काठमाडौं,मलेसिया रोजगारीका लागि २५ नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएको विषयमा आफ्नो नाम र आफू सम्बद्ध इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई कथित ‘सिण्डिकेट’सँग जोडेर समाचार तथा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरिएको भन्दै कम्पनीका सञ्चालक वाई.बी. राईले आपत्ति जनाएका छन्।
राईले विज्ञप्तिमार्फत मलेसियाको Foreign Workers Centralized Management System (FWCMS) अन्तर्गत ‘Registered Recruitment Agencies’ शीर्षकमा सार्वजनिक गरिएको २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची तयार गर्ने वा त्यसमा नाम समावेश गर्ने प्रक्रियामा आफू र आफ्नो कम्पनीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।
आफू तथा इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट उक्त सूची तयार गर्ने वा कम्पनीको नाम समावेश गर्ने प्रक्रियाबारे पूर्णतः अनभिज्ञ रहेको दाबी गर्दै राईले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा कम्पनीलाई कथित सिण्डिकेटसँग जोडिनु दुःखद र खेदजनक भएको बताएका छन्।
उनका अनुसार इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले नेपाल सरकारको नीति, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय श्रम तथा आप्रवासनका स्थापित मापदण्डअनुसार स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रिया (Ethical Recruitment) लाई आधार बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ। नेपाली श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित वैदेशिक रोजगारीमा पठाउनु कम्पनीको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
राईले आफ्नो कम्पनी अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM)द्वारा सञ्चालित International Recruitment Integrity System (IRIS) अन्तर्गत प्रमाणित नेपालको पहिलो म्यानपावर कम्पनी भएको दाबीसमेत गरेका छन्।
विगत करिब दुई दशकदेखि मलेसियालगायत विभिन्न मुलुकमा नेपाली श्रमिक पठाउँदै आएको कम्पनीले हालसम्म २० हजारभन्दा बढी नेपाली श्रमिकलाई स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रियामार्फत निःशुल्क वैदेशिक रोजगारीमा पठाइसकेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले सन् २०१६ देखि न्यायोचित तथा नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा अवलम्बन गर्दै आएको र सन् २०१८ देखि रोजगारदाताले श्रम आप्रवासनका क्रममा लाग्ने खर्च व्यहोर्ने सिद्धान्तमा आधारित श्रमिकमैत्री भर्ना प्रक्रिया अपनाउँदै आएको राईले बताएका छन्।
कुनै ठोस प्रमाण र सत्यतथ्यबिना आफ्नो नामलाई कथित ‘सिण्डिकेट’सँग जोडिएको भन्दै राईले यस्ता आरोप तथा भ्रामक सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टको करिब दुई दशक लामो व्यावसायिक साखमा समेत गम्भीर आघात पुगेको बताएका छन्।
यस विषयमा आवश्यक तथ्य तथा प्रमाण संकलन गरी प्रचलित कानुनबमोजिम उपलब्ध कानुनी उपचारका विषयमा समेत परामर्श र छलफल भइरहेको उनले जानकारी दिएका छन्। यद्यपि, आफ्नो पहिलो आग्रह सत्यतथ्यका आधारमा मात्र सूचना सम्प्रेषण गर्नुपर्ने रहेको राईले बताएका छन्।
उनले सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सरोकारवालालाई अपुष्ट, अधुरो वा एकपक्षीय सूचनाका आधारमा कम्पनी तथा कम्पनीसँग सम्बद्ध व्यक्तिको नाम जोडेर समाचार, टिप्पणी वा धारणा सार्वजनिक नगर्न आग्रह गरेका छन्। कुनै जिज्ञासा वा अन्योल भएमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आधिकारिक तथ्य बुझ्नसमेत उनले अनुरोध गरेका छन्।
इन्टरनेशनल मेनपावर रिक्रुटमेन्टले आगामी दिनमा पनि नेपाली श्रमिकको हित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, शून्य लागतको सिद्धान्त, स्वच्छ एवं नैतिक भर्ना प्रक्रिया तथा निष्पक्ष र पारदर्शी वैदेशिक रोजगार व्यवसायप्रतिको प्रतिबद्धता कायम राख्ने राईले बताएका छन्।