मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दैलेखमा तिजको नाच हेर्न गएकी बालिकालाई ढुङ्गाले हानेर घाइते बनाई सामूहिक बलात्कार, दुई जना पक्राउ

आइतबार, साउन २५ २०८२

दैलेख । दैलेखमा बालिकालाई कुटपिटसँगै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तीज हेर्न गएकी बालिकालाई ढुङ्गाले हानेर घाइते बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी लालबहादुर सुनारले साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले ढुङ्गाले हानेर घाइते पारेर सामूहिक बलात्कार गरेको उजुरी परेपछि दुई युवकलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घटना भएकै दिन प्रहरीलाई खबर आए पनि परिवारले नै किटानी जाहेरी दिएपछि पक्राउ गरिएको र पक्राउ परेका दुबै युवाले प्रारम्भिक अनुसन्धानमै घटनामा संलग्न रहेको स्वीकार गरेका छन् ।’

निरीक्षक सुनारका अनुसार राति तीजको नाच हेरेर घर फर्किँदै गर्दा गोविन्द र खगेन्द्रले पिछा गरेर बालिकालाई लखेटेरै बलात्कार गरेछन् । उहाँले भन्नुभयो, ‘उनीहरुसँगै गएका अन्य साथीहरूले भागेर ज्यान जोगाएर घरपरिवारलाई घटनाबारे भन्न सफल भएको र पछि घरपरिवार खोज्दै जाँदा बेहोस अवस्थामा बालिका भेटिएकी थिइन् ।’

युवकले प्रहार गरेको ढुङ्गाले हातमा चोट लागेपछि बालिका भाग्न असफल भएपछि पालैपाले बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित बालिकाका आफन्तले शुक्रवार प्रहरीलाई जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ ।

बालिकाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे सबै अनुसन्धान सकिएपछि मात्र पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार