सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

सामान्य बन्यो तराईको अवस्था, काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

सोमबार, साउन १८ २०८३

जनकपुरधाम(जस)–केही दिनयता साम्प्रदायिक विवादले तनावग्रस्त बनेको तराई शान्त बनेको छ । सरकारको निररन्तरको प्रयास र छलफलपछि अवस्था सामान्य बनेको हो । सुनसरीको कप्तानगञ्जबाट शुरु भएको विवादपछि तराईका विभिन्न जिल्ला अशान्त बनेका थिए । हाल भने अवस्था सामान्यउन्मुख भएपछि विभिन्न जिल्लामा जारी कफ्र्यु र निषेधाज्ञा पनि हटाउन थालिएको छ । यस जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ः०० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १०ः०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा उक्त निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ ।
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हट्यो
यसैगरी सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कफ्र्यु आदेश आइतबार राति ७ बजेदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यु आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ । गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कफ्र्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
राजविराज र बोदेबरसाइनमा कफ्र्यु हट्यो
यस्तै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । ्सूचनाअनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा क्षेत्र तोकिएको छ । त्यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने उल्लेख छ ।
काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ
सुनसरी घट्नापछि तनाव उत्पन्न भएको पूर्वीतराई र मधेसको अवस्था सामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन् । उनी आइतबार साँझ काठमाडौँ फर्किएका हुन् । सुनसरीको कप्तानगञ्ज र सिरहा लगायत मधेसका जिल्लाहरूमा साम्प्रदायिक विवाद बढ्दै गएपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनले सुनसरीको देवानगञ्ज पुगेर सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट सहमति जुटाएका थिए । त्यस्तै, सिरहाको गोलबजारमा पनि पुगेर गणेश यादवको परिवारलाई भेटेर सहमति गराएक थिए । उनले आइतबारमात्रै हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति गरे । सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सबै आन्दोलन स्थगित भएसँगै गृहमन्त्री गुरुङ आइतबार काठमाडौँ फर्किएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार