बिहिबार, साउन २८ २०८३
काठमाडौँ ,नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन (२०२६–२०२८) का लागि अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारीले आफ्नो नेतृत्वमा चुनावी समूह घोषणा गर्दै पर्यटन क्षेत्रको समग्र सुधार र व्यवसायीको हकहितलाई केन्द्रमा राखेको १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्।
‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको भण्डारी नेतृत्वको समूहले नाट्टालाई थप व्यावसायिक, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने घोषणा गरेको छ। पर्यटनलाई केवल भ्रमण र मनोरञ्जनको क्षेत्रका रूपमा सीमित नराखी रोजगारी, अर्थतन्त्र, कृषि, संस्कृति र नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर राष्ट्रिय अभियानकै रूपमा अघि बढाउने समूहको मुख्य लक्ष्य छ।
शशिज हलिडेजकी सञ्चालकसमेत रहेकी भण्डारीले पर्यटन व्यवसायीका दैनिक व्यावसायिक समस्या समाधानदेखि राज्यको पर्यटन नीति निर्माणसम्म नाट्टाको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। उनका अनुसार पर्यटन क्षेत्रलाई बलियो बनाउन निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक छ।
भण्डारी नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा बरुण मेहता, उपाध्यक्षमा ढाकनाथ काफ्ले, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल र सह–कोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार छन्। सदस्यतर्फ प्रदीपप्रसाद उदय, बिवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी उम्मेदवार बनेका छन्।
भण्डारी समूहले पर्यटन व्यवसायीलाई केवल व्यवसाय सञ्चालन गर्ने वर्गका रूपमा नहेरी नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना, कृषि उत्पादन, संस्कृति संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने नीति अघि सारेको छ। पर्यटनबाट देशको उत्पादन, रोजगारी र विदेशी मुद्रा आर्जन बढाउन निजी क्षेत्रको भूमिका थप सशक्त बनाउनुपर्ने उसको धारणा छ।
हवाई यातायातलाई पर्यटन विकासको महत्वपूर्ण आधार मान्दै समूहले हवाई भाडासम्बन्धी समस्या समाधान, पर्यटन विधेयक शीघ्र पारित गराउन पहल तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र कनेक्टिभिटी विस्तारका लागि सरकारसँग प्रभावकारी पैरवी गर्ने प्रतिबद्धता जनाएको छ। अफ–सिजनमा पर्यटक आगमन बढाउन हवाई भाडामा आवश्यक सहुलियत तथा सब्सिडीको व्यवस्था गर्नसमेत नीतिगत पहल गर्ने योजना छ।
पर्यटक सवारी साधनको व्यवस्थापनलाई व्यवस्थित बनाउन छुट्टै ‘पर्यटक बसपार्क’ स्थापना गर्न पहल गर्ने प्रतिबद्धता पनि समूहले अघि सारेको छ। पर्यटकको सहज आवागमनसँगै व्यवसायी र यातायात क्षेत्रका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न यसले सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सेल्स मिसन, रोड शो तथा B2B कार्यक्रमलाई प्रभावकारी बनाउने र BITM जस्ता प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिने योजना पनि सार्वजनिक गरिएको छ।
नाट्टा सदस्य व्यवसायीले भोग्दै आएका कानुनी तथा वित्तीय समस्या समाधानका लागि छुट्टै ‘Legal & Financial Help Desk’ स्थापना गर्ने प्रतिबद्धता समूहको महत्वपूर्ण एजेन्डा बनेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय हवाई टिकटिङ प्रणालीसँग जोडिएका समस्यालाई समाधान गर्न पनि विशेष पहल गर्ने घोषणा गरिएको छ।
IATA बैंक ग्यारेन्टी राख्ने ट्राभल एजेन्सीलाई अनिवार्य क्यापिङ सुविधा उपलब्ध गराउने, Void Charge, Non-refundable Ticket तथा कमिसनसँग सम्बन्धित समस्याका विषयमा सम्बन्धित निकायसँग समन्वय र नीतिगत पैरवी गर्ने योजना अघि सारिएको छ।
नाट्टालाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको छ। नाट्टा पोडकास्ट तथा संवाद प्रणालीसहित करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको डिजिटल पूर्वाधारलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समूहले जनाएको छ। डिजिटल प्रणालीमार्फत सदस्य सेवा, सूचना प्रवाह, संवाद तथा संस्थागत गतिविधिलाई थप छरितो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
नेपालको पर्यटन प्रवर्द्धनलाई विश्व बजारसम्म विस्तार गर्न विदेशस्थित नेपाली दूतावाससँग संस्थागत सहकार्य गर्ने र प्रभावशाली विदेशी तथा पर्यटन क्षेत्रका प्रतिनिधिलाई नेपाल ल्याएर ‘FAM Trip’ सञ्चालन गर्ने योजना पनि भण्डारी समूहले अघि सारेको छ। त्यसबाट नेपालको पर्यटन गन्तव्य, उत्पादन र सेवाबारे अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रचार–प्रसार बढाउन सकिने समूहको विश्वास छ।
पर्यटकका लागि प्रयोग हुने लक्जरी सवारी साधन आयातमा व्यवसायीले बेहोर्नुपर्ने उच्च लागतलाई सम्बोधन गर्न भन्सार तथा अन्य शुल्क एकमुष्ट नभई पाँच वर्षसम्म किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था गर्न सरकारसँग नीतिगत पैरवी गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
त्यसैगरी आउटबाउन्ड टुर व्यवसायमा देखिएका नीतिगत तथा भुक्तानीसम्बन्धी समस्या समाधान गर्न पहल गर्ने र भुटान, तिब्बत तथा कैलाश मानसरोवर यात्रासँग सम्बन्धित व्यावहारिक कठिनाइलाई सरोकारवाला निकायसँग समन्वय गरी सहजीकरण गर्ने योजना पनि समूहले अघि सारेको छ।
युविका भण्डारी नेतृत्वको समूहले आफ्नो उम्मेदवारीलाई केवल निर्वाचन जित्ने अभियानका रूपमा नभई नाट्टालाई थप बलियो, व्यावसायिक, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गरेको छ।
पर्यटन व्यवसायीका तत्कालीन समस्या समाधानसँगै राज्यको पर्यटन नीति निर्माणमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन विस्तार गर्ने तथा व्यवसायीका अधिकार र हितका विषयमा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता समूहले जनाएको छ।
‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारालाई व्यवहारमै रूपान्तरण गर्न सरकार, निजी क्षेत्र र पर‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारालाई व्यवहारमै रूपान्तरण गर्न सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच बलियो सहकार्य आवश्यक रहेको भण्डारी समूहको निष्कर्ष छ। आगामी निर्वाचनबाट नेतृत्वमा आउने नयाँ कार्यसमितिले यी प्रतिबद्धतालाई व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन गर्छ भन्ने विषय नाट्टा निर्वाचनको महत्वपूर्ण परीक्षण बन्नेछ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij