मान्छे एक क्षमता अनेकको परिचय बनाएका बिजन दुवाडी नेपाली सञ्चार जगतमा स्थापित नाम हो । दुवाडी त्यस्ता सञ्चारकर्मी हुन् जसको रेडियो कार्यक्रम पर्खिएर बस्ने हजारौं श्रोता अहिले पनि उनलाई खोजिरहेका हुन्छन् । चर्चित रेडियोकर्मी दुवाडी यतिमै सिमित छैनन् । सिर्जनासँगै व्यवसायमा पनि उनी उतिकै सफल छन् । एउटा दुईवटामा मात्र सिमिति नभइ उनले आफ्नो व्यवसायको क्षेत्र पनि पछिल्लो समय फराकिलो पार्दै गइरहेका छन् ।
निसन्देह उनी प्रथम त एक कुशल संचारकर्मी नै हुन् । सञ्चारकर्मी त हुन नै तर उनि रेडियो संचालक सन्चार उद्यमी र कुशल बिज्ञापन मेकर पनि हुन् । सम्भावना र अवसरलाई आफ्नो बसमा राख्न सक्ने दुवाडीको दिनको सुरुवात भने सिटिजन एफएमको सबैभन्दा लोकप्रिय कार्यक्रम अमृतम गमय: बाट हुन्छ । बिहान ८ देखि १० बजेसम्म सुनिने यस कार्यक्रममा उनले प्रेरणादायी प्रसंगदेखि समसामयिक विषयमा २ घण्टा आफ्ना श्रोतालाई सूचना र सन्देश दिने गरेका छन् । उनको त्यो कार्यक्रम सर्वाधिक रुचाइएकाले पनि दुवाडी भरसक त्यो कार्यक्रमको होस्ट नगरी दिनको सुरुवात नै गर्दैनन् । जमलस्थित उनको रेडियो स्टेशनको कार्यालयमा कार्यक्रमपछि उनी दिनभरको योजना र व्यवसायिक उडानको गन्तव्य तय गर्छन् । निश्चित कार्यसूची बनाएर काम गर्न रुचाउने दुवाडी त्यसपछि व्यवसायिक भेटवार्ता र मिटिङमा समय खर्चिन्छन् ।
पपुलर बन्ने चाहनामा रेडियोकर्म रोजेका बिजनले रेडियोमा बोल्न थालेयता पछाडी फर्किएर हेर्न परेको छैन । रेडियो सिटीमा एउटा कार्यक्रमबाट सञ्चारकर्ममा पाइला राखेका बिजन अहिले सफल सञ्चार उद्यमी बनी सकेका छन् ।
कार्यक्रमको शैली यस्तो भइदियो युवा पुस्ताले उनको कार्यक्रम औधी मनपराइदिए । कार्यक्रमको क्रेज यति बढ्यो कि उनको कार्यक्रममा प्रायोजक र बिज्ञापन दाताको ओइरो नै लाग्यो । उनकै कारणल ब्यापार बढेपछि रेडियो सञ्चालकले अन्य कार्यक्रम पनि थपिदिदै गए । कार्यकमका लागि आउने फोनले पनि उनको लोकप्रियतालाई यसरी माथि उठाइदियो कि श्रोताले पठाएका चिठी पत्रको कार्यालयमा खात नै लाग्न थाल्यो । उनको लोकप्रियता र क्षमता यसरी फराकिलो बन्दै गयो उनको कार्यक्रममा चर्चित कलाकार र दिग्गज व्यक्तित्व समेत अन्र्तवार्ता दिन लालायित हुने गर्थे । त्यसैले त उनले निर शाहदेखि सरोज खनाल, करिष्मा मानन्धरलगायतका दर्जनौं चर्चित कलाकारसँग प्रत्यक्ष संवाद गर्ने मौका पाए । बिजन कुशल सञ्चारकर्मी त हुन् नै धेरैलाई थाह नहुन सक्छ उनी चुने गनेकामध्येका एक राम्रा टीभीसी विज्ञापन निर्माण गर्ने निर्देशक समेत हुन् ।
स्टूडियो भित्र मात्र हैन बिजनको प्रस्तुति फराकिला स्टेजसम्म फैलिएको छ । चर्चित अवार्ड कार्यक्रम, रियालिटी शो, महोत्सव, कन्सर्टजस्ता सांगितिक कार्यक्रमलाई समेत उनले उत्तिकै सफलताकासाथ सञ्चालन गरेका छन् ।

यो अनवरत यात्रामा उनले सम्मान तथा अवार्डहरू पनि उतिकै पाएका छन् । घरका भित्ता र दराजमा राखिएका तिनै अवार्डले उनलाई अहिले पनि उही जोश र हौसलामा काम गर्न प्रेरित गरिरहेको उनी सुनाउछन् । कार्यक्रमको सिलसिलामा देश तथा विदेश घुमेका बिजन
मेहनत र सरल व्यवहारकै कारण अहिलेको स्थान बनाउन सफल भएको ठान्छन् । देशका अधिकांस जिल्ला पुगेका बिजनले अमेरिका बेलायत, कतार सिंगापुरलगायतका देशमा रहेका नेपालीलाई समेत कार्यक्रम मार्फत आफ्नो क्षमता देखाएका छन् । मलेसिया, थाइल्यान्डसहितका एक दर्जन बढी देशमा उनले कार्यक्रम गरिसकेका छन् । रेडियोकर्मीमा मात्र सिमित नभई बिजनले तराई टिभी मार्फत काँचको पर्दाका लागि समेत कार्यक्रम उत्पादन गरेका छन् ।
तराई टिभी पछि लोकप्रिय टिभी हिमशिखरमा जोडिएका बिजनले सम्पूर्ण टिभीको ब्यबस्थापन नै सम्हाल्ने अवसर पाए । व्यवस्थापनसँगै बिजनले बिन्दास क्याबिनेट कार्यक्रमको सुरुवात गर्न थाले । चर्चित कलाकार बिपना बस्नेतसँग मिलेर सुरु गरेको त्यो कार्यक्रमले पनि उस्तै तहल्का नै मच्चायो । मिडियासँग नजिक र क्यमेरा फ्रेन्ड्ली भएका बिजन टेलिभिजन कार्यक्रमको निर्र्माणसँगै विज्ञापनको क्षेत्रमा पनि आफ्नो पहिचान बनाउँदै गए । उनको क्षमतालाई ठूलाठूला कम्पनीले समेत विश्वास गरे । धेरैवटा नाम चलेका कम्पनीको ब्राण्डिङका लागि उनले बनाएका बिज्ञापन अहिले पनि मान्छेको दिमागमा ताजै छ । उनले बैंक, सिमेन्ट जुत्ता, इन्डिका स्याम्फु बिभिन्न मन्त्रालयलगायत दर्जनौ संस्थाका लागि ब्राण्डिङको काम गरेका छन् ।