आइतबार, माघ ११ २०८२
नेकपा (नेपाली कम्युनिष्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले हिजो १० माघमा आफ्ना नेताहरु हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलबहादुर केसीलगायत सात जनालाई ‘पार्टीबाट निष्कासन गरिएको’ विज्ञप्ति सार्वजनिक गर्यो । उक्त विज्ञप्तिमा प्रचण्डको हस्ताक्षर छ । प्रचण्डले हस्ताक्षर गरेर निष्कासन गरेका नेता ती ‘स्पात’ हुन्, पूर्वमाओवादी, नेकपामा प्रचण्डको योगदान जति छ, उनीहरुको योगदान पनि प्रचण्डको भन्दा कम छैन, सायदै बढी छ ।
अवसरवादी र चैतेहरुको प्रभावमा परेर पार्टी र आन्दोलनलाई आफू समान वा त्यो भन्दा बढी योगदान गरेका सहकर्मीहरुलाई निष्कासन गर्ने विज्ञप्तिमा हस्ताक्षर गरिरहदा प्रचण्डका हात कामे कि कामेनन् होला ? पूर्वमाओवादी पक्तिभित्र कानेखुशी नै सही, यो प्रश्न भाइरल बनिरहेको पाइएको छ ।
हरिबोल गजुरेल प्रचण्डभन्दा पहिलेदेखि नै तत्कालीन नेकपा चौम ‘स्कुलिङ’ मा आवद्ध नेता हुन् भने महेश्वर दाहाल आमाको कोखदेखि नै कम्युनिष्ट सादगीपन र अनुशासनको रगत लिएर जन्मिएका हुन् । महेश्वर जनयुद्ध सुरु हुनु अघिदेखि नै सिद्धान्त र सादगीपनका लागि चर्चित सिन्धुलीका ईश्वरी दाहाल (असारे काका) का कान्छा छोरा हुन् ।
असारे काकाले ‘जनयुद्ध’ कालमा काठमाडौं उपत्यकाभित्रदेखि दूरदराजसम्म भूमिगत बसेर हजारौं ‘घाइते योद्धा’ हरुको उपचार गराएका थिए । असारे काका देशभित्रै भूमिगत रहेर चुनौती मोलेर घाइते योद्धाहरुको उपचार गराईरहदा तत्कालीन नेकपा माओवादीका महामन्त्री प्रचण्ड भारतका सुविधा सम्पन्न सहरहरुमा सुरक्षित र आरामदायी जीवन बिताउँदै थिए । असारे काकाले भूमिगत कालमा आफ्नो भागमा परेको अंशसमेत बेचेर पार्टीलाई सम्पत्ति बुझाएका थिए ।
उनै असारे पुत्र महेश्वर मुख्यतः पत्रकार पृष्ठभूमिका हुन् । उनी तत्कालीन माओवादीको मुखपत्र जनादेश साप्ताहिकका पूर्वसम्पादक समेत हुन् । माओवादी मुखपत्रका रुपमा जनादेश प्रकाशित गर्न उनले ठूलै चुनौती मोलेका थिए । २०६०/६१ तिर माओवादीभित्र प्रचण्ड/बाबुरामबिच दुई लाइन संर्घष हुँदा जनादेशले प्रचण्डको पक्षधरता लिएको थियो । जबकि कानूनीरुपमा जनादेश बाबुराम भट्टराईका नाममा थियो ।
जनादेशले प्रचण्डको पक्षधरता दिनुको खास कारण महेश्वर दाहालको भुमिका प्रमुख थियो । किनभने उनले प्रचण्डलाई समर्थन गरेका थिए । महेश्वरले जेलनेल सबै भोगेका छन् । माओवादीभित्रकै सादगी र सिद्धान्तनिष्ठ पक्तिमा महेश्वर उपल्लो श्रेणीमा पर्छन । महेश्वरकी आमाले सशस्त्र द्धन्द्धकालको उद्धराद्धमा माओवादीको आधार क्षेत्र रुकुम–रोल्पामा अचार उद्योग खोलेकी थिइन । अर्थात आत्मनिर्भरताका लागि ती वृद्ध आमाले रुकुम–रोल्पाका महिलाहरुलाई अचार बनाउने तालिम दिएकी थिइन । उनले तालिम दिएकाहरुले अहिले पनि अचार उत्पादन गरेर बिक्री–वितरण गरिरहेका छन् ।
