काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। सोमबार नै भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य क्रमशः २ रुपैयाँ ९६ पैसा र ३ रुपैयाँ ४६ रुपैयाँ बढेर आएको थियो । बढेको मूल्य मंगलबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमका अनुसार पहिलो पर्गको पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको१७७ रुपैयाँ र तेस्रो वर्गको १७८ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल तथा मट्टितेलको पहिलो वर्गको १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गको १६१ रुपैयाँ कायम भएको छ ।
निगमले पहिलो वर्गको मूल्यूिचीमा चारआली, विराटनगर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई राखेको छ भने दोस्रो वर्गको सूचीमा सुर्खेत र दाङ तथा तेस्रो वर्गको सूचीमा काठमाडौँ, पोखरा र दीपालयलाई राखेको छ ।
