सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक उद्घाटन, स्थापनाको ३२ वर्षमा आफ्नै भवनको सपना पूरा

सोमबार, चैत्र २५ २०८१

काठमार्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनीक भवनको आज औपचारिक रुपमा उद्घाटन भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त भवनको समुद्घाटन गरेका हुन । संघका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा संघले हालसालै काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलको घर व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरेको थियो ।

समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नुका साथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा आभार प्रकट गरेका थिए । साथै उनले संघको आसन्न निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गरोस भन्दै शुभकामना व्यक्त गरेका थिए । आफूले अहिलेको कार्यसमितिसँग लामो समय सहकार्य गर्न पाएको बताउँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको समेत बताए ।

त्यस्तै संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए । भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुले उत्साहपूर्ण सहयोग गरेको बताउँदै उनले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।
भवन खरिद गर्दैगर्दा कतिपय व्यवसायीहरुले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीहरुलाई पनि संघमा एेक्यवद्ध हुन आग्रह गरेका छन् ।

त्यस्तै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरा गर्न सफल भएको बताए । वर्तमान नेतृत्वको अथक प्रयास पूर्वअध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीहरुको सााथ र सहयोगका कारण आज संघको आफ्नै भवन हुन सफल भएको उनले बताए । उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीहरुलाई थप सहयोग गर्न समेत आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले संघका अध्यक्ष भण्डारीको नेतृत्वले ऐतिहासिक काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा संघ नेतृत्वले अझै धेरै राम्रा काम गर्दै जाओस भन्दै सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगले संघले इतिहासमै पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएको बताउँदै संघका महासचिव मेघनाथ भूर्तेलले सम्पुर्ण सहयोगी व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार