बुधबार, असोज २९ २०७६
काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । मंगलबारदेखि शुरु भएको सम्मेलनमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । यो महाधिबेशनले संघको नयाँ कार्यसमिति पनि चयन गर्ने भएकाले महाधिबेशनभन्दा पनि आ एनआरएनहरुलाई महिनौदिन अगाडिदेखि चुनावी रौनकताले छोएको छ । अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष कुल आचार्यले आफु अध्यक्षको हकदार भएको बताउँदै औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पन्तले काठमाडौमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरे भने आचार्यले आफ्नो कर्मभूमी बेलायतबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
पन्तले आफ्ना ५ मन्त्र भन्दै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगार, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र ब्यापक सहभागिता आफ्नो प्रतिवद्धतामा राखेका छन् । ५ मन्त्रका साथ २० बूँदे प्रतिवद्धतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका पन्तले अघिल्लो कार्यकालमा नै अध्यक्षको दावी गरेपनि सहमतिमा उपाध्यक्षमै दोहोरिएकाले यसपटक आफु सर्वसम्मत अध्यक्षको उम्मेदवार भएको बताएका छन् । पन्तले उम्मेदवारीको औपचारिक घोषणासभामा संघले थालेका विभिन्न परियोजनाहरुलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभरबाट पर्यटक नेपाल भित्र्याउने, सम्मानपूर्वक वैदेशिक रोजगारीको अवस्था बनाउने, एनआरएन नागरिकता र मताधिकारको अधिकारको विषय टुंग्याउने, लगानीमा योगदान पु¥याउनेलगायतका एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन ।
एनआरएनए अभियानमा लामोसमयदेखि आवद्ध पन्त अघिल्लो कार्यकाल महासचिव थिए भने संघको विभिन्न समितिको संयोजकको भूमिका कुशलतापूर्वक निभाइसकेका छन । गोर्खाको फुजेलका स्थायी बासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेका छन् ।
यता बेलायतमा एक कार्यक्रमको आयोजना गर्दै अर्का आचार्यले १० बूँदे प्रतिवद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पश्चात आफु उम्मेदवारी दिने निश्कर्षमा पुगेको आचार्यको भनाई छ । आचार्यको प्रतिवद्धता अनुसार संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढ्ने, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने लगायत समेटिएको छ ।
यस्तै आचार्यले एनआरएन नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने, भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्वोधनमा पहलकदमी भूमिका खेल्ने, विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने, नेपाल सरकारसँग दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने, ‘भिजन २०२० एण्ड वियोण्ड’ अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने, आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु¥याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने, पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, लगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।
अध्यक्षका प्रत्यासी पन्त र आचार्यलाई आआफ्नै पक्षको समर्थन रहेको देखिन्छ । यसको अर्थ अन्तिम समयसम्म सहमतिको प्रयास रहे पनि अध्यक्ष पदका लागि निर्वाचननै हुने पक्का पक्की छ । भट्टकै नेतृत्वमा रहेका पन्त र आचार्यको कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भबन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम भएकाले दुवैले आ–आफ्नो उपाध्यक्षको कार्यकाल सफल भएको दाबी गरिरहेका छन् । अबको नेतृत्व कस्को हातमा जाने निर्णय भने एनआरएनएका पुर्ब अध्यक्षहरु र संस्थापकहरुको हातमै रहेको देखिन्छ । उनीहरुले दुई अध्यक्षका उम्मेदवार मध्ये कसलाई समर्थन र सहयोग गर्छन त्यही उम्मेदवारको पल्ला भारी हुने देखिन्छ ।
४ पदको उपाध्यक्ष पदमा उम्मेदवारीको ओइरो
