काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगञ्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा हालै विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष डा. हेमराज शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको पहिचान भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष, घृणा वा विभाजनले राष्ट्र र समाजलाई कमजोर बनाउने बताइएको छ । त्यसैले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न सबै सरोकारवालाहरूलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा यस दुःखद घटनामा परी निधन भएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको कठिन घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । संघले घाइते सबैको शीघ्र, पूर्ण तथा सफल स्वास्थ्यलाभको हार्दिक कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा, उपचार तथा सहयोगको तत्काल व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।
