काठमाडौं,काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबमा भदौ ५ गतेदेखि सुरु भएको तीनदिने लोकदोहोरी मेलाको तेस्रो दिन आईतवार पनि विभिन्न चर्चित कलाकारले विशेष प्रस्तुति दिने भएका छन् । नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मेलाले दर्शकको आकर्षण बढाएको क्लबले जनाएको छ ।
टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा सुरु गरिएको मेलाको पहिलो र दोस्रो दिन चर्चित लोकदोहोरी कलाकार तथा विभिन्न सांगीतिक समूहले प्रस्तुति दिएका थिए । आज अन्तिम दिन पनि चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने भएकाले दर्शकको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।
मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपुत, दुर्गेश थापा, विश्व दोङ, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, बसन्त थापालगायतका कलाकारले विभिन्न दिनमा प्रस्तुति दिइरहेका छन् ।
त्यस्तै, सिन्धुली कलाघर बाजा समूहको विशेष प्रस्तुति तथा टप दरबार रोधीमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको प्रत्यक्ष प्रस्तुति पनि मेलाको आकर्षण बनेको छ ।
क्लबका सञ्चालक अशोक गिरीले टप दरबार रोधीलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोककला, संस्कृति र संगीतलाई पर्यटनसँग जोड्ने गन्तव्यका रूपमा विकास गर्न खोजिएको बताए ।
‘हामीले उत्कृष्ट दोहोरी सञ्चालन गर्नुको मुख्य उद्देश्य मनोरञ्जन मात्र होइन, नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्नु पनि हो,’ गिरीले भने, ‘काठमाडौं आउने स्वदेशी तथा विदेशी पर्यटकले नेपाली लोकसंगीत र मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्ने वातावरण बनाउने हाम्रो प्रयास हो ।’
विगत २० वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय गिरीले सानो लगानीबाट सुरु गरेको व्यावसायिक यात्रा अहिले करिब ६ करोड रुपैयाँ लगानीको टप दरबार रोधी क्लब सञ्चालन गर्ने अवस्थामा पुगेको हो । क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ भने १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
क्लबमा नेपाली मौलिक परिकार, स्तरीय सेवा, आधुनिक प्रविधि, प्रत्यक्ष सांगीतिक प्रस्तुति र पारिवारिक वातावरणलाई प्राथमिकता दिइएको छ । रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारिवारिक बनाउन आफूहरू प्रतिबद्ध रहेको गिरीले बताए ।
आजको कार्यक्रम साँझदेखि सुरु हुने र राति अबेरसम्म सञ्चालन हुने क्लबले जनाएको छ । अन्तिम दिन पनि चर्चित कलाकारका प्रस्तुति, लोकबाजा तथा प्रत्यक्ष दोहोरीले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
टप दरबार रोधीले आगामी दिनमा पनि नियमित सांगीतिक कार्यक्रममार्फत स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई मञ्च उपलब्ध गराउने जनाएको छ । नेपाली लोकसंगीत, मौलिक संस्कृति र पर्यटनलाई एउटै गन्तव्यमा जोड्ने उद्देश्यसहित क्लबलाई काठमाडौंको नयाँ सांस्कृतिक तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने सञ्चालक गिरीको लक्ष्य छ ।




