बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३

नियमित नाट्टा पोडकास्टले पर्यटनमा नयाँ सम्भावनाको ढोका खुल्छ,साउन २९ गते हुने निर्वाचनमा भण्डारी समूहलाई व्यवसायीको विशेष चासो र समर्थन

बुधबार, साउन २७ २०८३

काठमाडौं,नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (NATTA) को आगामी निर्वाचनमा युबिका भण्डारी समूहले अघि सारेका एजेन्डा र अवधारणाप्रति पर्यटन व्यवसायीको चासो बढ्दै गएको छ । आगामी साउन २९ गते हुने निर्वाचनमा भण्डारी समूहलाई व्यवसायीले विशेष चासोका साथ हेरेका छन् भने समूहले अघि सारेका व्यावहारिक र संस्थागत सुधारका प्रस्तावप्रति समर्थनसमेत बढिरहेको बताइएको छ ।

भण्डारी समूहले पर्यटन क्षेत्रको वर्तमान आवश्यकता र बदलिँदो विश्व पर्यटन बजारलाई ध्यानमा राख्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी, आधुनिक र परिणाममुखी बनाउने विभिन्न अवधारणा अघि सारेको छ । त्यसमध्ये नियमित NATTA Podcast लाई पर्यटन क्षेत्रका व्यवसायी, विज्ञ, नीति निर्माता, नयाँ पुस्ता र अन्तर्राष्ट्रिय पर्यटन बजारका सरोकारवालाबीच निरन्तर संवादको माध्यम बनाउने प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पर्यटन क्षेत्रमा प्रभावकारी परिवर्तनका लागि सधैं ठूलो बजेट, भव्य सम्मेलन वा विशाल परियोजना आवश्यक नपर्ने भण्डारी समूहको धारणा छ । सानो तर निरन्तर पहलले पनि दीर्घकालीन परिवर्तनको आधार तयार गर्न सक्ने भएकाले Podcast जस्तो सहज र प्रभावकारी माध्यमलाई संस्थागत रूपमा अघि बढाउन खोजिएको हो ।

भण्डारीले NATTA लाई केवल औपचारिक बैठक र कार्यक्रम गर्ने संस्थाका रूपमा नभई पर्यटन क्षेत्रका समस्या, सम्भावना र नयाँ विचारमाथि निरन्तर संवाद गर्ने गतिशील संस्थाका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।

उनका अनुसार पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अग्रज व्यवसायी तथा विज्ञसँग रहेको अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता छ । “हाम्रा अग्रजसँग पर्यटन क्षेत्रका धेरै महत्वपूर्ण अनुभव छन् । विगतमा के सफल भयो, के असफल भयो र आज फेरि त्यही काम गर्नुपरे के फरक गर्नुपर्थ्यो भन्ने कुरा नयाँ पुस्ताले जान्नुपर्छ,” भण्डारीको भनाइ छ ।

उनले Podcast लाई केवल NATTA का पदाधिकारीको कार्यक्रम नभई सम्पूर्ण पर्यटन क्षेत्रको साझा संवादको मञ्च बनाउने बताएकी छन् । ट्राभल तथा टुर अपरेटर, होटल व्यवसायी, एयरलाइन्स प्रतिनिधि, पर्यटन गाइड, विज्ञ, स्थानीय पर्यटन व्यवसायी, सरकारी अधिकारी, युवा उद्यमी तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिलाई एउटै संवादमा जोड्न सके त्यसबाट नयाँ सोच र सहकार्यको वातावरण बन्ने उनको विश्वास छ ।

विश्व पर्यटन तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा नेपालले पनि समयअनुकूल आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने भण्डारीको भनाइ छ । डिजिटल मार्केटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सस्टेनेबल टुरिजम, वेलनेस टुरिजम, अनुभवमा आधारित पर्यटन तथा नयाँ अन्तर्राष्ट्रिय बजारजस्ता विषयमा नियमित बहस आवश्यक रहेको उनी बताउँछिन् ।

“पर्यटनको भविष्य नयाँ सोच र नयाँ पुस्तासँग जोडिएको छ । युवासँग प्रविधि र नयाँ बजारबारे फरक दृष्टिकोण छ । उनीहरूको आवाज सुन्ने र निर्णय प्रक्रियामा जोड्ने वातावरण NATTA ले बनाउनुपर्छ,” भण्डारीले भनेकी छन् ।

भण्डारी समूहले Podcast लाई सरकारसँग पर्यटन क्षेत्रको प्रत्यक्ष संवादको माध्यमसमेत बनाउने अवधारणा अघि सारेको छ । व्यवसायीका समस्या, विज्ञका सुझाव र उद्योगको वास्तविक अवस्थालाई छलफलमार्फत व्यवस्थित गर्दै सम्बन्धित मन्त्री, सचिव, नेपाल पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायका प्रतिनिधिलाई Podcast मा आमन्त्रण गरी प्रत्यक्ष संवाद गर्न सकिने समूहको प्रस्ताव छ ।

यसले समस्या पहिचानदेखि उद्योगको छलफल, विज्ञको सुझाव, नीतिगत एजेन्डा र सरकारसँगको संवादसम्मको निरन्तर प्रक्रिया निर्माण गर्न सक्ने विश्वास समूहको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट, पर्यटन बोर्ड, गन्तव्य विज्ञ तथा विभिन्न देशका पर्यटन संघसंस्थाका प्रतिनिधिलाई Podcast मा जोडेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्ने योजना पनि भण्डारी समूहले अघि सारेको छ ।

नेपालको पर्यटन प्रवर्द्धनलाई हिमाल र ट्रेकिङमा मात्र सीमित नगरी गाउँ पर्यटन, संस्कृति, सम्पदा, स्थानीय खानपान, वेलनेस, आध्यात्मिक, साहसिक तथा सामुदायिक पर्यटनका नयाँ कथालाई विश्व बजारसम्म पुर्‍याउनुपर्ने भण्डारीको जोड छ ।

“नेपालसँग बेच्न सकिने गन्तव्य मात्र होइन, सुनाउन सकिने हजारौं कथा छन् । ती कथा विश्व बजारसम्म पुर्‍याउन आधुनिक र प्रभावकारी माध्यमको प्रयोग गर्नुपर्छ,” भण्डारीले भनेकी छन् ।

आगामी साउन २९ गते हुने NATTA निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहले आफ्ना एजेन्डा व्यवसायीसमक्ष प्रस्तुत गरिरहेका छन् । यही क्रममा भण्डारी समूहले प्रविधि, संस्थागत सुधार, युवा सहभागिता, व्यवसायीको आवाज, नीति संवाद र अन्तर्राष्ट्रिय नेटवर्किङलाई प्राथमिकतामा राखेको छ ।

व्यवसायीहरूले पनि निर्वाचनमा नेतृत्व चयन गर्दा केवल पदाधिकारीको व्यक्तिगत लोकप्रियताभन्दा संस्थाले आगामी दिनमा पर्यटन व्यवसायीका समस्या कसरी उठाउँछ, सरकारसँग कसरी प्रभावकारी संवाद गर्छ र बदलिँदो विश्व पर्यटन बजारमा नेपाललाई कसरी प्रतिस्पर्धी बनाउँछ भन्ने विषयलाई प्राथमिकतामा राख्न थालेका छन् ।

यही कारण भण्डारी समूहले अघि सारेका यस्ता नयाँ अवधारणाप्रति व्यवसायीको चासो बढेको बताइएको छ । नियमित NATTA Podcast जस्तो सानो पहललाई संस्थागत निरन्तरता दिन सकिए त्यसले व्यवसायीबीच संवाद विस्तार गर्नुका साथै पर्यटन क्षेत्रको नीति बहस र नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।

भण्डारी समूहको मूल सन्देश भनेको ठूलो घोषणा होइन, निरन्तर काम, खुला संवाद र परिणाममुखी संस्थागत नेतृत्वमार्फत NATTA लाई अझ सक्रिय, आधुनिक र व्यवसायीमैत्री बनाउने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार