काठमाडौं,नेपाली पर्वतारोहण इतिहासमा विश्वलाई चकित पार्ने कीर्तिमान रचेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उँचो बनाएका विश्व कीर्तिमानधारी पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्स’पुर्जाको पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलाको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा भएको दुःखद निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गहिरो दुःख व्यक्त गरेको छ।
एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा निम्सदाइको निधनले केवल नेपाल मात्र होइन, विश्वभर फैलिएको गैरआवासीय नेपाली समुदायलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। संघले उहाँलाई नेपाली साहस, आत्मविश्वास, समर्पण र असाधारण क्षमताको विश्वव्यापी प्रतीकका रूपमा स्मरण गर्दै उहाँको योगदान इतिहासमा सदैव अमिट रहने विश्वास व्यक्त गरेको छ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निम्सदाइले नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्याएका थिए। पर्वतारोहण क्षेत्रमा असम्भव ठानिएका लक्ष्यलाई वास्तविकतामा परिणत गर्दै उहाँले नेपाललाई विश्वसामु नयाँ परिचय दिलाएका थिए। उहाँको साहसिक यात्राले विश्वभरका लाखौं युवालाई सपनालाई कर्ममा बदल्ने प्रेरणा दिएको थियो।
एनआरएनएले एक गैरआवासीय नेपालीका रूपमा निम्सदाइले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान, क्षमता र नेतृत्वलाई गौरवका साथ स्थापित गरेको उल्लेख गरेको छ। कठिनभन्दा कठिन चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उहाँको सोच र नेतृत्वले नेपाललाई मात्र होइन, विश्वभर रहेका नेपालीहरूलाई गर्व गर्ने आधार दिएको विज्ञप्तिमा भनिएको छ।
संघका अनुसार ‘निम्स’पुर्जाको असामयिक निधनसँगै नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको छ। उहाँको ‘असम्भवलाई सम्भव बनाउने’ जीवनदर्शन, अदम्य साहस, दृढ संकल्प, अनुशासन, समर्पण र राष्ट्रप्रतिको योगदान भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरिएको छ।
एनआरएनएले ‘निम्स’ पुर्जासहित उक्त हिमाली दुर्घटनामा ज्यान गुमाएका छ जना नेपाली तथा चार विदेशी आरोहीहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै संघले शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
नेपालको झण्डा विश्वका सर्वोच्च हिमशिखरहरूमा गर्वका साथ फहराउँदै देशको गौरवलाई नयाँ उचाइमा पुर्याउने निम्सदाइको योगदान केवल पर्वतारोहणमा सीमित नरही राष्ट्रिय आत्मविश्वासको प्रतीक बनेको एनआरएनएको ठहर छ। उहाँले आफ्नो साहस, अनुशासन र दृढ इच्छाशक्तिमार्फत संसारलाई नेपाली कहिल्यै हार नमान्ने जाति भएको सन्देश दिएका थिए।
प्रवक्ता सोमनाथ सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा निम्सदाइको प्रेरणादायी जीवनयात्रा र राष्ट्रप्रतिको समर्पण नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहने उल्लेख गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
विश्वले एक साहसी पर्वतारोही गुमाएको छ भने नेपालले आफ्नो गौरवशाली सन्तान गुमाएको छ। तर, निम्सदाइले सिर्जना गरेको इतिहास, विश्व कीर्तिमान र नेपालीलाई दिएको आत्मविश्वासको विरासत भने पुस्तौँसम्म जीवित रहनेछ।