काठमाडौं,विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न थप सहज वातावरण निर्माण गर्ने उद्देश्यसहित सरकारले दोहोरो कर (डबल ट्याक्सेसन) प्रणाली हटाउने दिशामा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोहोरो कर प्रणाली अन्त्यका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्दै यसले वैदेशिक लगानी प्रवर्द्धनसँगै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालको विकाससँग जोड्न सरकार प्रतिबद्ध रहेको बताए । भेटका क्रममा एनआरएनएले आयोजना गर्न लागेको ‘चौथो विश्व ज्ञान सम्मेलन २०२७’ को अवधारणापत्र अर्थमन्त्रीलाई हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा सम्पन्न गर्न आग्रह गरेको थियो।
अर्थमन्त्री वाग्लेले सम्मेलनले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा उद्यमीको अनुभव र दक्षतालाई नेपालको विकासमा उपयोग गर्ने प्रभावकारी मञ्चका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। उनले सरकार र प्रवासी नेपालीबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक समन्वय र सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए।
भेटमा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्यबारे जानकारी दिँदै विश्वभर छरिएर रहेका नेपाली विज्ञहरूको ज्ञान, सीप, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्ने लक्ष्य रहेको बताए। सम्मेलनमार्फत सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्यको नयाँ आधार निर्माण हुने तथा नेपालको प्राथमिकताप्राप्त विकास क्षेत्रमा विश्वस्तरीय ज्ञान र प्रविधिको उपयोग बढ्ने उनको भनाइ थियो।
एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन हुन नसक्नु तथा एकीकृत गैरआवासीय नेपाली ऐन समयमै जारी नहुँदा विदेशमा रहेका नेपालीले विभिन्न कानुनी र व्यवहारिक समस्या भोग्नुपरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
भेटका क्रममा एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले दोहोरो कर प्रणाली हटाइए विदेशमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन मिल्ने र वैदेशिक लगानी आकर्षित गर्न उल्लेखनीय सहयोग पुग्ने धारणा राखे।
त्यसैगरी, एनआरएनए नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई ले फन्ड सञ्चालनका लागि धितोपत्र बोर्डअन्तर्गतको अन्तिम प्रक्रिया मात्रै बाँकी रहेको जानकारी दिँदै आवश्यक सहजीकरणका लागि सरकारलाई धन्यवाद दिए।
जवाफमा अर्थमन्त्री वाग्लेले दोहोरो कर प्रणाली हटाउने विषयमा आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै यसले लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य विस्तार तथा गैरआवासीय नेपालीको लगानीलाई नेपालतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
