काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शुक्रबार भएको वार्तापछि दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
गृह मन्त्रालयका अनुसार सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सहमतिका सबै बुँदा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
सम्झौताअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने छ। साथै, प्रत्येक मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइने सहमति भएको छ।
त्यसैगरी, गत साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख गरिएको छ।
सहमतिमा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने बुँदा पनि समावेश गरिएको छ। यससँगै पीडित परिवारका प्रत्येक परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता सरकारले जनाएको छ।

त्यस्तै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाइने सहमति भएको छ।
मृतकहरूको सम्मानमा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएको छ।
गृह मन्त्रालयले सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति नेपाल सरकार दृढ रहेको दोहोर्याउँदै सहमतिका सबै बुँदा समयमै कार्यान्वयन गरिने विश्वास दिलाएको छ।
गृहमन्त्रीको उपस्थितिमा भएको सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गरिएको छ। सरकारले वार्ता र सहमतिमार्फत पीडित परिवारका मागलाई सम्बोधन गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
