काठमाडौं,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वप्रवक्ता, एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव तथा स्टेरिङ कमिटी सदस्य गंगाधर गौतमले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्मालाई खुला पत्र लेख्दै संस्थालाई एकताबद्ध बनाउने प्रतिबद्धताअनुसार तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।
बुधबार सार्वजनिक गरिएको खुला पत्रमा गौतमले सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको पहलमा सम्पन्न एकता प्रक्रियाबाट बनेको नेतृत्वले विगत पाँच महिनामा संस्थालाई थप एकीकृत बनाउनुको सट्टा पुनः विवाद र विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।
उनले २०२५ मे ३ र ४ मा सम्पन्न एकता महाधिवेशन तथा त्यसअघि भएका विभिन्न सहमतिहरूको स्मरण गर्दै संस्थाको बृहत्तर हितका लागि तत्कालीन नेतृत्वले आफ्नो कार्यकाल बाँकी रहँदासमेत त्याग गरेको उल्लेख गरेका छन्। त्यसपछि महेश श्रेष्ठ र डा. बद्री केसी पक्षबीच भएको समझदारीका आधारमा २०२६ मार्च १४ देखि १६ सम्म काठमाडौंमा सम्पन्न ११औँ बृहत् एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि त्यसबेलाका सहमतिहरू हालसम्म कार्यान्वयन नभएको उनको गुनासो छ।
गौतमले अध्यक्ष शर्माको नेतृत्वमा संस्थामा सबै पक्षलाई समेट्ने क्षमता कमजोर देखिएको दाबी गर्दै पदाधिकारी र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा असन्तुष्टि बढ्दै गएको बताएका छन्। उनले अहिलेको कार्यशैलीकै कारण मिलिसकेका एनसीसीहरू पुनः विभाजनको संघारमा पुगेको दाबी गरेका छन्।
खुला पत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, एनआरएनए ऐनको समयानुकूल संशोधन, नेपालमा सामूहिक लगानीको वातावरण निर्माण, श्रम स्वीकृति तथा सुरक्षित वैदेशिक रोजगारीलगायतका मुख्य एजेन्डामा वर्तमान नेतृत्व प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाइएको छ।
उनले परराष्ट्र मन्त्रालयसँग भएको छलफलमा नेतृत्वको प्रस्तुति कमजोर भएको उल्लेख गर्दै सरकारले उठाएका नीतिगत विषयमा प्रभावकारी समन्वय गर्न नेतृत्व असफल भएको टिप्पणी गरेका छन्। साथै, सचिवालयका कर्मचारी र केही पदाधिकारीको औपचारिक भेटघाट तथा तस्बिर खिचाउने गतिविधिले मात्रै संस्थाका मूल समस्या समाधान नहुने पनि उनको भनाइ छ।
गौतमले आगामी अगस्ट १० देखि २५ सम्म हुने युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनअघि विगतका सबै सहमति कार्यान्वयन नभएकाले सबै पक्षको साझा सहभागिता सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएको बताएका छन्। यसलाई उनले वर्तमान नेतृत्वको गम्भीर असफलता र गैरजिम्मेवारीको परिणामका रूपमा व्याख्या गरेका छन्।
खुला पत्रमार्फत उनले अध्यक्ष शर्मासमक्ष तीन प्रमुख मागसमेत अघि सारेका छन्। जसअन्तर्गत सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समिति, संस्थापक अध्यक्षहरू, पूर्वअध्यक्षहरू, स्टेरिङ कमिटी तथा वर्तमान पदाधिकारीहरू सहभागी हुने उच्चस्तरीय गोलमेच बैठक तत्काल आयोजना गर्नुपर्ने, महेश–बद्रीबीच भएका सबै सहमतिहरू अक्षरशः कार्यान्वयन गर्नुपर्ने तथा एकपक्षीय र गुटगत निर्णयहरू तत्काल फिर्ता लिनुपर्ने माग गरिएको छ।
गौतमले यी मागहरू कार्यान्वयन नभए आगामी क्षेत्रीय सम्मेलनसहित संघका औपचारिक कार्यक्रममा सहभागी हुन असमर्थ रहने चेतावनी पनि दिएका छन्।
खुला पत्रको अन्त्यमा उनले संस्थापक अध्यक्षहरू, पूर्वअध्यक्षहरू तथा सम्पूर्ण अग्रज अभियन्ताहरूलाई एनआरएनएलाई पुनः विभाजनबाट जोगाउन सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गरेका छन्। साथै, संस्थामा फेरि विभाजन वा अप्रिय अवस्था सिर्जना भए त्यसको सम्पूर्ण नैतिक, कानुनी तथा संस्थागत जिम्मेवारी अध्यक्ष डा. हेमराज शर्माले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।