आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए पोर्तुगलकाे अध्यक्षमा गैरे र महासचिवमा सुवेदी विजयी

मंगलबार, भाद्र १० २०७६

योगेन्द्रमिलन छन्त्याल, २६ अगष्ट, लिस्बन । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको सातौ अधिवेशनको निर्वाचनबाट अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् । कुल १४७२ मत खसेकोमा गैरेले ८५१ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी ईश्वर रिजालले ५५१ मत प्राप्त गरेका छन् ।

दुई स्थानका लागि निर्वाचन भएको अन्तर राष्ट्रिय समन्वय परिषद सदस्यमा रवीन अधिकारी र नारायणकाजी मगर विजयी भएका छन् छन् । अधिकारीले ७८८ र मगरले ६४३ मत प्राप्त गरेका छन् । धनराज शेर्पाले ४६३ र गोविन्द सापकोटाले ५६८ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा भने हेमराज सुवेदीले प्रकाश कडरियालाई पराजित गरेका छन् । सुवेदीले ६६८ र कडरियाले ५४९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा आनन्द गुरुङलाई ३८६ मतान्तरले पछाडि परेका छन् । थापाले ८१७ र गुरुङले ४३१ मत पाएका छन् । उपाध्यक्षमा अशोक गुरुङले ७६० र मच्छिन्द्र अर्यालले ५९७ मत ल्याएर पेम्छिरी शेर्पा र स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयलाई पराजित गरेका छन् । शेर्पाले ५४५ र पाण्डेयले ३७३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा विक्रमजङ कुँवरले ६१९ मत ल्याएर विजयी बनेका छन् । उम्मेदवार हरी थापाले ५८२ मत पाएका छन् । युवा संयोजकमा दिनेश भण्डारीले ७६२ र मिलन रेग्मीले ४६५ मत प्राप्त गरेका छन् । यसरी निर्वाचनमा प्रतिष्पर्धा गरेका ९ जनामध्ये समूहका उम्मेदवार सुवेदी मात्र महासचिव पदमा विजयी बनेका छन् ।

महिला उपाध्यक्षमा सीता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल चयन भएका छन् । सह-कोषाध्यक्षमा तिलक कँडेल पनि निर्विरोध भएका छन् । महिला संयोजकमा सुशीला थापा निर्विरोध निर्वाचित भएकी छिन् ।

१५ सदस्यहरु सुमन शर्मा चम्लागाइँ, राजन प्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सवीन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा निर्विरोध चयन भएका छन् ।

सोमबार राती सम्पन्न घोषणा सभामा पूर्व मन्त्री वीरबहादुर बलायर, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष कुबेर कार्की र अध्यक्षमा पराजित उम्मेदवार ईश्वर रिजालले शुभकामना दिएका थिए । नवनिर्वाचित कार्यसमितिलाई उपाध्यक्ष आचार्यले सपथ ग्रहण गराएका छन् । घोषणा सभाको अध्यक्षता अशोक घिमिरे र सञ्चालन राजकुमार थापाले गरेका थिए ।

निर्वाचित अध्यक्ष तिलक गैरेले संसारकै नमूना एनआरएनए बनाउने प्रतिवद्धता जनाउदा कार्यक्रम हलमा उपस्थित सहभागीहरुले हाँसेर अचम्म प्रकट गरेका थिए । किनकि निर्वाचित टोलीमा पार्टीबाट विवादित व्यक्तिहरु पनि सिफारिस भएका छन् । तिनीहरुको चाला कस्तो होला भन्ने पीडितहरुले आवाज उठाइरहेका छन् भने सामाजिक सञ्जालमै खुल्ला रुपमा एनआरएनए पोर्तुगल कसरी अगाडि बढ्छ भन्ने प्रश्न पनि उठाइरहेका छन् ।

एनआरएनए विधानमै राजनीतिक गुट र प्यानल बनाएर चुनाव लड्न नपाउने प्रावधान छँदाछदै पोर्तुगलमा घोषित रुपमै दुई प्यानलमा चुनाव लडेका छन् । निर्वाचन पर्यवेक्षण गर्न आएका भनिएका युरोप संयोजक शिवकुमार बरुवाललाई यसबारे बन्द सत्रमा जानकारी गराइएको थियो । केन्द्रीय उपाध्यक्ष कुमार पन्तले राजनीतिक सवालमा एनआरएनकर्मीहरुले ‘नकच्चरो’ व्यवहार देखाउदा यसको आवश्यकता र महत्वममाथि वित्रिष्णा बढेको उल्लेख गरेका थिए । पर्यवेक्षणमा आएका बरुवाल आफैले राजनीतिलाई प्रश्रय दिएको पूरक प्रश्नको जवाफनै नदिएर उनी बेल्जियम फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार