मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३

एनआरएनए र नेपाल चेम्बरबीच सहकार्य विस्तार गर्ने समझदारी, एनआरएन लगानीका लागि कानुनी तथा प्रक्रियागत अवरोध हटाउनुपर्नेमा जोड

आइतबार, भाद्र ७ २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरे।
समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ।
एमओयूअन्तर्गत एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गर्नेछन्। त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।
त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गरिनेछ। क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन्।
व्यवसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्नेछन्। आर्थिक, व्यापार तथा लगानीसम्बन्धी तथ्यांक, बजार सूचना र अनुसन्धान सामग्री आदानप्रदान गरी लगानीकर्तालाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था पनि समझदारीमा समेटिएको छ।
एनसीसीले स्वदेशी व्यवसायीको सहभागिताका लागि आवश्यक व्यावसायिक मञ्च उपलब्ध गराउने, सरकारी निकायसँग समन्वय तथा सहजीकरण गर्ने र नीतिगत संवाद एवं पैरवीमा सहयोग गर्नेछ। साथै एनसीसीले एनआरएनए, सरकारी निकाय तथा अन्य सम्बन्धित सरोकारवालासँग आर्थिक पैरवी र नीतिगत संलग्नता बढाउँदै व्यवसायमैत्री नीति निर्माण, लगानी सहजीकरण, व्यापार विस्तार र नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ।
एनआरएनएले विश्वभर रहेका गैरआवासीय नेपाली लगानीकर्ता तथा दक्ष पेशाकर्मीलाई परिचालन गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल तथा साझेदारी विस्तारमा सहजीकरण गर्नेछ। साथै एनआरएनएबाट अघि बढाइएका परियोजनामा चेम्बरका सदस्यलाई लगानीका लागि प्रोत्साहन तथा सहजीकरण गरिनेछ।
समझदारीअन्तर्गतका संयुक्त परियोजनामा हुने खर्च दुवै पक्षको आपसी सहमतिअनुसार व्यवस्थापन गरिनेछ। आवश्यकताअनुसार संयुक्त परियोजनाका लागि बाह्य स्रोतबाट समेत वित्तीय सहयोग जुटाउन सकिने व्यवस्था गरिएको छ।
एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म कायम रहनेछ र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। कुनै पनि पक्षले ३० दिनको लिखित सूचना दिएर समझदारी अन्त्य गर्न सक्नेछ। दुवै पक्षको लिखित सहमतिमा आवश्यकताअनुसार एमओयू संशोधन गर्न सकिने तथा उत्पन्न हुन सक्ने विवाद आपसी छलफल र समझदारीबाट समाधान गर्ने व्यवस्था गरिएको छ। यो समझदारी निजी क्षेत्र, गैरआवासीय नेपाली समुदाय तथा लगानीकर्ताबीच सहकार्य विस्तार गर्दै नेपालमा पूँजी, प्रविधि, ज्ञान र व्यावसायिक सञ्जाल भित्र्याउन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू लोकप्रसाद दाहाल, रोजिना प्रधान राई, दिनेश पोखरेल, र रबिन बज्राचार्य, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, महिला संयोजक रश्मी थापा, दोस्रो पुस्ता संयोजक (मिस नेपाल २०२६) दीपमाला ढकाल, सल्लाहकारद्वय यास्मिन सइद बेगम र अर्जुनकुमार श्रेष्ठ, एनआरएनए एनसीसी दक्षिण कोरियाका उपाध्यक्ष निरञ्जन भण्डारी, आईसीसी सदस्य कीर्ति महतो, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको सहभागिता थियो।
गैरआवासीय नेपालीको सीप, पूँजी र दोस्रो पुस्तालाई नेपालसँग जोड्न प्राथमिकता : एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले एनआरएनए केवल विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष डा. शर्माले एनआरएनएको वर्तमान नेतृत्वले संस्थागत सुधार, विदेशमा रहेका नेपालीका समस्या समाधान, लगानी प्रवर्द्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने विषयमा विशेष ध्यान दिने बताए। उनका अनुसार विश्वका करिब ११० देशमा गैरआवासीय नेपालीहरूको सञ्जाल विस्तार भइसकेको छ। विभिन्न देशमा रहेका नेपालीको अनुभव, व्यावसायिक क्षमता र आर्थिक स्रोतलाई नेपालको उत्पादन, उद्यमशीलता तथा विकास निर्माणसँग जोड्न सकिए देशले ठूलो लाभ लिन सक्ने उनको भनाइ थियो।
