शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

हिंसा र कर्फ्यूको चपेटामा मधेसको जनजीवन, सद्भाव कायम राख्न राष्ट्रपतिदेखि दलका नेताहरूको अपिल

बिहिबार, साउन १४ २०८३

काठमाडौँ(जस)–सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक विवादले उग्र रूप लिएपछि मधेस प्रदेशका विभिन्न जिल्लाहरू यतिबेला तनावग्रस्त बनेका छन् । एउटा स्थानीय घटनाको प्रभाव छिमेकी जिल्लाहरूमा समेत फैलिएपछि सामाजिक र धार्मिक सद्भाव बिथोलिने जोखिम बढेको छ । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन सुनसरी, धनुषा, सिराहा र पर्साका विभिन्न स्थानमा स्थानीय प्रशासनले कफ्र्यु तथा निषेधाज्ञा जारी गरेको छ, जसका कारण जनजीवन निकै कष्टकर र त्रसित बनेको छ ।
सुनसरीमा साउन ११ गतेदेखि सुरु भएको अशान्ति अझै साम्य हुन सकेको छैन । स्थानीय प्रशासनले देवानगञ्जसहित महेन्द्र राजमार्ग आसपासका क्षेत्र र इनरुवा बजारमा समेत कफ्र्यु विस्तार गरेको छ । यता धनुषाको राजधानी जनकपुरधाममा प्रदर्शनले उग्र रूप लिएपछि बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही क्षेत्रमा सर्वसाधारणको आवागमनमा पूर्ण रोक लगाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सम्भावित मानवीय क्षति र सार्वजनिक सम्पत्तिको रक्षाका लागि यो कडा कदम चालिएको हो ।
सिराहा जिल्लाको अवस्था पनि उस्तै छ । जिल्ला प्रशासन कार्यालय सिराहाले लहान, गोलबजार र चोहर्वा क्षेत्रमा कफ्र्यु जारी गरेको छ । यस्तै, पर्साको वीरगञ्जमा पनि प्रदर्शन हुन सक्ने र सद्भाव बिथोलिन सक्ने आशंकामा निषेधाज्ञा जारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाका मुख्य चोकहरूमा ५ जनाभन्दा बढी भेला हुन, सभा, जुलुस वा कुनै पनि प्रकारका प्रदर्शन गर्न निषेध गरिएको छ । मधेसका मुख्य सहरहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने बजार, शैक्षिक संस्था र यातायात ठप्प प्रायः छन् ।
यो घटनाले राजनीतिक वृत्तमा पनि ठूलो तरङ्ग पैदा गरेको छ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विदेशबाटै सामाजिक सञ्चालमार्फत एक वक्तव्य जारी गर्दै मधेसमा देखिएको पछिल्लो गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । देउवाले नेपाली समाजको मौलिक विशेषता नै सहअस्तित्व र आपसी सद्भाव भएको स्मरण गराउँदै सबै नागरिकलाई संयम अपनाउन आग्रह गरेका छन् । उनले हिंसात्मक घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको माग गरेका छन् । देउवाले सरकारलाई तत्काल राजनीतिक दलहरूसँग सहकार्य गरी हिंसा भड्किन नदिन प्रभावकारी कदम चाल्न सुझाएका छन् ।
मुलुकको अभिभावकीय भूमिकामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पनि एक विशेष अपिल जारी गर्दै सदियौँदेखि कायम रहेको जातीय र धार्मिक सहिष्णुतालाई बचाउन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “नेपालको पहिचान नै आपसी मेलमिलाप र भ्रातृत्व हो, यसलाई कुनै पनि बहानामा खलल पुरÞ्याउनु हुँदैन ।” उनले सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सचेत गराएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रेस विज्ञप्ति जारी गर्दै साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले कुनै एक घटनालाई आधार बनाएर समुदायप्रति अविश्वास र द्वेष फैलाउनु राष्ट्रिय हित विपरीत हुने उल्लेख गरेकी छिन् । भण्डारीले अफवाह र घृणास्पद अभिव्यक्तिको पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गर्दै कानुनी शासनको सम्मान गर्न जोड दिएकी छिन् । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि ‘सद्भाव सन्देश’ जारी गर्दै मुलुकमा देखिएको द्वन्द्व र विवादले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । निर्मल निवासमार्फत जारी सन्देशमा उनले नेपालको निर्माणकालदेखि नै विभिन्न जातजाति र धर्मावलम्बीहरू मिलेर बसेको इतिहास सम्झाउँदै यो विशिष्ट गौरवलाई कसैले पनि क्षति पुरÞ्याउन नहुने बताएका छन् । उनले अवाञ्छित घटना र दुर्घटनाहरू नेपालको मौलिक मूल्य मान्यता विपरीत रहेको भन्दै राष्ट्रिय एकता मजबुत बनाउन सबै नेपालीलाई एकजुट हुन आग्रह गरेका छन् ।
प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने सरकारको भूमिकामाथि नै प्रश्न उठाएका छन् । अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सुनसरीका ओमप्रकाश मेहता र सिराहाका गणेश यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले सरकारले अत्यधिक बल प्रयोग गरेको र समस्या समाधानमा उदासीनता देखाएको आरोप लगाएका छन् । “राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा पुग्दा समेत सरकारको मौनता शंकास्पद र भत्र्सनायोग्य छ,” ओलीले भनेका छन् । उनले हिंसात्मक कदम रोकी अविलम्ब संवादको माध्यमबाट निकास खोज्न सरकारलाई चेतावनी दिएका छन् । स्थानीय प्रशासनले कफ्र्यु र निषेधाज्ञाबाट स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि नागरिक समाज र राजनीतिक नेतृत्वले समुदायहरूबीच विश्वासको वातावरण बनाउनु पर्ने आवश्यकता देखिएको छ । वीरगञ्जदेखि जनकपुर र इनरुवादेखि लहानसम्मको यो अशान्त वातावरणले समग्र देशकै शान्ति सुरक्षामा चुनौती थपेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार