काठमाडौं(जस)–नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पक्षसँग असन्तुष्ट शेरबहादुर देउवा समुहले यही साउन २९–३१ मा काठमाडौंमा अलग्गै भेला गर्ने भएको छ । पुर्व महामन्त्री महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा संयोजकत्वमा शनिबार राष्ट्रिय भेला आयोजक समितिको घोषणासमेत गरिएको छ । सभापति थापाले बिशेष महाधिवेसनमार्फत नेपाली कांग्रेसको नेतृत्व लिए पछि तत्कालिन संस्थापन समुह पुरै असन्तुष्ट भइरहेको बेला साउन २९ देखी ३१ गतेसम्म देउवा समुहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका पूर्वमहामन्त्री तथा बीपीका कान्छा छोरा शशांक कोइरालाले ३१ साउनसम्म राष्ट्रिय भेलाको अन्तिम तयारी गरिएको बताए । उक्त भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालासमेत सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाका लागि शशांकको नेतृत्वमै ५५१ सदस्यीय समिति गठन गरिएको छ । देउवा साउन २८ गते स्वदेश अर्थात काठमाडौं फर्किने भनिएको मितिको भोलिपल्ट यो भेला आयोजना गरिन लागिएको हो । सो भेलाको औचित्यका बारेमा संयोजक कोइरालाले अपिल पनि सार्वजनिक गरिसकेका छन् ।
उक्त भेलामा शेखर पक्षको सहमति रहेको शशांकले पत्रकार सम्मेलनमा बताए । “उहाँले मेरो सहमति छ, व्यस्त भएकाले पत्रकार सम्मेलनमा आउन सकिनँ भनेर भनेर क्षमा माग्नुभएको छ,” कोइरालाले भने । २७ पुसको विशेष महाधिवेशनमा सहभागी नभएको देउवा र शेखर पक्षले पार्टी एकताको अन्तिम प्रयास गर्दागर्दै पनि राष्ट्रिय भेलाबाट नयाँ कार्यदिशा तय गर्नुपर्ने अवस्थामा आइपुगेको बताएको छ । कोइरालाले सभापति गगन थापा पार्टी एकताका लागि अनिच्छुक देखिएपछि नयाँ कार्यदिशा तय गर्दै जानुपर्ने अवस्था आएको बताए ।
निवर्तमान सभापति देउवा पक्षमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायत पुराना र अनुभवी नेताहरू रहेका छन् । बीपी स्मृति दिवसको अवसरमा ६ साउनमा इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको थियो । लामो समय वार्ताको प्रतिक्षामा रहेको इतर समूह उक्त प्रयासमा सभापति थापा अनिच्छुक देखिएपछि भेलाको अन्तिम तयारीमा जुटेको नेता मीन विश्वकर्माले बताए । उनका अनुसार राष्ट्रिय भेलाका लाग आयोजक समितिमा ५ सय ५१ सदस्य रहनेछन भने १४ औं महाधिवेशवाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, पुर्व केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरु, जिल्ला कार्यसमितिका सभापतिहरु, उपत्यका भित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरु, महानगर÷नगर कार्यसमितिका सभापतिहरु, संघीय सांसद तथा प्रदेश सांसदहरु, पुर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरु, भातृ संघका केन्द्रीय प्रदाधिकारी र केन्द्रिय प्रमुख र शुभेच्छुक संगठनका प्रमुखहरू सो भेलामा प्रतिनिधिका रूपमा रहनेछन् । उनका अनुसार यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाई उपरोक्त सबै समितिहरुका संयोजक एवं सदस्यहरुको कार्य विभाजन गरिने विश्वकर्माले जानकारी दिएका छन् ।
विशेषगरी २ जेठमा पन्ध्रौँ महाधिवेशनका लागि थापा पक्षले तयारी थालेपछि इतर समूहले असन्तुष्टि जनाउँदै आएको थियो । क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण, नयाँ वितरणमा इतर समूह सहभागी थिएन । इतर समूहले चौधौँ र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन, पन्ध्रौँ महाधिवेशन निष्पक्षताका लागि राजनीतिक संयन्त्र, क्रियाशील छानबिन, अनुशासनलगायत सबै समितिमा प्रतिनिधित्वको माग गर्दै आएको थियो । तर, सभापति थापा इतर समूहको मागमा वार्ता–संवादमा कहिल्यै तदारुक नभएको आरोप इतर समूहले लगाएको छ । ६ साउनमा बीपी स्मृति दिवसको दिन इतर समूहले प्रज्ञा भवनबाट राष्ट्रिय भेलाको घोषणा गरेपछि थापाले ७ साउनमा शेखरसँग भेट गरेका थिए । त्यसपछि थापाले अन्य कुनै नेतासँग भेट तथा संवादको निम्ति आह्वान नगरेको विश्वकर्मा बताउँछन् ।
‘पार्टी भित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक( सांस्कृतिक लगायतका नागरिकका जीवनसंग जोडिएका विविध गंभिर सवालहरुमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरुलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशा सहित पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ,’ संयोजक डा. कोइरालाको अपिलमा भनिएको छ, ‘पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरुवाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ ।’