महेश्वर सदाबहार विद्रोही चेतका नेता हुन् । जो कम्युनिष्ट हुनका लागि विगतमा त्यही चेत सिकाइन्थ्यो । उनी चाकरी, मोलाहिजा जान्दैनन् । आफूलाई लागे–देखेको कुरा प्रष्ट भनिदिन्छन् । शीर्ष नेता र उनीहरुका श्रीमती, छोरी, बुहारीहरुलाई मिठो–मसिनो कोसेलीपात ओर्सादैनन् । महेश्वर दलाल, बिचौलिया होइनन् । उनले पार्टीका नाममा पैसा उठाएर भ्रष्टाचार गरेका छैनन् । पार्टी कोषमा पैसा जम्मा गराएर त्यो दुरुपयोग गरी व्यक्तिगत वैभव जोडेका छैनन् । पेसा/व्यवसाय जनताको सेवा, राजनीति भन्दै एक डेड करोडको गाडी चढेर उनी प्रचण्ड र उनको कोटरीसँग टिकट माग्न गएनन् । फलतः महेश्वर टिकट पाउन अयोग्य भए ।
सिन्धुलीको क्षेत्र नं. २ मा नेकपाबाट टिकट सिफारिस हुनेमा महेश्वर दाहालको समेत नाम थियो । बावुआमा श्रीमतीसहित सिङ्गो परिवारनै माओवादी आन्दोलनमा भूमिगत भएका भए पनि प्रचण्ड र उनी निकटहरुको नग्न स्तुती नगाएकाले अन्तरिम व्यवस्थापिकादेखि संविधान सभाका दुई वटा निर्वाचन हुँदै त्यसपछि पनि महेश्वरलाई एक पटक पनि प्रतिनिधि सभा वा राष्ट्रिय सभामा जिम्मेवारी दिन उचित ठानेन माओवादी नेतृत्वले । ‘अतिले खती गर्छ’ भन्ने उखान लागु भयो यसपटक । नेकपा (माओवादी केन्द्र) का सचिव हरिबोल गजुरेल, पोलिटब्युरो सदस्य महेश्वर दाहाललगायत शीर्ष नेताहरुलाई पाखामा पछार्दै सिन्धुलीको राजनीतिमा ‘उदण्ड’ का रुपमा स्थापित राजन (लेखनाथ) दाहाललाई दोहोर्याएर टिकट दिए प्रचण्डले ।
प्रचण्डको स्वेच्छाचारविरुद्ध हरिबोल गजुरेल, महेश्वर दाहाल, बसन्त माझी, पानीराज बम्जनलगायत नेताहरुले विद्रोह गरे । र, गजुरेल प्रस्तावक, बम्जन समर्थक बसेर महेश्वरले ‘बागी’ उम्मेदवारी दर्ता गराए । प्रचण्डले टिकट थमाएका राजन सिन्धुलीमा लाभमाथि लाभ पाउने नेता हुन् । उनकी श्रीमती दीपा बोहोरालाई दोहोर्याएर सुनकोसी गाउँपालिकाको अध्यक्ष बनाइएको छ भने थुप्रै शीर्ष नेताहरु हुँदाहुँदै राजनलाई पनि दोहोर्याएर टिकट दिए प्रचण्डले ।
सिन्धुलीको पार्टी कार्यालय बनाउँदा भ्रष्टाचार गरेको आरोप लागेपछि राजनलाई हिसाबकिताब सार्वजनिक गर्न जिल्ला पार्टी कार्यालयले निर्देशन नै दिएको थियो। उक्त भ्रष्टाचारमाथि छानबिन गर्न सिन्धुलीका नेताहरुले प्रचण्डलाई पटक–पटक आग्रह गर्दा पनि उनले वेवास्ता गर्दै आइरहेका थिए । तर, छानबिन त कता हो कता ! फेरि उनकै हातमा टिकट थमाइयो ।
प्रचण्डको यो अतिलाई यसपटक गोरुले झै सधैँ चुपचाप स्वीकार गरेनन् गजुरेल, महेश्वर, माझी, बम्जनहरुले । बागी उम्मेदवारी फिर्ता लिन प्रचण्ड एण्ड समूहले गजुरेल, महेश्वर, माझीलाई फोनमार्फत आग्रह गरेका थिए । तर, उनीहरुले त्यसलाई स्वीकार गरेनन् । यसपछि अस्ति माघ आठ गते प्रचण्ड र माधवकुमार नेपालले मनोनयन फिर्ता गर्न ‘विशेष निर्देशन जारी’ गरेका थिए । त्यो विशेष निर्देशनलाई पनि महेश्वरहरुले घाममा सुकाई दिए ।