एनआरएनएको चुनाव नजिकिदै गर्दा आइसीसी उपाध्यक्षमा सबैभन्दा धेरै उम्मेदवारी आइरहेको छ । यसपटक उपाध्यक्षको पद संख्या ४ पु¥याएसँगै धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब डा. बद्री केसी, कोषाध्यक्ष हिक्मत थापा , सस्थापक कोषाध्यक्ष प्रकाश पुन, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरणविक्रम थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामा, एनआरएनए बेलायतका पुर्ब उपाध्यक्ष थर्क प्रेम सेन, एनआरएनए अमेरिकाकी पुर्ब उपाध्यक्ष रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन ।
त्यसैगरी एनआरएन अभियानमा निरन्तर लागिरहेका कतारबाट पूर्वमध्यपूर्व संयोजक नरेन्द्र भाट, पूर्व प्रवत्ता अष्ट्रेलियाबाट मन केसी, पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । अझै उपाध्यक्ष पदमा उम्मेदवारी आउने सम्भावना रहेकोले ४ जना छान्न राम्रै भिडन्त हुने पक्का भएको छ । आफ्नो उम्मेदवारी घोषणा गर्दै सबै उपाध्यक्षका उम्मेदवारले आफुले गर्ने कामको प्रतिवद्धता समेत जनाएका छन् । अघिल्ला निर्वाचनमा झिनो मतले हारेका सोनाम लामा र नरेन्द्र भाटदेखि उपाध्यक्ष पदमा नै रहेकी सपिला राजभण्डारीले उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने जनाइसकेका छन् । वर्तमान कार्यसमितिका महासचिवदेखि कोषाध्यक्ष, क्षेत्रीय संयोजकले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकाले सबैभन्दा रोचक उपाध्यक्ष चयन हुने देखिन्छ ।
महासचिवमा जानकी र शर्मा
एनआरएनमा अध्यक्षपछि धेरै महत्वपूर्ण पद महासचिव हो । महासचिव पदका लागि उम्मेदावरी घोषणा गरेका बर्तमान सचिब डिबी क्षेत्री र एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेल पछि हटेपछि बर्तमान सचिब जानकी गुरुङ, र एनआरएनएका पूर्व प्रवक्ता हेमराज शर्माको भीडन्त हुने भएको छ । एनआरएनमा बौद्धिक व्यक्तिकारुपमा हेमराज शर्मा चिनिन्छन् । उनले आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिइसकेका छन् भने जानकी गुरुङले विभिन्न देशको भ्रमण गरेर महासचिव बन्ने माहोल तयार भएको बताइरहेकी छिन् । संस्थालाई मुर्तरुप दिने महासचिव पदका लागि देखिएको आकांक्षाले कसलाई जिताउने हो एनआरएनहरुले मूल्यांकलन गरिरहेका छन् ।
दुई सचिव पदमा ३ क्षेत्रीय संयोजक भिड्दै
एनआरएनको आगामी कार्यकालका लागि सबै पदमा उम्मेदवारी दिनेको संख्या धेरै छ । सचिबमा एनआरएनए ३ जना क्षेत्रीय संयोजकले उम्मेदवारी दिएका छन् । मध्यपूर्व संयोजक आरके शर्मा, युरोप संयोजक शिव बरुवाल र एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् । सचिव पदका लागि नै आइसीसी पूर्व सदस्य दिपकप्रसाद ओली र बेलायतबाट बिनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । दुई पदका लागि हुने निर्वाचनमा सबैले आआफ्नो दावी गरिरहेका छन् । रोचक पक्ष त एनआरएनका क्षेत्रीय संयोजक शर्मा, बरुवाल र जोशीको सचिव पदका लागि नै आकाक्षाले कस्को पोल्टामा उक्त पद पर्ने हो चुनावसम्म कुर्नु नै पर्ने हुन्छ ।
आरके शर्माले ६ बूँदे प्रतिवद्धता जाहेर गर्दै श्रमिकको मुद्धालाई पहिलो प्राथमिकतामा राख्नका लागि आफ्नो उम्मेदवारी भएको जनाएका छन् । उनीसँग मध्यपूर्व, अमेरिका, एसियाप्यासिफिकका एनआरएनको राम्रो सम्बन्ध छ । अर्कोतर्फ सालिन स्वभावका गौरीराज जोशीको एनआरएनभित्र सुमधुर सम्बन्धका कारण उनलाई पनि धेरैले मन पराउँछन् । तर, निर्वाचनमा कस्ले बाजी मार्ने हो हेर्न बाँकी छ ।
कोषाध्यक्षका तीन जनाको प्रतिष्पर्धा
एनआरएनको कार्यसमितिमा कोषाध्यक्ष पद अर्को महत्वपूर्ण छ । कोषाध्यक्षमा एनआरएनए आइसिसी सदस्य महेश श्रेष्ठ र बर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले उम्मेदवारी घोषणा गरिसकेका छन । कोषाध्यक्षमा नै वर्तमान युवा संयोजक सुदन थापाले उम्मेदवारी दिने उद्घोष गरेका छन् । एनआरएनको कोषाध्यक्ष बन्दा संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नितान्त आर्थिक व्यवस्थापनका लागि लामोसमयसम्म फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्ने अठोटसहित कोषाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेको श्रेष्ठको दावी छ । ‘गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव प्रयोग ग
र्दै संस्थालाई थप उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउदै लैजान कार्ययोजना पुरा गर्ने क्षमतासहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ अर्का उम्मेदवार थापाको भनाई छ । जापानबाट नै दुई जनाको उम्मेदवारीलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
सहकोषाध्यक्षमा भाले भिडन्त
एनआरएनको सहकोषाध्यक्षमा अर्को भाले भिडन्त हुँदैछ । सहकोषाध्यक्षमा एनआरएनए अमेरिका क्षेत्रका पूर्व सहसंयोजक एसी शेर्पा, एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोकप्रसाद दाहाल र रसियाबाट गोबिन्दप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मुल्यांकन गरि आगामी कार्यकालमा अझ संस्थामार्फत सेवा पु¥याउनका लागि पूर्व अमेरिकाज क्षेत्रीय उपसंयोजक शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् । संघमा सहकोषाध्यक्षमा रहेर ‘आर्थिक अनुशासन, पारदर्शिता र श्रोत विकासको लागि’ आफ्नो उमेद्वारी रहेको शेर्पाको प्रमुख एजेण्डा रहेको छ । त्यसैगरी सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै देशविदेश भ्रमण गरिरहेका बेल्जियमका दाहालले एनआरएनमा अझ धेरै भारी बोक्नका लागि जान लागेको बताएका छन् ।
युवा संयोजकमा युवाकै भिडन्त
एनआरएनए आइसीसी युवा संयोजजकमा लड्नका लागि युवाहरु नै मैदानमा छन् । यूएईबाट आइसीसी सदस्य सुदिप कुमार बहादुर, अष्ट्रेलियाबाट स्तन्त्रप्रताप शाह र नेदरल्याण्ड एनसीसीका पूर्व अध्यक्ष हिमाल गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । सुदिप सबैभन्दा कम उमेरमै एनआरएनए यूएईको अध्यक्ष भएर काम गरिसकेका छन् । अत्यन्तै राम्रो कार्य सम्पादन गर्न सफल कार्की विश्वमा भएका एनआरएन युवाहरुको नेतृत्व गर्न सक्षम छन् । आफुहरु जुन कारणले विदेशिनु परेपनि अब विदेशिने क्रम रोकिनुपर्ने र विदेशिएका नेपालीहरुले सिकेको शिप र क्षमतालाई विस्तारै नेपालमै व्यवसाय गर्न प्रेरित गर्नुपर्ने लक्ष्य उनले बनाएका छन् । विश्व भर विभिन्न कुनामा छरिएर रहेका युवाहरुलाई समेट्नु र उनीहरुले भोगेका समस्यालाई हल गर्नु आफ्नो उदेश्य रहेको बताउँदै युवा संयोजकमा काम गर्ने अवसर आफुलाई प्राप्त हुनेमा विस्वस्त रहेको उनले बताए ।
अर्का उम्मेदवार शाहका देश विदेशमा रहेका युवा उद्यमीबीच सहकार्य र समन्वय गरेर नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाउने, विदेशमा पुगे खेलाडीलाई समेटेर नेपालमै एनआरएन स्पोर्टस एकेडेमीको स्थापना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाउने र युवा स्वरोजगारमुलक तालिम र कार्यक्रम सञ्चालन गर्ने शाहका चुनावी एजेण्डा छन् ।
महिला संयोजकमा अर्को भिडन्त
एनआरएन महिला संयोजकमा अहिलेसम्म ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । दक्षिण कोरियाबाट जुनु गुरुङ, अष्ट्रेलियाबाट भोमा लिम्बू, बेलायतबाट संगिता मरठ्ठा र क्यानडाबाट प्रमिला बस्नेतले उम्मेदवारी घोषणा गरिसकेका छन् । विश्वभर रहेका एनआरएन महिलाहरुको नेतृत्वका लागि चारै जनाले आआफ्नो दावी गरिरहेका छन् । लिम्बूले अघिल्लो कार्यसमितिमा पनि सोही पदमा उम्मेदवारी दिएकी थिइन् । उनले संस्थाप्रति आफ्नो मेहनेत र अनुभवलाई थप लगाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएकी छिन् । त्यसैगरी गुरुङले कोरिया तथा मलेसियामा रहेका महिलाका समस्या नजिकबाट बुझेकाले उनीहरुका समस्या समाधान साथै महिला शसक्तिकरणका लागि उम्मेदवारी भएको बताएकी छिन् । आफु संचारकर्मीसमेत भएकी मरठ्ठाले महिलाको नेतृत्व लिन सक्षम भएको बताउँदै आएकी छिन् ।
मध्यपूर्व संयोजकमा गुरुङ र गोर्खाली, उपंयोजकमा अर्याल
मध्यपूर्व एनआरएनहरुको संख्या धेरै भएको क्षेत्र हो । मध्यपूर्वमा धेरै नेपालीहरु वैदेशिक रोजगारमा रहेका छन् । एनआरएनए मध्यपूर्व संयोजकमा वर्तमान उपसंयोजक कतारका प्रविन गुरुङ र आइसीसी सदस्य मनोज गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ र गोर्खाली नजिकका साथी भएकाले सहमतिमा एक जना मात्र उठाउनका लागि पहल भने भइरहेको छ । यद्यपी दुवै जनाले दावी गरिरहेका छन् । मध्यपूर्वमा रहेका श्रमिकका समस्या समाधानका लागि उनीहरुले प्रमुख एजेण्डा बनाएका छन् ।
त्यसैगरी मध्यपूर्व उपसंयोजकमा साउदी अरवबाट राजेन्द्र (जोन) अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । उपसंयोजकमा आइसीसी सदस्य जोनले मात्र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि श्रमिकका मुद्धालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने औल्याएका छन् ।
एसियाप्यासिफिकमा संयोजक र उपसंयोजकमा चर्को भिडन्त
एनआरएनको एसिया प्यासिफिक संयोजक र उपसंयोजकमा उम्मेदवारी घोषणा गर्नेको संख्या धेरैछ । संयोजक एक पद र उपसंयोजक दुई पदमा उम्मेदवारी दिनेहरुबीच होडबाजी चलेको छ । एसिया प्यासिफिक संयोजकमा रोविन्द श्रेष्ठ (गोविन्द), एनआरएन जापानको पूर्व अध्यक्ष ओम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गोविन्द श्रेष्ठले सन् २०१७–१९ कार्यकालका लागि सोही पदमा झिनोमतले बिजयी हुन नसकेपनि निरन्तर एनआरएन अभियानमा लागिरहेका छन् । नेपालमा लगानी ल्याउने, श्रमिकको हीतमा काम गर्ने, पर्यटन बर्ष सफल पार्ने तथा एनआरएन अभियानलाई थप उचाईमा पु¥याउने श्रेष्ठको भनाई छ ।
यता गुुरुङ पनि आफ्नो अनुभव र योग्यताले एनआरएन अभियानमा इटा थप्न एसियाप्यासिफिक संयोजकको उम्मेदवारी भएको बताएका छन् । त्यसैगरी एसिया प्यासिफिक दुई पदका लागि उपसंयोजकमा एनआरएन मलेसियाका पूर्व अध्यक्ष खगेन्द्र न्यौपाने, वर्तमान उपसंयोजक विनोद कुँवरले सोही पदमा निरन्तरता, जापानबाट कपिलदेव थापा र जापानबाट नै पारसमणी पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यूरोप संयोजकमा भट्टराई
जर्मनीका सन्तोष भट्टराईले एनआरएन यूरोप संयोजकमा उम्मेदवारी दिएका छन् । एनआरएन अभियानमा शुरुदेखि नै लागेका भट्टराईले आगामी कार्यकालमा यूरोप संयोजक भएर काम गर्ने निर्णय गरेका छन् । भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गर्दै नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटन प्रवद्र्धन, यूरोप क्षेत्रीय कोषको स्थापना, सीप र साधनको परिचालन, भाषा र संस्कृतिको विकासलगायतका प्रतिवद्धता जनाएका छन् । एनआरएन आठौं विश्व सम्मेलनमा आइसीसी सचिव पदमा उम्मेदवारी दिएका भट्टराईले एक पटक आफ्नो क्षेत्रमा बसेर काम गर्ने चाह राखेका छन् । उनको यो चाहलाई यूरोपमा रहेका नेपालीहरुले साथ दिने भएका छन् ।
उम्मेदवारलाई आचारसंहिता लागू
एनआरएनएको आगामी अधिबेशनमा कुनै राजनीतिक पार्टी अन्य संस्थाको सदस्यले उम्मेद्वारी दिन नपाउने नियम बनेको छ । उक्त नियमभित्र नबस्ने पदाधिकारिलाई पदबाट हटाउने संघका महासचिव बद्री केसीले जानकारी दिएका छन् । महासचिव केसिले बिज्ञप्ति जारी गर्दै सन् २०१९–२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भई रहेको छ। यस सम्बन्धमा अन्तर्रास्ट्रिय समन्वय परिषद्को ध्यानाकर्षण भएको जनाएका छन ।
राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा ५.१२ राजनैतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न नपाइने केसीद्धारा जारी विज्ञप्तिमा छ । विज्ञप्तिमा राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा ५.१२ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषदका सबै उम्मेदवारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्वारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने, कुनै उम्मृेदवार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाणसहित लिखित उजुरी परेमा निर्वाचन समितिले छानविन गरि मनोनयन रद्द गर्न सक्नेछ’, विज्ञप्तिमा छ ।

जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij