आजकल बजारमा बिक्रीका लागि राखिएको हरियो तरकारी तथा सागसब्जीमा अत्यधिक विषादी प्रयोग हुनेगरेको पाइएको छ । अनावश्यक रुपमा जथाभावी प्रयोग गरिएको विषादीले मानव स्वास्थ्यमा गम्भिर समस्या समेत पर्ने देखिन्छ । कृषि बालीमा प्रयोग गर्न दिइएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ । कृषकले खेतबारीमा बिभिन्न प्रकारका विषादी प्रयोग गरेलगत्तै त्यसलाई बजारमा पठाउने र सरकारले विषादीको मात्रा चेकजाँच नगरी बजारमा खुलमखुल्ला बिक्रीका लागि अनुमति दिइरहेको पाइन्छ ।
सरकारले १६९ प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ । परीक्षण भने थोरैको मात्रै हुने गरेको छ । अहिले किसानले प्रयोग गर्दै आएका १६९ विभिन्न विषादीमध्ये १५० प्रकारका विषादी परीक्षण भएको छैन । विषादीको परीक्षण विस्तार नहुँदा उपभोक्ताको भान्सामा विषादी भएका तरकारी तथा फलफूल र खाद्य पुग्ने गरेका छन् । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार दुई समूहका विषादी परीक्षण गर्दा नेपालमा हाल प्रयोग हुँदै आएका विषादीमा २०/२१ प्रकारलाई समेट्ने गरेको दाबी छ । पछिल्लो समयमा किसानले सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक समूहभित्र पर्ने विभिन्न प्रकारका विषादी धेरै प्रयोग गरिरहेका छन् । फलफूल तथा तरकारीमा प्रयोग हुने यो समूहका विषादी सरकारले हालसम्म परीक्षण गर्ने गरेको छैन ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कार्बामेट र अर्गानोफस्फेट समूहभित्र २०÷२१ प्रकारका विषादी परीक्षण हुँदै आएको छ । किसानले तरकारी तथा विभिन्न बालीमा प्रयोग गर्ने १५० प्रकारका विषादीको परीक्षण हालसम्म गर्न सकिएको छैन । गत वर्षदेखि नयाँ सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक र डिथियोकार्बामेट फङ्गिसाइड्स विषादी पनि परीक्षण गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन ।
कृषकले बजारमा आफूखुसी किटनाशक विषादी प्रयोग गर्दै आएका छन् । देशका बिभिन्न स्थानीय तहमा कृषि प्राविधिक तथा विज्ञहरु नियुक्त भएतापनि स्थानीय तहहरुले आफ्नो अधिकार प्रयोग नगर्दा आमउपभोक्ताको स्वास्थ्यमा समस्या उत्पन्न हुने गरेको छ । अहिले तरकारी तथा फलफूलमा र खाद्यवस्तुमा प्रयोग भइरहेका विषादीमध्ये अधिकांश स्वास्थ्यका लागि हानिकारक छन् । कृषि उपजमा प्रयोग हुने विषादीको पर्खिने अवधि तीन दिनदेखि कतिपय विषादी प्रयोग भएको १२५ दिनसम्मका हुने गर्दछ । तर कृषकले तरकारीमा विषादी छरेको एक–दुई दिनमै टिपेर बजारमा पठाउने गरेका छन् । किसानमा चेतनाको अभावका कारण जुनसुकै विषादी प्रयोग गरे पनि चार÷पाँच दिनमै बजारमा पु¥याउने प्रचलनले उपभोक्ताको भान्सा असुरक्षित बन्दै गएको छ ।
तसर्थ बजारमा आउने दैनिक उपभोग्य वस्तुमा प्रयोग हुने विषादी परीक्षण गरी उपभोक्तालाई स्वच्छ वस्तु उपलब्ध गराउने विषयमा सरकार जिम्मेवार बन्नुपर्छ । यसो नहुँदा उपभोक्ताको स्वास्थ्य नै जोखिममा परिरहेको छ । त्यसोतः हरियो तरकारी तथा फलफूलमा मात्र नभएर माछा मासु र खाद्यवस्तुमासमेत कीटनाशक औषधीजन्य विषादीको प्रयोग पर्याप्त मात्रामा हुने गरेको बिभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । काठमाडौंको कालिमाटीमा रहेको फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीका नमुनाको विषादी परीक्षण २०७१ असार ४ देखि सुरु गरेको थियो । हाल यस्तो प्रयोगशाला सातै प्रदेशका १२ स्थानमा सञ्चालनमा रहेको जनाइएको छ ।
अतः संघीय, प्रदेश र स्थानीय सरकारले अव यस्ता विषादी परीक्षण स्थलहरु देशका अन्य सहर बजारमा पनि स्थापना गर्नुपर्छ । स्वास्थ्यनै प्रमुख धन भएकाले सरकारले आमनागरिकको स्वास्थ्यप्रति निकै गम्भीर भइ कडा कलम चाल्नुको बिकल्प देखिँदैन । कानुले निषेध गरेका विषादी पनि बजारमा लुकाइछिपाई बिक्री भइरहेको बारेमा बिभिन्न सञ्चारमाध्यममा समाचाहरु प्रकान,प्रसारण भएका छन् । सरकारले तत्तत् स्थानमा छापा मारेर त्यस्ता घातक विषादी नस्ट गर्दै जनताको स्वास्थ्यप्रति कदम चाल्नु पर्छ । जनस्वास्थ्यमा कृषक र व्यापारीले गरेको मनोमानी रोक्ने सरकार निर्मम बन्नैपर्छ ।