काठमाडौं । जापानको कन्साई क्षेत्रमा आयोजना हुन लागेको ‘NEFIN Cultural Festival Kansai 2026´ सुरु हुन अब ३ दिन मात्र बाँकी छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको प्रस्तुतिमा महोत्सव सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार, २०२६ मा दुई दिन आयोजना हुँदैछ ।
महोत्सव ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित हान्शिन अमागासाकी स्टेशन नजिकैको सेन्ट्रल पार्क, कान्दा नाकादोरी १-४ (7660-0884) मा हुनेछ। कार्यक्रम दुवै दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनहुनेछ भने प्रवेश निःशुल्क रहने आयोजकले
जनाएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आमन्त्रित चर्चित कलाकार रामजी खाँड, देवी घर्ती, टीका सानु र सम्झना लामिछानेसहितका स्थानिय तथा जापानिज कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ ।
महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, संगीत, परम्परागत भेषभूषा, नेपाली खाना, हस्तकला, सांस्कृतिक स्टल तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् । नेपालका हिमाल, पहाड र तराई-मधेशका विभिन्न समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई एउटै स्थानमा हेर्न र अनुभव गर्न सकिने गरी कार्यक्रमको तयारी गरिएको छ। आयोजकका अनुसार महोत्सव नेपाली समुदायमा मात्रै सीमित नभई जापानी तथा अन्य देशका नागरिकलाई समेत नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानसँग परिचित गराउने अवसर बन्ने अपेक्षा गरिएको छ।

महोत्सवको टाइटल स्पोन्सर Ria / KYODAI Remittance रहेको छ भने कार्यक्रम लाई आमागासाकि सिटि लगायत अन्य सरकारि तथा ब्यबसायिक सेवामुलक संघ संस्थाहरूको सपोर्ट रहेको छ। सेवा इन्टरनेशनल स्कुल इभेन्ट पार्टनरका रूपमा
रहेको दुई दिने मेला लाई साकुरा एसियन एच.डी. र सफल मोशन पिक्चर्सले डिजिटल सहकार्य गरेका छन्। जापान तथा कान्साईका विभिन्न संघसंस्था पनि सह-आयोजक तथा सहयोगीका रूपमा महोत्सवमा जोडिएका छन्।
आयोजकले जापानमा रहेका नेपाली समुदाय, जापानी नागरिक तथा नेपाली कला र संस्कृतिमा रुचि राख्ने सबैलाई परिवार तथा साथीभाइसँग महोत्सवमा सहभागी भएर नेपालको मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनमा साथ दिन आग्रह गरेको छ।
कार्यक्रम बाट मुनाफा भएको रकम रसुवा भोटेकोशि बाढि पिडितहरुको सहयोगार्थ नेपाल सरकारको ” Prime Minister Disaster Relief Fund” मा सहयोग गरिने आयोजकले जनाएको छ।