बरु हिजो माघ १० गते बिहानै महेश्वर दाहालले विज्ञप्ति जारी गर्दै‘हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति, अथवा कुर्सीमा जानका निम्ति चालिएको कदम विल्कुल होइन । यो त पद्धति विहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरुद्धको वगावत हो ।
हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौं कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ । तर सिंगो देशमा कम्युनिष्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिष्ट आन्दोलन गएको छ, त्यसलाई बिराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरु गरेको हो । यसका परिणामहरुबारे हामी अनविज्ञ छैनौं । हामीलाई कारबाही गरिनेछ । गद्दार भनिनेछ । पार्टीबाट मिल्काइने छ । तर, हामी यो मुद्दा कम्युनिष्ट आदर्श कम्युनिष्ट राजनीतिबाट बिचलित हुने छैनौ ।’ भन्दै विशेष निर्देशनलाई ललकारी दिए । नभन्दै हिजै माघ १० गते दिउँसो प्रचण्डले उनीहरुलाई पार्टीबाट निष्कासन गरेका विज्ञप्ति जारी गरे ।
खासमा गजुरेल, दाहालहरुले निकै लामो समयदेखि प्रचण्डलगायत उनी निकटहरुको ठूलै समूह कम्युनिष्ट आदर्श, नैतिकता, संस्कार, संस्कृतिबाट स्खलित हुँदै गएका भनेर हरेक भेला–बैठकहरुमा कुरा उठाउँदै आएका थिए । २०७९ को निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डले हरिबोल गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । तर, प्रचण्ड परिवारले भ्रष्टाचार संस्थागत गरेपछि त्यसको विरोध गर्दै गजुरेलले बीचमै राजीनामा दिएका थिए । जानकारहरुका अनुसार शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले भुईँतहका र सादगीपूर्ण जीवन बिताइरहेका नेता–कार्यकर्ताहरुको कुरा सुन्न छाडेका छन् । निष्ठापूर्ण जीवन बिताइरहेका नेता–कार्यकर्ताहरुको कुरा सुन्न छाडेकैले प्रचण्ड वर्ग, धर्म, सिद्धान्तबाट च्युत भएर चरम अवसरवादीमा रुपान्तरण भएका असन्तुष्टहरुको आरोप छ ।
असन्तुष्टहरुका अनुसार प्रचण्ड नैतिक निष्ठाको यात्राबाट च्युत भएकाले नै पुरेतका घरका दाने गाई जस्ता पात्रहरु जम्मा गरेर आफ्नो साख जोगाउने ध्याउन्नमा छन् । दान गरेर दिएकाले पुरेतको घरमा गाई त धेरै देखिन्छन् । तर, ती न हुलमा मिल्छन् न बगालमा । प्रचण्डको हालत अहिले त्यस्तै छ । पार्टीलाई चित्ताकर्षक बनाउने नाममा अवसरवादीहरुको भेडीगोठ बनाएका छन् प्रचण्डले नेकपालाई र उनको यो चरित्रको विरोध गर्नेहरुलाई बाहिरिन बाध्य पारिरहेका छन् । निष्कासन गरिरहेका छन् ।
तर विडम्बना, यसबेला प्रचण्ड यी र यस्ता सुझाव स्वीकार गर्न वा मान्न सक्ने ठाउँमै छैनन् । किनकी अब उनलाई सिद्धान्त, सत्यनिष्ठाको होइन, सान सौकतको जीवन जिउनु छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij