काठमाडौँ । नेपालको राजनीतिमा राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा बोक्ने राजावादी समूहभित्र खलबल मच्चिएको छ। पटक–पटकको फुट र एकताको शृङ्खला पार गर्दै आएका यी शक्तिहरू अहिले आएर सत्ताको भागबण्डा र नेतृत्वको अहङ्कारका कारण झन् विभाजित बनेका हुन् ।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह र राप्रपाबाटै बाहिरिएका नेता धवलशमशेर राणा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको सम्बन्ध विच्छेदले राजावादी आन्दोलनमा नयाँ बहस सिर्जना गरेको छ।
अहिलेको विवादको एउटा मुख्य केन्द्र बागमती प्रदेश बनेको छ। राप्रपाको केन्द्रीय नेतृत्वले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्ने नीति लिए पनि बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले त्यसलाई चुनौती दिए। उनले पार्टीको निर्देशन विपरीत एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएपछि राप्रपाभित्र अनुशासनको विषयलाई लिएर बबण्डर सुरु भयो। अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने र पार्टीबाट निलम्बन गर्ने निर्णय त गराए, तर यो निर्णय प्रक्रिया सहज रहेन।
कारबाहीको निर्णयका लागि बसेको कार्यसम्पादन समितिको बैठकमा पूर्वअध्यक्ष कमल थापा र लिङ्देनबीच निकैबेर भनाभन भयो। थापाले नेतृत्वमा ‘दोहोरो मापदण्ड’ रहेको भन्दै आक्रामक ढङ्गले प्रश्न उठाए। विगतमा लिङ्देन आफैँ सङ्घीय सरकारमा सहभागी भएको र अन्य प्रदेशमा पद लिएको उदाहरण दिँदै अहिले उद्धव थापालाई मात्र कारबाही गर्नु न्यायसङ्गत नहुने कमल थापाको तर्क थियो। बैठकमा विवाद यतिसम्म बढ्यो कि थापाले एक सदस्यलाई ‘बेकुफ’ भन्दै हप्काए भने अध्यक्ष लिङ्देनसँग पनि उनको चर्काचर्की पर्यो।
राप्रपाको यो विरोधाभासपूर्ण चरित्र अर्को प्रसङ्गमा पनि देखिन्छ। केही समयअघि मात्रै संसद् र सरकारबाटै बाहिरिने तथा सामूहिक राजीनामा दिने घोषणा गरेको पार्टीका सांसदहरू अहिले प्रदेश सरकारको गणित मिलाउन सक्रिय हुनुले उनीहरूको एजेन्डा र व्यवहारबीच ठूलो खाडल रहेको स्पष्ट पार्छ। बागमतीका सभामुख भुवन पाठकले राजीनामा दिए पनि अन्य सांसदले सत्ताको खेलमा रुचि देखाउनुले पदको मोहलाई नै प्राथमिकतामा राखेको कतिपयको भनाइ छ ।
अर्कोतर्फ, राप्रपाभित्रको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बाहिरिएका धवलशमशेर राणा र दुर्गा प्रसाईंबीचको नयाँ शक्ति निर्माणको प्रयास पनि तीन महिनामै तुहिएको छ। गत जेठ २२ गते यी दुईबीच हिन्दु अधिराज्य र राजसंस्थाको मुद्दामा मिलेर जाने ११ बुँदे समझदारी भएको थियो। तर, जब पार्टी निर्माण र अधिकार बाँडफाँडको कुरा आयो, तब उनीहरूबीच नेतृत्वको मोडलमा कुरा मिल्न सकेन।
स्रोतका अनुसार, दुर्गा प्रसाईंले आफूलाई इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीको जस्तो ‘सुप्रिम लिडर’ को रूपमा स्थापित गर्न चाहेका थिए। पार्टीमा अध्यक्ष अरु कोही भए पनि अन्तिम निर्णय र उम्मेदवारको टिकट वितरणमा आफ्नो एकल हस्ताक्षर चल्नुपर्ने प्रसाईंको अडान थियो। तर, धवलशमशेर राणा पक्षले यसलाई लोकतान्त्रिक पद्धति विरोधी ठहर गर्दै अस्वीकार गरिदियो। राणा संस्थागत सङ्गठनको पक्षमा उभिए भने प्रसाईं व्यक्तिवादी र पपुलिस्ट शैलीमा। यो शक्ति सङ्घर्ष यतिसम्म व्यक्तिगत बन्यो कि प्रसाईंले राणामाथि राजसंस्थाको विरोधी भएको र ‘सीआइए’ को प्रभावमा परेको सम्मका गम्भीर आरोप लगाए।
परिणामस्वरूप, धवलशमशेर राणाले शुक्रबार मात्रै निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। त्रिभुज चुनाव चिह्न र ७९ सदस्यीय केन्द्रीय कमिटी बनाएर राणाले आफ्नो बाटो अलग गरेका छन्। यता दुर्गा प्रसाईंले पनि आफ्नै नेतृत्वमा अर्को नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन्। यसले राजावादी मतलाई झन् धेरै टुक्रामा विभाजित गर्ने निश्चित देखिएको छ।
यी दुवै घटनाक्रमले एउटै निष्कर्ष दिन्छ– राजावादी शक्तिहरू एजेन्डामा भन्दा पनि ‘म नै ठूलो’ भन्ने अहङ्कार र सत्ताको दाउपेचमा बढी केन्द्रित छन्। विचार र सिद्धान्त मिल्दा–मिल्दै पनि पद र नेतृत्वको भागबण्डा नमिल्दा नयाँ शक्ति बन्न नपाउँदै फुट्नु र पुराना शक्तिभित्र अनुशासनको नाममा सत्ताकै लागि लडाइँ हुनुले यो आन्दोलनलाई कमजोर बनाउँदै लगेको छ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ कसैले पनि सत्तालाई प्राथमिकता नदिइ एजेण्डालाई बचाउनतिर लाग्नुपर्ने बताए । उनले यसमा इमानदार नहुँदा अहिलेको स्थिति आएको बताए ।
यस्तै जय नेपाल पार्टीका नेताच सगुन लावतीले भने केही खटपट जस्तो देखिएपनि दुर्गा प्रसाईंसँग अझै पनि सहकार्यको पहल भइरहेको बताए ।