काठमाडौं(जस)–नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा, गौरी शंकर बालगृह हस्तान्तरण गरेको छ । पूर्ण रूपमा मर्मत गरिएको भवन २०८१ कात्तिक २५ गते हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अनुपा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गरेकी छिन् । मेयर ईश्वर नारायण मानन्धरले अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्ने काम वर्ल्डलिंकले गरेकोभन्दै धन्यवाद व्यक्त दिएका थिए ।
२०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण गरेर हस्तान्तरण गरिएको वर्ल्डलिंकले जनाएको छ । साथै १७ जना बालकहरूका लागि डस्ना–कम्बल, र स्टेशनरी पनि प्रदान गरिएको थियो ।