काठमाडौं,गैर आवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रीय सम्मेलन सन् २०२७ को अप्रिल महिनामा क्यानाडाको ओन्टारियोस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ । सम्मेलनले गैरआवासीय नेपाली समुदायका साझा सरोकार, नेपालको विकासमा प्रवासी नेपालीको योगदान तथा भावी कार्यदिशाबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ।
एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरालका अनुसार सम्मेलनमा विश्वभर रहेका गैरआवासीय नेपालीबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउने, नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको भूमिकालाई प्रभावकारी बनाउने तथा संगठनात्मक एकतालाई थप मजबुत बनाउने विषयमा विशेष जोड दिइनेछ।
उनका अनुसार सम्मेलनमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका सम्भावना, ज्ञान, सीप र प्रविधिको हस्तान्तरण, युवा तथा दोस्रो पुस्ताको भूमिका, उद्यमशीलताको प्रवर्द्धन, समुदाय सशक्तीकरण तथा नेपाल र विश्वभर रहेका नेपालीबीच सहकार्य विस्तारका विविध विषयमा गहन छलफल हुनेछ।
सम्मेलनमा एनआरएनएका केन्द्रीय अध्यक्षसहित पदाधिकारी, पूर्वअध्यक्षहरु, पूर्व पदाधिकारीहरु, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का विभिन्न पदाधिकारी, एनसीसी अध्यक्ष तथा महासचिव, विभिन्न देशका एनआरएनए अभियन्ता, नेपालका प्रतिष्ठित व्यवसायी, नेपाल सरकारका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
संयोजक खरालले सम्मेलनलाई विश्वभर रहेका गैरआवासीय नेपालीबीच अनुभव आदान प्रदान, सहकार्य विस्तार र मातृभूमिप्रतिको योगदानलाई अझ प्रभावकारी बनाउने साझा मञ्चका रूपमा उपयोग गर्न आग्रह गर्दै अमेरिकाज क्षेत्रका साथै अन्य देशमा रहेका गैरआवासीय नेपालीलाई पनि सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।
आयोजकका अनुसार सम्मेलनले प्रवासी नेपाली समुदायका साझा मुद्दामा ठोस निष्कर्ष निकाल्दै नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन तथा आर्थिक, सामाजिक र बौद्धिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।