काठमाडौँ । चलचित्र, म्युजिक भिडियो र श्रव्यदृश्य सामग्रीप्रतिको बाल्यकालदेखिको रुचिलाई व्यावसायिक कर्ममा रूपान्तरण गरेका सुरेश कुमार राउत अहिले भिडियो सम्पादन तथा पोस्ट–प्रोडक्सन क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेका सिर्जनाकर्मी हुन् । उदयपुरको साहिखोला गाउँबाट सुरु भएको सुरेश कुमार राउतको यात्रा अहिले बेलायतको लन्डनसम्म आइपुगेको छ । ३१ मार्च १९९३ मा उदयपुरमा जन्मिएका राउतलाई सानैदेखि चलचित्र, टेलिभिजन कार्यक्रम, म्युजिक भिडियो तथा सांस्कृतिक प्रस्तुतिले आकर्षित गर्थे । पर्दामा देखिने दृश्य कसरी तयार हुन्छन्, कथा कसरी दृश्यमा रूपान्तरण हुन्छ र संगीत तथा अभिनयलाई एउटै प्रस्तुतिमा कसरी जोडिन्छ भन्ने जिज्ञासाले उनलाई चलचित्र निर्माणको क्षेत्रमा डो¥यायो ।
विद्यालय तहको अध्ययनपछि उनले काठमाडौंस्थित ओस्कार इन्टरनेसनल कलेजबाट चलचित्र सम्पादन विषयमा स्नातक गरे । आमसञ्चार तथा पत्रकारिताको अध्ययनले उनको सिर्जनात्मक यात्रालाई थप फराकिलो बनायो । सञ्चार, कथा–वाचन, अनुसन्धान र दर्शकको रुचिलाई बुझ्ने क्षमताले उनको सम्पादन कलामा पनि प्रभाव पा¥यो ।
राउतको व्यावसायिक यात्रा छायाङ्कन तथा श्रव्यदृश्य उत्पादनबाट सुरु भएको थियो । क्यामेराको पछाडि रहेर काम गर्ने क्रममा उनले पोस्ट–प्रोडक्सनतर्फ आफ्नो रुचि बढाउँदै लगे । त्यसपछि भिडियो सम्पादन नै उनको प्रमुख विशेषज्ञता बन्न पुग्यो । भिडियो सम्पादकसँगै दृश्य सम्पादक, छायाकार, निर्देशक र पोस्ट–प्रोडक्सन विशेषज्ञका रूपमा उनले आफ्नो परिचय स्थापित गरेका छन् ।
राउतले चार सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेको अनुभव छ । म्युजिक भिडियोबाहेक वृत्तचित्र, टेलिभिजन कार्यक्रम, सांस्कृतिक परियोजना, कलाकारका जीवनी, महोत्सव तथा विभिन्न श्रव्यदृश्य अभिलेखीकरणका काममा पनि उनको संलग्नता रहिआएको छ । सम्पादनसँगै रङ संयोजन, भिजुअल इफेक्ट्स, ग्राफिक्स तथा अन्तिम पोस्ट–प्रोडक्सनमा समेत उनले काम गर्दै आएका छन् ।
उनको व्यावसायिक यात्राको महत्वपूर्ण अध्याय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँग जोडिन्छ । त्यहाँ उनले वरिष्ठ सहायक तथा श्रव्यदृश्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै नेपाली संगीत, नाटक, नृत्य, लोकपरम्परा, सांस्कृतिक महोत्सव तथा कलाकारका जीवनीसँग सम्बन्धित सामग्री निर्माण, छायाङ्कन, सम्पादन र अभिलेखीकरणमा योगदान दिए । विशेषगरी नेपाली कला तथा संस्कृतिको दस्तावेजीकरणलाई राउत आफ्नो यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिन्छन् । परम्परागत संगीत, राष्ट्रिय सांस्कृतिक महोत्सव, नाट्य कार्यक्रम तथा प्रतिष्ठित कलाकारसँग सम्बन्धित सामग्रीलाई दृश्य अभिलेखका रूपमा सुरक्षित गर्ने कामले उनलाई सिर्जनात्मकतासँगै सांस्कृतिक जिम्मेवारीको अनुभूति गराएको छ ।
राउतले ‘जवानी’, ‘हो हो नि माया’, ‘तिमी संग दिल बस्यो’, ‘छोरी’, ‘बन्द नगर’ ‘आयो तिम्रै राजा’ सहित दर्जनौ चर्चित नेपाली म्युजिक भिडियोको सम्पादन गरिसकेका छन् । नेपालकी बिशिष्ट महिला गीतकार एवम् प्रज्ञा उन्नती बोहरा ‘शीला’ सहित धेरै वटा बृत्तचित्रको सफल सम्पादन पनि सुरेश राउतले गरिसकेका छन् ।
हाल लण्डनमा रहेका राउत बेलायती तथा अन्तर्राष्ट्रिय सिर्जनात्मक क्षेत्रमा आफ्नो अनुभव विस्तार गर्ने योजनामा छन् । एडोबी प्रिमियर प्रो, भिजुअल इफेक्ट्स, रङ संयोजन, चलचित्र निर्माण तथा पोस्ट–प्रोडक्सनका सीपलाई अझ परिष्कृत गर्दै अन्तर्राष्ट्रिय कलाकार, निर्माण कम्पनी, प्रसारण संस्था तथा सांस्कृतिक संस्थासँग सहकार्य गर्ने उनको लक्ष्य छ ।