काठमाडौं(जस)–दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् । प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन् । विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायक मण्डलको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको हो ।
मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिता हो । यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । उपाधि जितेकी दीपमाला ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो पुस्ताका गैरआवासीय नेपाली (सेकेन्ड जेनेरेसन) की संयोजक पनि हुन् । विदेशमा जन्मिएर हुर्किएकी नेपाली मूलकी युवतीले नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको ताज जित्नु व्यक्तिगत उपलब्धि मात्र नभई गैरआवासीय नेपाली समुदायका लागि पनि विशेष अर्थ राख्ने घटना बनेको छ । उनले शनिबार भएको मिस नेपालको फाइनलमा मिस नेपाल वल्र्ड–२०२६ को उपाधि जितेकी हुन् ।
दीपमाला गत चैतमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट दोस्रो पुस्ताको संयोजक (सेकेन्ड जेनेरेसन कोअर्डिनेटर) मा निर्वाचित भएकी थिइन् । एनआरएनएले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने उद्देश्यले पहिलो पटक विधानमै यस्तो पदको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार उनले उम्मेदवारी दिएर नेतृत्वको जिम्मेवारी सम्हालेकी हुन् । एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र सांगठनिक रूपमा जोडिन चाहन्छन् । संघले यस्ता युवालाई मातृभूमिसँग जोड्ने उद्देश्यले नेपाली भाषा, कला र संस्कृतिको हस्तान्तरणका लागि डिजिटल कक्षाहरू सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय युवा सम्मेलन र पिएनओज सम्मेलन आयोजना गर्ने, तथा खेलकुद र सामाजिक गतिविधिमार्फत नेतृत्व विकास र संगठनसँग आबद्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यही अभियानको नेतृत्व गरिरहेकी दीपमालाले शनिबार राजधानीमा सम्पन्न मिस नेपालको फाइनलमा २४ प्रतिस्पर्धीमध्ये अन्तिम ६ मा स्थान बनाउँदै अन्ततः मिस नेपाल वल्र्ड–२०२६ को ताज जितिन् । एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार दीपमालाको जित केवल एउटा सौन्दर्य प्रतियोगिताको सफलता होइन, एउटा गौरवशाली पारिवारिक इतिहासको निरन्तरता र विश्वभर रहेका गैरआवासीय नेपाली युवाका लागि प्रेरणाको नयाँ अध्याय हो । हङकङमा जन्मिएकी र त्यहीँ हुर्किएकी दीपमालाले नेपाली भाषा, संस्कृति र पहिचानप्रति देखाएको अनुरागले धेरैलाई प्रभावित पारेको छ । उनी यसअघि मिस नेपाल हङकङ पनि भइसकेकी छन् । हङकङमा अत्यन्त सक्रिय उनी तेक्वान्दोको ब्ल्याक बेल्ट खेलाडी र म्याराथन धावकसमेत हुन् ।
२३ वर्षीया उनले अर्थशास्त्रमा स्नातक गरेकी छन् र विश्वकै अग्रणी अमेरिकी लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’ मा इन्भेस्टमेन्ट एनालिस्टका रूपमा कार्यरत थिइन् । आकर्षक तलब, सुरक्षित करिअर र अन्तर्राष्ट्रिय अवसरका बीच उनले नयाँ यात्राका लागि नेपाल रोजिन् । उनका पिता सुरेन्द्रकुमार ढकाल हङकङमा इन्जिनियर हुन् । उनका अभिभावकका अनुसार दीपमाला सानैदेखि केही नयाँ गर्ने, चुनौती स्वीकार गर्ने र प्रश्नहरूको उत्तर दिन सधैँ अगाडि सर्ने स्वभावकी थिइन् । यही आत्मविश्वास र नेतृत्व क्षमता अहिले एनआरएनएको दोस्रो पुस्ताको संयोजक र मिस नेपाल वल्र्ड–२०२६ दुवै भूमिकामा देखिएको छ ।