“विदेशमा बसेका नेपालीसँग केवल पैसा मात्र छैन, उनीहरूसँग सीप, प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक सम्पर्क पनि छ,” उनले बताए, “अब यी सबै क्षमतालाई नेपालमा कसरी उपयोग गर्ने भन्ने विषयमा व्यावहारिक ढंगले काम गर्नुपर्छ।” उनले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहँदा अझै पनि विभिन्न कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। लगानीको वातावरणलाई सरल, सुरक्षित र विश्वसनीय बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए। अध्यक्षले एनआरएनएले विदेशमा रहेका नेपाली व्यवसायीलाई एकआपसमा जोड्दै नेपालमा लगानीका सम्भावित क्षेत्र पहिचान गर्ने कामलाई पनि अघि बढाउने जानकारी दिए। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग र नवीन व्यवसायका क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उनले बताए।
उनले विदेशमा बस्ने नेपालीका व्यक्तिगत तथा पारिवारिक समस्या समाधानमा पनि संघले ध्यान दिनुपर्ने बताए। “विदेशमा रहेका नेपालीले विभिन्न समस्या भोगिरहेका हुन्छन्। उनीहरूको सम्पत्ति, लगानी, पारिवारिक व्यवस्थापन तथा अन्य अधिकारसँग सम्बन्धित विषयमा सहयोग र समन्वय आवश्यक छ,” उनले उल्लेख गरे। नेपालमा फर्किएर व्यवसाय गर्न चाहने गैरआवासीय नेपालीलाई उचित वातावरण र सहजीकरण उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए। विदेशमा आर्जन गरेको अनुभव र पूँजी नेपालमा प्रयोग गर्ने वातावरण बनेमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। अध्यक्षले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग भावनात्मक र व्यवहारिक रूपमा जोड्नु अर्को महत्वपूर्ण चुनौती रहेको बताए। विदेशमै जन्मिएका वा हुर्किएका नेपाली मूलका नयाँ पुस्तालाई नेपालको भाषा, संस्कृति, इतिहास, पर्यटन र आर्थिक सम्भावनाबारे जानकारी गराउन विशेष कार्यक्रम आवश्यक रहेको उनले बताए। उनले दोस्रो पुस्तालाई नेपाल भ्रमण, युवा सम्मेलन, सांस्कृतिक कार्यक्रम तथा उद्यमशीलता र लगानीसँग सम्बन्धित गतिविधिमार्फत नेपालसँग जोड्न सकिने धारणा राखे।
“भोलिको विश्वव्यापी नेपाली समुदायको नेतृत्व दोस्रो पुस्ताले नै गर्नेछ,” उनले बताए, “त्यसैले उनीहरूलाई नेपालसँग जोड्ने दीर्घकालीन कार्यक्रम आवश्यक छ।” अध्यक्षले एनआरएनएको अभियानलाई केवल औपचारिक कार्यक्रम र सम्मेलनमा सीमित नराखी परिणाममुखी बनाउनुपर्ने बताए। विदेशमा रहेका नेपालीका समस्या समाधान, लगानी भित्र्याउने, ज्ञान र प्रविधि हस्तान्तरण गर्ने तथा नेपालसँग विश्वव्यापी नेपाली समुदायको सम्बन्ध बलियो बनाउने विषयलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए। उनले विश्वभर रहेका नेपाली व्यवसायी, पेशाकर्मी, विज्ञ तथा युवा पुस्ताबीच बलियो सञ्जाल निर्माण गरेर नयाँ अवसर सिर्जना गर्न सकिने धारणा राखे।
“हामीसँग विश्वभर फैलिएको ठूलो नेपाली सञ्जाल छ। अब त्यो सञ्जाललाई नेपालको विकास र समृद्धिसँग कसरी प्रभावकारी रूपमा जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,” अध्यक्षले बताए। उनले गैरआवासीय नेपालीलाई नेपालको विकास प्रक्रियाको महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने र सरकारले समेत लगानी तथा नीतिगत सहजीकरणमा सकारात्मक भूमिका खेल्नुपर्ने बताए। एनआरएनएको नयाँ नेतृत्वले संस्थालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै विश्वभरका नेपालीलाई एउटै साझा उद्देश्यमा जोड्ने लक्ष्य लिएको पनि उनले जानकारी दिए।
सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राईले एनआरएनए डेभलपमेन्ट फन्डका विषयमा धारणा राख्दै गैरआवासीय नेपालीको पूँजीलाई नेपालको विकास र समृद्धिसँग जोड्न फन्डले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उपाध्यक्ष लोक दाहाल, दिनेश पोखरेल, उपाध्यक्ष रबिन बज्राचार्य लगायतले विश्व बजारमा नेपाली उत्पादनको प्रवर्द्धन तथा विस्तारका लागि नेपाल चेम्बर र एनआरएनएबीचको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आर्थिक समृद्धिको स्पष्ट गन्तव्यतर्फ अघि बढाउन स्वदेशी तथा गैरआवासीय नेपालीको पूँजी, ज्ञान, सीप र विश्वव्यापी सञ्जाललाई एकीकृत गर्नुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघबीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि राम्रो नीति मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। उनले नेपालमा नीति निर्माणका क्रममा निजी क्षेत्रसँग छलफल हुने र बजेट तथा आर्थिक नीतिहरू स्वागतयोग्य देखिए पनि कार्यान्वयनका क्रममा विभिन्न कानुनी तथा प्रक्रियागत जटिलता देखिने गरेको उल्लेख गरे। “जहाँ नेपाली, त्यहाँ नेपालसँग आर्थिक सम्बन्ध” भन्ने भावनाका साथ विश्वभर नेपाली उत्पादन, सेवा, पर्यटन तथा लगानीका अवसर प्रवर्द्धन गर्नुपर्ने उनको धारणा थियो।
