बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिल्क ग्रुपद्वारा १०औँ वार्षिकोत्सव मनाउदै ‘चाइनाबजार’ ई–कमर्स प्लेटफर्म सार्वजनिक

बिहिबार, साउन १४ २०८३

-रीना श्रेष्ठ

काठमाडौं । सिल्क ग्रुपले नयाँ ईकमर्स प्लेटफर्म ‘चाइनाबजार’ को औपचारिक शुभारम्भ गर्दै आफ्नो १०औँ वार्षिकोत्सव समेत विशेष कार्यक्रमका बीच मनाएको छ।

नेपाल चीन व्यापारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको सिल्क ग्रुपले चीनबाट नेपालसम्म विभिन्न प्रकारका सामानको सुरक्षित, छिटो र भरपर्दो ढुवानी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सामान संकलन, ढुवानी, भन्सार प्रक्रिया व्यवस्थापनदेखि ग्राहकसम्म सुरक्षित रूपमा सामान पुर्‍याउने सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले पारिवारिक वातावरणबाट सुरु भएको समूहले विगतको अनुभवलाई आधार बनाएर नेपाली उपभोक्तालाई गुणस्तरीय र विश्वासिलो ईकमर्स सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘चाइनाबजार’ सञ्चालनमा ल्याइएको बताए।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुति श्रेष्ठले नेपाली उपभोक्तालाई गुणस्तरीय सामान, विविध विकल्प तथा किफायती मूल्यमा सामग्री उपलब्ध गराउने लक्ष्यका साथ प्लेटफर्मको अवधारणा अघि बढाइएको जानकारी दिइन्। अनलाइन खरिद गर्दा ग्राहकको मनमा ‘अर्डर गरेको सामान कहिले र कस्तो अवस्थामा आइपुग्छ ?’ भन्ने जिज्ञासा रहने भएकाले त्यसलाई सम्बोधन गर्ने गरी सेवा विकास गरिएको उनको भनाइ थियो।

उनले कम्पनीले अनलाइन सेवासँगै ग्राहकले सामानको गुणस्तर प्रत्यक्ष हेर्न र अनुभव गर्न सक्ने एक्सपिरियन्स स्टोरसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै निकट भविष्यमै वीरगञ्ज र भैरहवामा पनि यस्ता स्टोर विस्तार गरिने बताइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले चाइनाबजारको सफलताको शुभकामना व्यक्त गर्दै यसले नेपालको ईकमर्स क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मनीष झा, सांसद राकेश रञ्जित, गुरु रिम्पोछे, बेलायतका लागि नेपालका पूर्वराजदूत चन्द्रकुमार घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा नेपाल भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष दीपक मल्होत्रासहित व्यवसायी, उद्योगी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सोही अवसरमा सिल्क ग्रुपले आफ्ना कर्मचारी तथा परिवारका सदस्यहरूसँग केक काटेर १०औँ वार्षिकोत्सव पनि मनाएको थियो।

अध्यक्ष शेर्पाले आगामी दिनमा चाइनाबजारले गुणस्तर, विविध विकल्प र ग्राहकको बचतलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कम्पनीले भविष्यमा ५० टनसम्म सामान बोक्न सक्ने विद्युतीय ट्रक सञ्चालनमा ल्याउने, साथै कम्पनीलाई आईपीओ जारी गर्ने तयारीसमेत अघि बढिरहेको जानकारी दिए। कार्यक्रमसँगै होटल टुलिप परिसरमै चाइनाबजारको एक्सपिरियन्स स्टोर पनि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार