र योगदानको सम्मानका रूपमा हेरिएको छ।