काठमाडौं । सुनसरीको देवानगञ्जलगायत विभिन्न जिल्लामा हालै विकसित हिंसात्मक र संवेदनशील घटनाक्रमपछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बुधबार सर्वदलीय बैठक भएको छ। बैठकले सामाजिक सद्भाव, शान्तिपूर्ण संवाद र अफवाह नियन्त्रणमा जोड दिँदै सातबुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी भएका थिए। यद्यपि, नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने बैठकमा अनुपस्थित रहे। ओलीको तर्फबाट एमाले महासचिव शंकर पोखरेल र साम्पाङको तर्फबाट पार्टीका प्रमुख सचेतक आरेन राई बैठकमा सहभागी भएका थिए।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका नेताहरू उपस्थित थिए। सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न सामाजिक तनाव, धार्मिक सहिष्णुता, द्वेष न्यूनीकरण तथा राजनीतिक तहबाट साझा सन्देश प्रवाह गर्ने विषयमा बैठक केन्द्रित रहेको रास्वपाले जनाएको छ।
बैठकपछि जारी संयुक्त अपिलमा पछिल्ला घटनाक्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त अपिलमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि प्रकारका गतिविधि र उत्तेजनामा नलाग्न सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ। ‘आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता निम्त्याउँछ,’ अपिलमा भनिएको छ।
राजनीतिक दलहरूले लोकतन्त्रमा उत्पन्न हुने जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने निष्कर्ष निकाल्दै सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट अभिव्यक्त गर्न पनि अपिल गरिएको छ।
बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ। संवादलाई तल्लो तहसम्म विस्तार गर्न, धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनलाई समेटेर विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टी संरचनालाई सक्रिय बनाउने निर्णय पनि गरिएको छ।
भविष्यमा यस्ता संवेदनशील र दुःखद घटना देशका कुनै पनि भागमा दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश प्रवाह गरिएको छ।
बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिले संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भन्दै नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ। सञ्चारमाध्यमलाई पनि संयमित, तथ्यपरक र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
संयुक्त अपिलमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै देवानगञ्जलगायतका घटनाको निष्पक्ष छानबिन, दोषीउपर कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरिएको छ।