“नीति राम्रो हुनु मात्र पर्याप्त हुँदैन, सरकारको नियत र कार्यान्वयन पक्ष पनि उत्तिकै प्रभावकारी हुनुपर्छ,” उनले बताए, “कानुन एउटा दिशामा र नियमावली अर्को दिशामा जाने अवस्था अन्त्य हुनुपर्छ। लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्छ।” अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण रूपमा विश्वस्त हुन नसक्ने बताए। उनले लगानी प्रवर्द्धनका लागि राजनीतिक स्थिरता, कानुनी स्पष्टता, लगानी सुरक्षा र सहज व्यावसायिक वातावरण निर्माणमा सरकार तथा निजी क्षेत्रको संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए। नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र व्यावसायिक अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने बताए। उनले नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघबीच भएको समझदारीले गैरआवासीय नेपालीलाई नेपालको विश्वसनीय आर्थिक साझेदार तथा लगानीकर्ताका रूपमा आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “हाम्रो साझा उद्देश्य नेपाललाई समृद्धिको यात्रामा अघि बढाउनु हो,” उनले बताए, “विश्वभर रहेका नेपालीको पूँजी, ज्ञान र सञ्जाललाई समृद्ध नेपालको आधारका रूपमा प्रयोग गर्नुपर्छ।”
अग्रवालले सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग, व्यापार तथा अन्य सम्भावनायुक्त क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने बताए। विदेशमा रहेका नेपाली तथा नेपाली मूलका व्यवसायी, विज्ञ र पेशाकर्मीको विश्वव्यापी सञ्जाललाई नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, पहिचान निर्माण र निर्यात प्रवर्द्धनसँग जोड्नुपर्नेमा उनले जोड दिए। उनले नेपालमा लगानीको अवसर पहिचान गरी विश्वभर रहेका नेपाली व्यवसायी र पेशाकर्मीलाई नेपालसँग जोड्ने अवधारणालाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताए।
युवा महिला उद्यमी तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि नेपालको आर्थिक विकास र उद्यमशीलतासँग जोड्नु आवश्यक रहेको अध्यक्ष अग्रवालले बताए। “आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले बताए, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ।”
नेपाल चेम्बरको स्थापना र विकासमा विभिन्न व्यावसायिक व्यक्तित्व तथा मार्गदर्शकहरूको योगदान रहेको उल्लेख गर्दै उनले विश्वभर फैलिएको नेपाली समुदायलाई एकीकृत गर्दै नयाँ आर्थिक अध्याय सुरु गर्नुपर्ने बताए। अध्यक्ष अग्रवालले नेपाल चेम्बर र गैरआवासीय नेपाली संघबीचको सहकार्यले नेपालमा लगानी भित्र्याउने, व्यापार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक रूपान्तरणलाई गति दिने विश्वास व्यक्त गरे। उनले स्वदेशी तथा गैरआवासीय नेपालीबीचको साझेदारीलाई बलियो बनाउँदै नेपालको विकास यात्रामा सबैलाई सहभागी गराउनुपर्नेमा जोड दिए। “एक पटकको नेपाली, सधैंको नेपाली र समृद्ध नेपालको यात्रामा हामी सबै सँगै अघि बन्नुपर्छ,” अध्यक्ष अग्रवालले बताए।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्न सरकारले कानुनी तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने बताएका छन्। उनले गैरआवासीय नेपालीले आफ्नो मातृभूमिमा लगानी गर्ने चाहना राखे पनि विभिन्न कानुनी प्रावधान, कागजी प्रक्रिया र प्रशासनिक झन्झटका कारण लगानीको वातावरण अपेक्षाअनुसार सहज बन्न नसकेको उल्लेख गरे। नेपालको विकास र आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको पुँजी, ज्ञान, सीप र अनुभव महत्वपूर्ण हुने भन्दै उनले उनीहरूलाई आकर्षित गर्न स्पष्ट, स्थिर र लगानीमैत्री नीति आवश्यक रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार