काठमाडाैं । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु संकटमा नपर्ने बताएका छन्।
ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।
उनले नेपालमा संकटग्रस्त देखिएका सहकारी संस्थाहरुबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि संचालन गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।
सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था संकटमा नपर्ने प्रमुख अतिथि शाक्यको धारणा थियो । ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्था मार्फत् डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे।
कार्यक्रममा होम बचतका सञ्चालक सदस्य सञ्जयलाल अमात्यलाई प्रमुख अतिथि शाक्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए। त्यस्तै, उपाध्यक्ष दिनेश मास्केलाई पनि सम्मान गरिनुका साथै कर्मचारी लुमन्ती महर्जनलाई कदर–पत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा आशा लिम्बुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
साधारण सभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।