काठमाडौँ । गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन र अन्तर्राष्ट्रिय अधिवेशन आज बिहान ठिक ९ बजे होटल हायात काठमाडौँमा शुरु हुँदैछ । बिहान ठिक ९.२५ मा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको स्वागत मन्तव्यसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ति बालेर शुरु हुने उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा उपेन्द्र महतो, एनआरएनए पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट र राष्ट्रपतिद्वारा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
ठिक ११.३० मा शुरु हुने ‘नेपालको आर्थिक रुपान्तरणमा स्रोतहरुको परिचालन’ विषयक पहिलो छलफल शुरु हुने छ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा अध्यक्षता हुने सो कार्यक्रममा एनआरएनए इन्भेष्टमेन्ट फण्डसँगै विद्युत नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले ‘नेपालको विद्युत क्षेत्रमा लगानीको अवसर’ विषयक प्रस्तुती दिनेछन् । सो कार्यक्रममा सचिव मानकुमारी खतिवडा, लगानी वोर्डका कार्यकारी निर्देशक मोहनप्रसाद अधिकारी, सतिशकुमार मोर, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, जीव लामिछाने, कुमार पन्त, रञ्जित महतो र दिला खरेलले बोलेसँगै एनआरएनए इन्भेष्टमेन्ट बोर्ड र एनआरएन महिला प्रबृद्धित हाइड्रोपावर विषयमा हस्ताक्षर हुने कार्यक्रम छ ।
ठिक १०.३० को दिवा खानासँगै ‘गैरआवासीयका कानुनी अधिकारी र उत्तरदायित्व’ विषयक कार्यक्रमको सभापतित्व संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्नेछन् भने नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल, सचिवहरु शंकरदास बैरागी, राजीव गौतम, संसदको राज्य व्यवस्था समितिको सभापति शसि श्रेष्ठ, सांसदहरु लक्षमणलाल कर्ण, राधेश्याम अधिकारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, गेसोका अध्यक्ष कृष्णकुमार राई, रामप्रताप थापा र कुल आचार्यहरुले धारणा राख्ने छन् ।
यसैगरी सोही दिन साँझ ४.३० बजे अन्तर्राष्ट्रिय महाधिवेशन शुरु हुनेछ । भवन भट्टको अध्यक्षता र डा उपेन्द्र महतोको प्रमुख उपस्थितिमा परिषद्का संरक्षकहरु मंचमा राखी डा बद्री केसीले कार्यक्रम संचालन गर्नेछन् भने महासचिव र कोषाध्यक्षका प्रतिवेदन पेश गरी पास गर्ने कार्यक्रम रहेको छ ।