काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिराहा लगायतका जिल्लामा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण परिस्थिति र अशान्त वातावरणलाई लिएर प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
बिहीबार राति साढे चार मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्रीले देशको आन्तरिक सुरक्षा, साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकताको रक्षाका लागि सम्पूर्ण नागरिक, राजनीतिक दल र नागरिक समाजलाई एकजुट हुन विशेष अपिल गरे।
प्रधानमन्त्रीले सम्बोधनको सुरुमै मधेसका विभिन्न स्थानमा भएका दुःखद घटनाहरूप्रति गहिरो चिन्ता र संवेदना व्यक्त गरे। देवानगञ्ज घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकमा रहेका परिवारजनप्रति राज्यको तर्फबाट समवेदना प्रकट गरे। घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई कडा निर्देशन दिइसकेको जानकारी दिए।
सरकार मधेसको पछिल्लो अवस्थाप्रति पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउँदै प्रधानमन्त्रीले घटनालगत्तै सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सक्रियतापूर्वक काम गरिरहेको उल्लेख गरे। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र उक्त समितिले पारदर्शी ढङ्गले काम गर्ने आश्वासन दिए। “कानुनभन्दा माथि कोही छैन, दोषी जोसुकै भए पनि कडा कारबाही हुन्छ,” उनले दृढताका साथ भने।
प्रधानमन्त्रीले सम्बोधनको ठुलो हिस्सा साम्प्रदायिक विद्वेष र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई नियन्त्रण गर्ने विषयमा केन्द्रित गरे। पछिल्लो समय सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, दुई समुदायबिच वैमनस्यता बढाउने र अपुष्ट सूचना सम्प्रेषण गर्ने प्रवृत्ति बढेको भन्दै उनले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई सरकारले कडा निगरानीमा राखेको चेतावनी दिए। अराजकता फैलाएर समाजलाई विभाजित गर्न खोज्ने जुनसुकै तत्वलाई पनि कडा कानुनी कारबाही गरिने उनले स्पष्ट पारे। उनले नागरिकहरूलाई हल्लाको पछि नलागी सरकारी निकायबाट जारी हुने आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गरे।
राष्ट्रिय सुरक्षाको विषयमा बोल्दै प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरिएको र परिस्थिति अनुसार आवश्यक ठोस निर्णयहरू लिइएको जानकारी दिए। स्थानीय स्तरमा विश्वासको वातावरण बनाउन केन्द्रमा सर्वदलीय बैठक बसेर गहन छलफल गरिएको र गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर पीडित पक्ष र स्थानीय प्रशासनसँग संवाद गरिरहेको उनले बताए। जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवाहरूसँगको निरन्तर समन्वयले मधेसको अवस्था बिस्तारै सामान्यीकरणतर्फ जाने विश्वास उनले व्यक्त गरे।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले धर्मले मानिसलाई आपसमा जोड्ने र प्रेम बाँड्ने काम गर्ने बताए। “संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा र विभाजन सिकाउँदैन, सबैको मूल सार भनेकै करुणा र शान्ति हो,” उनले भने। एक स्थानमा भएको घटनालाई लिएर पुरै समुदायलाई आरोपित गर्नु वा प्रतिशोधको भावना फैलाउनु न्यायसङ्गत नहुने भन्दै उनले इतिहासदेखि कायम रहेको नेपालीहरूको सहिष्णुता र भाइचारा नै राष्ट्रको ठुलो शक्ति भएको उल्लेख गरे।
सम्बोधनको अन्त्यतिर प्रधानमन्त्रीले नेपाली र मैथिली दुवै भाषाको प्रयोग गर्दै भावनात्मक एकताको सन्देश दिएका थिए । उनले मैथिली भाषामा सम्बोधन गर्दै भने— “हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय आ सब राजनीतिक दलके धैर्यता आ संयमता अपनाके शान्ति आ राष्ट्रिय एकता कायम राखेके लेल हार्दिक अपिल कर रहल छी।” उनले न्यायविना शान्ति सम्भव नहुने भन्दै सरकार सत्य र न्यायको पक्षमा अडिग रहने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीले सुन्दर र शान्त नेपालको आकाशमा मडारिएको अशान्तिको बादललाई हटाउन सबैको साझा भूमिका आवश्यक रहेको बताए। कुनै पनि अफवाह वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकाले सबैले संयम र धैर्यता कायम राख्दै सत्य र कानुनको पक्षमा उभिनु नै आजको राष्ट्रिय आवश्यकता रहेको उनको निष्कर्ष थियो।