काठमाडौं(जस)–सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । सेवा नै अवरुद्ध हुनेगरी निगमका दुवै वाइडबडी विमान सी–चेकका लागि पठाइएको विषयमा संस्कृति पर्यटन तथा तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सात दिने स्पष्टीकरण सोधेका हुन् ।
नियमितरूपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरबाहीको पुनरावृत्ति भइरहेको तथा व्यावसायिक कार्य सम्पादनस्तर कमजोरी किन भएको हो भन्दै सात दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न भनिएको छ । अध्यक्षको लापरबाही, असक्षमता र कमी, कमजोरीको कारण निगमको साखसमेत गुम्दै गएको मन्त्रीले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
स्पष्टीकरणपत्रमा अध्यक्ष अधिकारीलाई ११ प्रश्न सोधिएका छन् । सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चित हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको कारण, जहाजको सी–चेकको लागि छनोट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो भन्ने प्रश्न सोधिएको छ ।
यस्तै सी–चेक कार्यका लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी – चेकका लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बिचमै फिर्ता बोलाई पुनः अर्को टोली किन पठाएको भन्दै अर्को प्रश्न सोधिएको छ ।