काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउपछि निजी क्षेत्र तरंगित बनेको छ । नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । परिसंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए । उनले उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत भएको उल्लेख गरे । उनले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताए । उनले सरकार चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताए ।
अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई पक्राउ गर्नु गलत भएको बताए । अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाएपनि धरपकड गर्न नहुने बताए । अध्यक्ष अग्रवालले दोषी साबित नभएसम्म व्यवसायीलाई थुनामा राख्न नहुने धारणा राखे । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए ।
उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भएपनि सरकारले त्यो अवसर समेत नदिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको बताए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आकस्मिकरुपमा पदाधिकारी बैठक डाकेका हुन् ।
व्यवसायीमाथिको धरपकड एवं पक्राउबारे महासंघ गम्भीर
मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसै शिलसिला अन्तर्गत बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा विज्ञप्ति जारी गदै महासघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको पनि जनाएको छ ।
पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको भन्दै महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।