मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

स्मार्ट सेल सम्पत्ति काण्डमा बैंकिङ साम्राज्यमाथि सीआईबीको प्रहार एनआईएमबि बैंकका सिईओ पाण्डे पक्राउपछि अध्यक्ष पृथ्वीबहादुर पाण्डेसम्म अनुसन्धानको आँधी, बैंकिङ क्षेत्रभित्रको संगठित बेथिती सतहमा

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौँ, वर्षौंदेखि पहुँच, शक्ति, राजनीतिक संरक्षण र आर्थिक प्रभावको आडमा चलिरहेको नेपालको बैंकिङ क्षेत्र अन्ततः अनुसन्धानको कठघरामा उभिन थालेको छ । स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना र लिलामी काण्डमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि अब अनुसन्धानको घेरा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसम्म पुगेको छ ।
यो केवल एउटा बैंक अधिकृत पक्राउ परेको घटना होइन, बरु नेपालको बैंकिङ प्रणालीभित्र गहिरिँदै गएको आर्थिक अपारदर्शिता, प्रभावशाली गिरोहको चलखेल र राज्य संयन्त्रमाथिको कब्जाको प्रतिनिधि घटनाका रूपमा हेरिन थालेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी, आपराधिक विश्वासघात र सरकारी सम्पत्तिमाथिको गैरकानुनी हस्तक्षेपको आरोपमा पाण्डेलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन बन्दै भाग्ने प्रयासमा थिए । सिन्धुलीको कमलामाई क्षेत्रमा सवारी चेकजाँचका क्रममा पक्राउ परेका पाण्डेमाथि अहिले बहुआयामिक अनुसन्धान भइरहेको छ ।
अनुसन्धानको केन्द्रमा रहेको स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० वैशाख ३ गतेदेखि स्वतः खारेज भइसकेको थियो । कानुनअनुसार त्यसपछि कम्पनीसँग सम्बन्धित सम्पूर्ण उपकरण, पूर्वाधार र सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा जानुपर्ने थियो । तर, त्यसलाई योजनाबद्ध रूपमा बेवास्ता गर्दै बैंक नेतृत्वले लोन रिकभरी कमिटीको आवरणमा सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको आरोप छ ।
सीआईबी स्रोतका अनुसार सरकारी स्वामित्वमा जानुपर्ने सम्पत्तिलाई निजी स्वार्थअनुसार चलाउन बैंक नेतृत्व, केही व्यवसायिक समूह र प्रभावशाली व्यक्तिहरूबीच समन्वय भएको आशंका गरिएको छ ।
सबैभन्दा गम्भीर विषय भनेको ४० करोड रुपैयाँभन्दा बढी रकम उठाइएको प्रकरण हो । बैंकले लिलामी सूचनामार्फत घरबहाल र विद्युत् महसुलबापत भन्दै बोलपत्रदाताबाट अतिरिक्त रकम असुलेको थियो । तर, सम्बन्धित घरधनी र निकायलाई रकम नबुझाई बैंकभित्रै रोकेर राखिएको आरोप अनुसन्धानमा उल्लेख छ । यही विषयलाई प्रहरीले ठगी र आपराधिक विश्वासघातको मुख्य आधार मानेको छ ।
अब अनुसन्धानको सुई बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेतर्फ पनि सोझिएको छ । बैंकिङ क्षेत्रका शक्तिशाली पात्र मानिने पाण्डेमाथि यसअघि पनि ठमेलस्थित छायादेवी कम्प्लेक्ससँग जोडिएको कमलपोखरी क्षेत्रको सरकारी जग्गा कब्जा प्रकरणमा विवाद उठेको थियो ।
उनीमाथि बैंकिङ प्रभाव, राजनीतिक पहुँच र व्यावसायिक शक्ति प्रयोग गरेर सरकारी सम्पत्तिमाथि प्रभाव जमाएको आरोप पटक–पटक लाग्दै आएको छ । तर, राज्यका निकायहरू लामो समयसम्म मौन बसेका थिए । अहिले स्मार्ट सेल काण्डपछि पुराना फाइलहरू पनि पुनः चर्चामा आउन थालेका छन् ।
अर्थविद्हरूका अनुसार नेपालको बैंकिङ क्षेत्र अहिले सीमित व्यापारी, राजनीतिक पहुँचवालाहरू र सञ्चालक समूहको नियन्त्रणमा पुग्दै गएको छ । नियमनकारी निकायमाथि प्रभाव पार्ने, पहुँचका आधारमा अर्बौं ऋण प्रवाह गर्ने, अस्वाभाविक सम्पत्ति विस्तार गर्ने र कानुनी संरचनालाई समेत प्रभावित बनाउने प्रवृत्ति संस्थागत बन्दै गएको उनीहरूको विश्लेषण छ ।
“यदि निष्पक्ष अनुसन्धान गर्ने हो भने नेपालका धेरै बैंकका सञ्चालक समिति र उच्च व्यवस्थापन तहमा गम्भीर आर्थिक अनियमितता भेटिन सक्छ,” एक अर्थविश्लेषकले भने, “बैंकहरू वित्तीय संस्था कम, आर्थिक शक्ति केन्द्र बढी बनेका छन् ।”
नेपाल राष्ट्र बैंकले सुशासन र पारदर्शिताको भाषण गरे पनि व्यवहारमा ठूला बैंकहरू नियमनभन्दा बाहिर जस्तै चलिरहेको आलोचना वर्षौंदेखि हुँदै आएको छ । पहुँचवालाहरूलाई नियम फरक, सर्वसाधारणलाई नियम फरक हुने संस्कृतिले बैंकिङ प्रणालीप्रतिको जनविश्वास नै कमजोर बनाएको छ ।
स्मार्ट सेल काण्डले अब एउटा गम्भीर प्रश्न उठाएको छ—के नेपालका बैंकहरू वास्तवमै वित्तीय अनुशासनभित्र छन्, कि सीमित समूहको आर्थिक सिन्डिकेटमा परिणत भइसकेका छन् ?
सीआईबीले यसअघि यही प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ । अब अनुसन्धान बैंकिङ नेतृत्व, सम्पत्ति कारोबारमा संलग्न समूह र सम्भावित राजनीतिक संरक्षणतर्फ समेत विस्तार हुने संकेत देखिएको छ ।
यदि यो प्रकरण निष्पक्ष रूपमा अन्तिम निष्कर्षसम्म पुर्‍याइयो भने, यसले केवल एउटा सीईओको गिरफ्तारीमा सीमित नरही नेपालको बैंकिङ क्षेत्रभित्र दशकौँदेखि मौलाउँदै आएको संगठित आर्थिक बेथितीको पर्दाफास गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार