काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेले बैठकमा राखेको प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेपछि शाह रास्वपाको वरिष्ठ नेता बनेका हुन् । पार्टी विधानको भाग ६ को व्यवस्था अनुसार उनलाई यो जिम्मेवारी दिइएको हो ।
यसैगरी, बैठकले पार्टीको आन्तरिक कार्यसम्पादन र दैनिक सञ्चालनलाई थप प्रभावकारी बनाउन ७ सदस्यीय ‘पार्टी सचिवालय’ गठन गरेको छ । सचिवालयमा पार्टी सभापति लामिछानेका साथै निर्वाचित पदाधिकारीहरू डा. स्वर्णिम वाग्ले, सोबिता गौतम, विपिन कुमार आचार्य, असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् । यो सचिवालयले पार्टीका नीतिगत र साङ्गठनिक निर्णयहरू कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नेछ ।
बैठकमा पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न भएको पहिलो ऐतिहासिक महाधिवेशनको गम्भीर समीक्षा भएको महामन्त्री आचार्यले बताए । लोकतान्त्रिक प्रक्रियाका क्रममा भएका कमजोरी र अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टी पङ्क्तिलाई थप सुदृढ बनाउन बृहत् अध्ययन गर्ने निर्णय बैठकले लिएको उनले बताए । साङ्गठनिक सुदृढीकरणका लागि बैठकले ‘बैठक सञ्चालन कार्यविधि’, ‘सदस्यता सम्बन्धी कार्यविधि’, ‘सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट’ र ‘विभाग सम्बन्धी कार्यविधि’ गरी चारवटा महत्वपूर्ण दस्ताबेज पारित गरेको छ । यी दस्ताबेजहरूमा थप संशोधनका लागि केन्द्रीय सदस्यहरूलाई साउन १८ गतेसम्मको समय दिइएको आचार्यले बताए ।
रास्वपाले आगामी स्थानीय तहको निर्वाचनका लागि अहिलेदेखि नै तयारी पनि सुरु गरेको छ । योग्य र इमानदार उम्मेदवार छनोट गर्न भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने बैठकबाट निर्णय भएको छ । यो क्लबमार्फत सक्षम व्यक्तिहरूलाई राजनीतिमा ल्याउने र उम्मेदवारका रूपमा अघि सार्ने पार्टीको योजना छ । विभागहरूको नेतृत्वका लागि इच्छुक केन्द्रीय सदस्य र सांसदहरूबाट आगामी ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कामलाई जनमुखी बनाउन रास्वपाले नयाँ रणनीति अपनाएको छ । अबदेखि महिनाको कम्तीमा एक पटक मन्त्रीहरूले पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूसँग अनिवार्य छलफल गर्नुपर्नेछ । यसले सरकार र पार्टीबीच समन्वय बढाउन र मन्त्रीहरूको कार्यसम्पादनको निगरानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । नागरिकका समस्या सुन्नका लागि केन्द्रदेखि जिल्ला तहसम्मका कार्यालयहरूमा नेताहरूको उपस्थिति अनिवार्य गरिएको छ । केन्द्रीय कार्यालयमा दैनिक दुई जना केन्द्रीय सदस्य र प्रदेशमा दुई जना प्रदेश सदस्य नागरिक सहजीकरणका लागि उपस्थित हुनुपर्नेछ ।
पार्टीले सामाजिक संवेदनशीलतालाई ध्यान दिँदै आफ्ना सदस्यहरूलाई आत्महत्या वा आत्मदाह जस्ता दुखद घटनाका समाचार र सामग्रीहरू सामाजिक सञ्जालमा सेयर नगर्न कडा निर्देशन दिएको छ । यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले संवेदनशीलता अपनाउन पार्टीले आग्रह गरेको हो । यसका साथै, आगामी ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई युवा जागरण उत्सवका रूपमा भव्यताका साथ मनाउने निर्णय भयो, जसको संयोजकत्वको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ ।
बैठकको सुरुमा सुनसरी लगायतका जिल्लामा भएका पछिल्ला दुखद घटनामा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । यसैबिच बैठकमा सभापति लामिछानेले पार्टीभित्र गुटबन्दी नगर्न नेताहरुलाई कडा निर्देशन समेत दिएको एक नेताले बताए ।