निजी क्षेत्रका एजेन्डा अघि बढाउने प्रतिबद्धता
काठमाडौं(जस)–नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ समिति गठन भइसकेका थिए । महासंघमा विभिन्न २५ वटा विषयगत समिति रहने व्यवस्था छ । महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा बैंक, वित्त तथा बीमा समिति, व्यापार मेला समिति तथा पर्यटन तथा हवाई यातायात समितिका पदाधिकारी, सदस्य र सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरिएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहिरो अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले सुझाव पेश गर्न आग्रह गरे । उनले विषयगत समितिको सक्रियताले निजी क्षेत्रलाई सशक्त बनाउनुका साथै मुलुकको आर्थिक समृद्धिमा पनि योगदान पुग्ने बताए । निजी क्षेत्रका समस्या समाधान, नयाँ सम्भावनाको खोजी, नीतिगत सुधार र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माणमा समितिहरूले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
कार्यवाहक अध्यक्ष वैद्यले निजी क्षेत्रसँग सम्बन्धित साझा मुद्दामा महासंघको संस्थागत धारणा निर्माण गर्न विषयगत समितिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए । महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए । उनले सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीका समस्या नजिकबाट अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्न समितिहरूलाई आग्रह गरे ।
उनले वर्तमान अवस्था, चुनौती र सम्भावनाको अध्ययन गरेर तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासंघमा पेश गर्नुपर्नेमा जोड दिए । महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिको सक्रियताले महासंघको संस्थागत क्षमता थप सुदृढ हुने बताए । निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय कायम गरी क्षेत्रगत समस्याको समाधानमा समितिहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । बैंक, वित्त तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन तथा निजी क्षेत्रमैत्री नीतिका लागि समिति सक्रिय रहने बताए । उनले वित्तीय संस्थासँग समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित समिति अघि बढ्ने बताए । उनले मेलामार्फत स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार तथा व्यवसायीबीच सहकार्य बढाउने योजनाबारे जानकारी दिए । पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई सेवाको सहजता, गुणस्तरीय पर्यटक आकर्षण तथा निजी क्षेत्रको लगानी सुरक्षाका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले सरकारसँग समन्वय गर्दै पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए । महासंघले विषयगत समितिलाई निजी क्षेत्रका विभिन्न क्षेत्रका समस्या र सम्भावनाको अध्ययन, नीतिगत सुझाव तयारी, सरकार तथा सम्बन्धित निकायसँग संवाद र सहकार्य तथा महासंघको संस्थागत धारणा निर्माणका प्रमुख संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।