काठमाडौं(जस)–स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरखशमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । राणा २०२२ को जनवरी १ मा यस बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । उनले सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा रिटेल एन्ड प्राइभेट बैंकिङ विभागबाट काम शुरू गरेका थिए ।
लाभांश प्रस्ताव पारित
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आज काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित लाभांश पारित गरेको छ । जसमा ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश रहेको छ ।
यस्तै, बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ । सभाबाट आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित हुनुका साथै गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र वासलात पारित र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।