काठमाडौं(जस)–नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो ।
मन्त्रालयका अनुसार सिफारिसमा पर्ने उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन् । सिफारिस समितिको साउन १७ गते बसेको बैठकले सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा अन्तिम तीन जनाको सूची तयार गरी सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ अनुसार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुति, अन्तर्वार्ता तथा मूल्यांकनका आधारमा नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
अब सिफारिस गरिएका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पद लामो समयदेखि रिक्त रहेको थियो । नयाँ नेतृत्व नियुक्त भएपछि निगमको इन्धन आपूर्ति व्यवस्थापन, भण्डारण पूर्वाधार विस्तार, लागत नियन्त्रण तथा संस्थागत सुधारका क्षेत्रमा काम गर्नुपर्ने चुनौती रहनेछ ।